Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाओवादीका शर्मा अर्थमन्त्री हुँदा १४ खर्ब ३७ अर्बले घट्यो बजार पुँजीकरण

माओवादीका शर्मा अर्थमन्त्री हुँदा १४ खर्ब ३७ अर्बले घट्यो बजार पुँजीकरण


काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको सरकारका अर्थमन्त्री थिए, माओवादी नेता जनार्दन शर्मा । उनको पालामा नेपालमा सेयरबजारमा लगानी गर्नेहरु नराम्रोसँग डुबे । शर्मा अर्थमन्त्री हुनुअगाडि केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री थिए, विष्णु पौडेल । उनको पालामा सेयरबजार करिब ३२ सय अंकसम्म पुगेको थियो । नेपालको सेयरबजारमा उच्च अंक र उच्च कारोबारको रेकर्ड नै पौडेल अर्थमन्त्री भएको बेला भएको थियो । अहिले पुनः अर्थमन्त्री भएपछि बजारमा केही सकारात्मक परिवर्तन देखिएको छ ।

तर, शर्मा अर्थमन्त्री भएको बेला लगानीकर्ताले नराम्रोसँग गुमाए भने सेयरबजार परिसूचक निरन्तर ओरालो लाग्दा यसको असर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरणमा पनि प-यो । एक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण १४ खर्ब ३७ अर्ब २१ करोड रुपैयाँले घट्न पुग्यो ।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्राप्त तथ्यांकलाई आधार मानेर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०७९ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंंकका अनुसार २०७८ कात्तिक मसान्तमा बजार पुँजीकरण ३९ खर्ब १६ अर्ब ४५ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७९ कात्तिकमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ४५ पुगेको छ । २०७८ कात्तिक मसान्तमा २७ सय ८४ दशमलव छ रहेको नेप्से सूचकांक २०७९ कात्तिक मसान्तमा १९ सय ११ दशमलव तीन कायम भएकोे छ ।

सूचीकृत कम्पनीहरुमध्ये एक सय ४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँचवटा होटल, चारवटा व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७८ कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय २२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ दशमलव एक प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १० दशमलव तीन प्रतिशत, लगानी कम्पनीको छ दशमलव चार तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव चार प्रतिशत, होटेलको हिस्सा एक दशमलव सात प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव सात प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ कात्तिक मसान्तमा सूचीकृत छ अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य छ खर्ब ७३ अर्ब ३९ करोड रहेको छ । आर्थिक वर्ष २०७९÷०८० को चार महिनामा ३५ अर्बबराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोडबराबरको डिबेन्चर, नौ अर्ब २९ करोडबराबरको बोनस सेयर, सात अर्ब ५८ करोडबराबरको साधारण सेयर, चार अर्ब ४९ करोडबराबरको म्युचुअल फण्ड र दुई अर्ब ३७ करोडबराबरको हकप्रद सेयर गरी कुल ८७ अर्ब १७ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले छ अर्ब २४ करोडबराबरको डिबेन्चर, तीन अर्ब १५ करोडबराबरको म्युचुअल फण्ड, एक अर्ब २८ करोड रुपैयाँबराबरको साधारण सेयर, ९५ करोडबराबरको हकप्रद सेयर गरी कुल ११ अर्ब ६३ करोडबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति माग भएको राष्ट्र बैंकले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x