Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाल भ्रमण दशकको सान्दर्भिकता

नेपाल भ्रमण दशकको सान्दर्भिकता


काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक आगमनको संख्या न्यून मात्रै भयो । यसले नेपालको पर्यटक विकासको गतिलाई सुस्त बनायो । अघिल्लो सरकारले अन्तिम समयमा सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने योजनाअनुरूप नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक गरेको थियो । कार्ययोजनाले नेपालको पर्यटन क्षेत्रको समग्र पक्षलाई समेट्न खोजेकाले नयाँ सरकारले पनि त्यसअनुसार कार्यक्रमहरू सञ्चालन गरेको अवस्थामा छिटै सुधार आउन सक्छ ।

कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले सरकारले पर्यटन दशकको अवधारणा ल्याएको छ । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२)को रणनीतिक कार्ययोजना तयार गरेको छ । यस अवधारणामा विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु-याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । दशक कार्ययोजनाअन्तर्गत देशैभरि बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु-याउने लक्ष्य लिइएको छ । कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु-याउने र तत्पश्चात् पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

यसका साथै प्रतिपर्यटक प्रतिनिधिन खर्च ४८ अमेरिकी डलरबाट एक सय २५ पु-याउनुका साथै देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पु-याउने लक्ष्य छ । मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल भ्रमण दशकमार्फत् धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउने लक्ष्यसहित योजना ल्याइएको थियो । पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत नेपाल भ्रमण दशक कार्यक्रमको कार्यविधि बनाउने तयारी भइरहेको छ । नेपाल भ्रमण दशक मनाउने गरी सरकारले सैद्धान्तिक स्वीकृति दिएअनुसार मन्त्रालयले कार्यविधि बनाउने गृहकार्यमा लागेको छ ।

हाल कार्यान्वयनमा रहेको १५औँ पञ्चवर्षीय योजना अवधिमा सरकारले नेपालमा विदेशी पर्यटक आगमन वार्षिक ३५ लाख पु-याउने र प्रतिपर्यटक औसत खर्च ४८ बाट बढाएर एक सय डलर बनाउने योजना उल्लेख छ । साथै कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलव सात प्रतिशतबाट बढाएर १० प्रतिशत बनाउने लक्ष्य छ । यी लक्ष्यहरू कोरोना महामारीलगायतका कारणले पूरा हुन नसके पनि पर्यटकको औसत बसाइ १५ दिन बनाउने लक्ष्य भने पूरा भइसकेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्रमा विस्तारै सुधार देखिन थालेको छ । कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक आगमनको संख्या न्यून मात्रै भयो । पछिल्लो एक वर्ष विश्वव्यापीरूपमै पर्यटकको चहलपहल बढेको र नेपालमा पनि त्यसको प्रभाव परेको छ । एक वर्षमा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड–१९ महामारी सुरु हुनुभन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिए । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा एक सय ६६ दशमलव ९२ प्रतिशत धेरै हो । विदेशी मुद्रा आर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेको छ । बोर्डका अनुसार सन् २०२२ मा सबैभन्दा बढी दुई लाख नौ हजार एक सय पाँच जना भारतीय पर्यटक नेपाल आएका छन् । दोस्रोमा अमेरिकी पर्यटक ७७ हजार नौ जना नेपाल आएका छन् भने तेस्रोमा बेलायतबाट ४४ हजार सात सय ८१ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२२ मा पर्यटक आगमन सन् २०१९ को तुलनामा ७५ प्रतिशतले रिकभर गर्ने लक्ष्य लिइएको भए पनि त्यो लक्ष्य पूरा हुन सकेन । बोर्डले लिएको लक्ष्यअनुसार ७५ प्रतिशतको ‘रिकभर’ हुनका लागि नेपालमा सन् २०२२ मा नौ लाख पर्यटक आउनुपर्ने थियो । सन् २०२० मा आएका पर्यटकको संख्या हेर्दा पर्यटन क्षेत्र पुनरुत्थानको बाटोमा रहेको देखिन्छ । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुन सकेन् । सन् २०१९ को तुलनामा २०२० मा विदेशी पर्यटक आगमनको संख्या ८० प्रतिशतले घटेर दुई लाख ३० हजार ८२ मा सीमित भयो । कोरोना महामारीको असरका कारण सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको संख्या ३४ दशमलव ८७ प्रतिशतले घट्यो भने सन् २०१९ को तुलनामा ८७ प्र्रतिशतले घटेको थियो ।

विदेशी पर्यटक आगमन, नेपालमा औसत बसाई अवधि र प्रतिदिन औसत खर्च पनि बढेको छ । नेपाल भित्रिने विदेशी पर्यटकको औसत बसाइ १५ दिन रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक छ । पछिल्लो पाँच वर्षमा पर्यटकको बसाइ औसत दिन क्रमशः बढिरहेको छ । ‘टुरिज्म इस्टास्टिक्स–२०२१’ अनुसार सन् २०२१ मा विदेशी पर्यटकको औसत बसाइ १५ दशमलव ५ दिन थियो भने सन् २०२० मा १५ दशमलव १ सरदर बसाइ थियो । त्यस्तै सन् २०१९ मा १२ दशमलव ७ दिन, सन् २०१८ मा १२ दशमलव ४ दिन र सन् २०१७ मा १२ दशमलव ६ सरदर बसाइ थियो ।

पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी पनि बढिरहेको छ । खासगरी होटललगायतका पर्यटकीय पूर्वाधारमा पनि उल्लेख्य मात्रामा लगानी बढिरहेको छ । आजका दिनमा नेपालमा वार्षिक २५ लाखभन्दा बढी पर्यटकलाई सेवा दिनसक्ने होटल पूर्वाधार बनिसकेका छन् । होटलमा स्वदेशी र विदेशी लगानी बढिरहेको छ भने हाल सञ्चालनमा रहेका होटलमा ५० हजारभन्दा बढी शय्या छन् ।

सन् २०२२ मा पर्यटकको संख्या बढेको छ तर लक्ष्य हासिलका लागि हालको पर्यटन प्रवद्र्धन रणनीतिमा सुधार गर्दै प्रभावकारी प्रचारप्रसारमा ध्यान दिनुपर्छ । विशेषगरी छिमेकी मुलुकहरू भारत र चीनमा मात्रै प्रभावकारी प्रचारप्रसार गर्न सक्ने हो भने नेपालमा लक्ष्यअनुसार विदेशी पर्यटक ल्याउन सकिने सम्भावना रहेको छ । नेपालमा आउने कुल पर्यटकमा भारत र चीनका पर्यटकको हिस्सा र क्रमशः पहिलो र दोस्रो स्थानमा छ । तथ्यांकअनुसार भारतबाट प्रत्येक वर्ष करिब ८० लाख पर्यटक र चीनबाट प्रत्येक वर्ष १५ करोडभन्दा बढी पर्यटकहरू विश्वका विभिन्न देशमा घुम्न निस्कने गरेका छन् । यसमध्ये दुई प्रतिशत पर्यटक मात्रै नेपाल ल्याउन सक्ने हो भने ३० लाखभन्दा बढी पर्यटक प्रत्येक वर्ष नेपाल आउने सक्छन् ।

विदेशी पर्यटक बढाउन एयर कनेक्टिभिटीलाई विस्तार गर्नुपर्ने हुन्छ । यसका लागि स्वदेशी र विदेशी जहाजको उडान संख्या बढाउनुपर्ने हुन्छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई सबल बनाउँदै हवाइ भाडादर पनि सस्तो बनाउनुर्छ । नेपालभित्रनका लागि हवाइ मार्गबाट एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल थियो । तर यतिबेला भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग वार्षिक ९२ लाख यात्रुलाई सेवा दिने क्षमता रहेकामा दुई नयाँ विमानस्थल सञ्चालनमा आएसँगै यात्रु क्षमता थप २० लाखले बढेको छ । भैरहवास्थित विमानस्थलको वार्षिक ३५ लाख यात्रुलाई सेवा दिने क्षमता छ भने पोखरास्थित विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x