Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघ र आन्तरिक राजस्व विभागबीच करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता

महासंघ र आन्तरिक राजस्व विभागबीच करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता


काठमाडौं, फागुन २८
साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघबीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोदबहादुर कुँवरले हस्ताक्षर गरेका छन् ।

तालीमको माध्यमबाट करसम्बन्धी शिक्षा प्रदान गरी कर कानुनले निर्दिष्ट गरेका व्यवस्थाहरू परिपालना गर्न, कर फारामहरू भर्दा हुने त्रुटिहरू कम गर्न तथा कर सहभागितामा व्यवसायीहरूको अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । अधिकांश साना व्यवसायीहरू आफू एक जनाले नै सबै काम हेर्ने जस्तैः व्यवसाय गर्ने, लेखा राख्ने, कर तिर्ने, विवरण बुझाउनेजस्ता सबै काम एक्लै गर्ने हुँदा उनीहरूलाई आर्थिक ऐनले गरेका छुट, सुविधा तथा व्यवस्थाको बारेमा जानकारी गराउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

सन् २०१५ देखि जीआईजेडको राजस्व प्रशासन सहयोगको प्राविधिक सहयोगमा निरन्तररूपमा विभिन्न जिल्लामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कसम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ । सोही कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न ३९ जिल्लामा ४६ वटा तालिम कार्यक्रम सञ्चालन भएका र पछिल्लो चरण (२०७६ भदौदेखि फागुनसम्म)मा मात्र सातै प्रदेश समेटिने गरी २० जिल्लामा २१ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको छ । २१ वटा तालिममध्ये दुईवटा तालिम महिला उद्यमीहरूलाई मात्र लक्षित गरेर सञ्चालन गरिएको थियो ।

जिल्ला छनोट गर्दा उद्योग वाणिज्य संघहरूको मागको आधारमा महासंघ र विभागले संयुक्तरूपमा त्यहाँस्थित करदाताको संख्या, करदाता सेवा कार्यालयको सेवा प्रवाह तथा प्रादेशिक सन्तुलनका आधारमा छानेको थियो । करिब एक हजार पाँच सयभन्दा बढी करदाता व्यवसायीहरू प्रत्यक्षरूपमा तालिममा सहभागी भएर यसको फाइदा लिएको महासंघले जनाएको छ । कार्यक्रममा विशेषगरी बिल बिजक जारी गर्ने, खाता पाता कसरी चुस्त दुरुस्त राख्ने, कर गणना कसरी गर्ने, कर विवरणहरू कसरी भर्ने, अनलाइन विवरण बुझाउने तरिकाजस्ता विषयमा केन्द्रित रही कर अनुपालनाका सम्बन्धमा जोड दिइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x