Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगैँडा संरक्षणको उपाय

गैँडा संरक्षणको उपाय


काठमाडौं । नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले जम्मा शून्य दशमलव १ प्रतिशत भू–भाग मात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३ दशमलव २ प्रतिशत वनस्पति १ दशमलव १ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरन्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्व बढ्दै गइरहेको छ । तसर्थ हामी र हाम्रा सन्ततिले जैविक विविधताहरूको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि तिनको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो ।

पृथ्वीमा रहेका वन्यजन्तु तथा वनस्पतिहरू विभिन्न कारणले गर्दा लोप भइरहेका छन् । वासस्थानको क्षति, अन्तर्रास्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी सिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरू लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सास्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरूको बढ्दो महत्व, निश्चित क्षेत्रमा भएका ती वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षण गर्ने उपयुक्त संरक्षणकर्ता सम्बन्धित राज्य र जनता नै भएको र अन्तर्राष्ट्रिय माग पूरा गर्नका लागि हुनसक्ने अधिक संकलन र व्यापारलाई नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण गर्नुपर्ने आपरिहार्य छ । यस लेखमा एकसिंगे गैँडाको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

एकसिंगे गैँडा नेपालकै पहिचान हो । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको ठूलो आवास क्षेत्र हो । सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा सात सय ७२ गैँडा रेकर्ड भएको पाइन्छ । तीमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । सो संख्या अघिल्लो गणना सन् २०१५ को तुलना ८९ भन्दा बढी हो । सन् २०१५ मा छ सय पाँच र सन् २०११ मा ५०३ गैँडा गणना भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा प्राकृतिक कारणले गत आर्थिक वर्षमा ३६ गैँडा मरेको समाचार प्रकाशमा आएको थियो । अघिल्लो आर्थिक वर्ष यो अवधिमा ३३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । निकुञ्जका अनुसार एक–आपसमा जुधेर, बाढीले बगाएर, दलदलमा भासिएर, बाघको आक्रमणबाट, चोरीसिकारी, आदि कारणले गैँडा मरेको पाइन्छ । जुन कारणले भए पनि एक वर्षको अवधिमा ३६ गैँडा मारिनु÷मर्नु भनेको ठूलो चुनौतीको अवस्था हो । यसले गैँडा सुरक्षामा नै प्रश्नचिह्न खडा भएको छ ।

यसै सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत श्रृंखलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा २०७९ मंसिर १८ गते गैँडाको अस्थिपञ्जर भेटेको त्यस्तै मंसिर २८ मा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेन्जपोस्टअन्तर्गत नारायणी नदीको किनार र त्यस्तै मङ्सिर २९ गते लामीचौर पोस्टअन्तर्गत गुद्रहिढको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गरी तीन गैँडा मृत अवस्थामा भेटिएको समाचार प्रकाशित भएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्ने सक्रियता बढेको संरक्षितकर्मीले चिन्ता व्यक्त गरेको पाइन्छ । त्यस्तै गत असोज २७ गते निकुञ्जबाहिर सौराहा नजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जको बाहिरी क्षेत्रमा यही मंसिर महिनाको १५ दिनभित्रमा तीनवटा गैँडा मरेको भेटिएको समाचारले जनाएको छ । १५ दिनभित्रमै तीन गैँडा मृत अवस्थामा भेटिनु गैँडा संरक्षणमा चुनौती देखिएको छ । गैँडा मर्न र मारिनबाट जोगाउन सरकारले उचित पहल लिन अपरिहार्य छ । मुलुकको पहिचानदेखि पर्यटनसम्म जोडिएको वन्यजन्तुसित सम्बन्धित सम्पूर्ण पाटाहरूलाई सरकारले गम्भीरतापूर्वक लिनु आजको आवश्यकता हो ।

गैँडालाई पर्याप्त मात्रामा घाँसे मैदान र पानीका घोल र तालतलैया आवश्यक पर्छ । एक अध्ययनले चितवन निकुञ्जमा घाँसे चौरको मात्रा घटेको देखाएको छ । घाँसे मैदान र पानीका घोलहरू माइकेनिया म्याकारान्थाजस्ता मिचाहा प्रजातिले ढाकिरहेका छन । मनसुनी बाढीका कारण पनि विगतमा गैँडा रमाउने घाँसे मैदानहरू बगरमा परिणत भइरहेका छन् । निकुञ्ज भएर बग्ने नदी र सिमसारहरू बाढी–पहिरोपछि बगेको भेल–गेग्रानले पुरिँदै गएका छन । सेपिलो र दलदल हुनुपर्ने बासस्थान सुक्खा हुँदै गएको छ । अध्ययनअनुसार निकुञ्जमा वर्षेनी दुई प्रतिशतका दरले गैँडाको आहार– घाँसे मैदान, पानीका घोल र तालतलैया विनाश भइरहेका छन् ।

चितवन निकुञ्जमा सन् १९७० को दशकमा कुल क्षेत्रफलको २० प्रतिशत रहेको घाँसे मैदान केही समय पहिलेको अध्ययन ले ९ दशमलव ६१ प्रतिशत (कोर एरियामा) र मध्यवर्ती क्षेत्रमा २ दशमलव ०६ प्रतिशतमा खुम्चिएको देखाएको छ । संरक्षण क्षेत्रवरपर बढ््दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगको कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको पाइन्छ । संरक्षित क्षेत्रभित्र बसोबास गर्ने तथा संरक्षित क्षेत्रको वरिपरि बसोबास गर्ने सामुदायहरूको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । गैँडालगायतका वन्यजन्तुबाट मानिसको मृत्यु र घाइते बनाउनेजस्ता मानवीय क्षति र वन्यजन्तुबाट बालीनाली, घर, गोठ क्षति हुने गरेको छ । मानव वन्यजन्तु द्वन्द्व एउटा ट्डकारो समस्याको रूपमा देखा परेको छ ।

विगतमा आश्रयस्थल बनाएको स्थान उपयोग्य नभएपछि धेरै गैँडा अहिले पश्चिम क्षेत्रतिर सरेको पाइन्छ । सौराहाभन्दा पूर्वी क्षेत्रमा गैँडाको संख्या पातलो भएको छ । यसरी गैँडा एकै स्थानतिर बसाइ सर्दाको असर सबैतिर पर्न जान्छ । गैँडा बसाइ सरेको कारणले अरबौँ लगानी भएको पर्यटन क्षेत्र धर्मराउने सम्भावना हुन्छ यसो भयो भने देशको आर्थिक अवस्था झन् खस्किन्छ । विगतदेखि नै गैँडाको मूल बासस्थानमा अहिले देखा परेको समस्या सुल्झाउनेतिर अब ढिलाइ गर्नु हुँदैन । सुकेका पानीका घोल ब्युँताउने, नयाँ पोखरी बनाउने, बिग्रँदो घाँसे मैदानको व्यवस्थापन र रोगव्याधिबारे अनुसन्धान गर्ने कार्यलाई सम्बन्धित निकायहरूले प्राथमिकतामा राखी आर्थिक विकास गर्नु अति आवश्यक छ । जलवायु परिवर्तनका कारण मिचाहा प्रजातिका वनस्पति अझै बढ्ने र आहारमा थप सङ्कट उत्पन्न हुने सम्भावना छ । जलवायुजन्य विपत् बढ्दै जाँदा उत्पन्न हुने बाढीका कारण गैँडालगायतका प्रजातिको संख्यामै फेरबदल ल्याउन सक्ने देखिएकाले चुरे र मध्यपहाडको विकास निर्माणलाई वातावरणमैत्री बनाउन पनि अति आवश्यक छ ।

निकुञ्जभित्रको नदी तटीय क्षेत्र केही मात्रामा सुरक्षित भए पनि मध्यवर्ती क्षेत्र र माथिल्लो तटीय क्षेत्रमा जोखिम छ । मध्यवर्ती क्षेत्र पनि गैँडाको आश्रयस्थल हो । राम्रो बासस्थान र आहारको खोजीमा निकुञ्जभित्रका गैँडा माथि भनेजस्तै मानवबस्तीमा आउँदा कतिपय अवस्थामा प्रतिशोधका कारण पनि मारिएका छन् । त्यस्तो द्वन्द्व बढ्न सक्ने भएकाले सरकारले स्थानीय बासिन्दाको मनोबल जित्न र संरक्षणमा उनीहरूको साथ लिन जीविकोपार्जनका कार्यक्रमहरूमा पनि जोड दिनु आवश्यक छ ।

समय किटान गरेरै गर्ने भनिएका काम बेलैमा पूरा नगर्ने हो भने पटक–पटक बनाइएका ठूला वन्यजन्तु व्यवस्थापनसम्बन्धी कार्ययोजना अर्थहीन साबित हुनेछन् । त्यसको परिणाम पनि उत्साहजनक आउने छैन । त्यसैले एकोहोरो हिसाबले गैँडाको संख्या बढाउनु मात्रलाई उपलब्धि नठानी त्यससँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका स्थानीय बासिन्दा, पर्यटन क्षेत्र, मानव–गैँडा द्वन्द्व न्यूनीकरणलगायतका विषयलाई पनि उच्च प्राथमिकतामा राखी प्रभावकारी योजना बनाउन अति आवश्यक हुन्छ । त्यसो हुन सक्यो भने मात्रै वन्यवन्तु–मानव सहअस्तित्व दीर्घजीवी बन्न सक्छ । लेखकः डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x