यतिबेला संसार नै कोरोना भाइरस आतङ्कमा छ । कतै बढी कतै कम होला तर यसको प्रवेश नभएको भू–भाग विरलै होला । त्यस्तो बेला हरेक देशले आफ्नो देशभित्र र देशबाहिर रहेका आफ्ना नागरिकहरूको अवस्थाको विशेष जानकारी राख्नु राज्य सञ्चालकहरूको कर्तव्य हुन आउँछ । अरु देशका समाचार आएअनुसार उनीहरूले नागरिकको यस्तो अवस्थालाई गम्भीरतापूर्वक लिएका पाइन्छ भने त्यसको तुलनामा नेपालले आफ्ना नागरिकका बारे सामान्य खोजीनीति पनि गरेको पाइएन । त्यसकारण यसलाई दुःखद पक्ष भनिएको हो । नेपाल संसारभरि नै श्रम बेच्ने देशमा गनिन्छ । यसको अर्थ हो, नेपालीहरू संसारभरि नै फैलिएका छन्, वैदेशिक रोजगारीका नाममा । यस्तो रोजगारीमा गएका आफ्ना नागरिकबारे खासगरी यस्तो रोगका सन्दर्भमा तिनको अवसथा कस्तो होला भन्ने आम तहमा जिज्ञासा बढ्नु स्वाभाविक नै हो । तर, राज्य भन्छ हामीसँग त्यस्तो कुनै जानकारी नै छैन । आफ्ना नागरिका स्वास्थ्यबारे स्वयं सरकार नै अनभिज्ञ रहेको अवस्था छ भने यो सामान्य अवस्था होइन ।
समाचार विवरणमा आएअनुसार विदेशमा रहेका नेपालीहरू कोरानो भाइरस (कोभिड १९)बाट प्रभावित भए/नभएको बारे जिज्ञासा राख्दा स्वास्थ्य, श्रम, परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कसैले पनि जानकारी गराएनन् । यो बेलासम्मको जानकारीअनुसार विभिन्न देशमा रोजगारीमा गएका नपालीको संख्या ५०–६० लाखको रहेको अनुमान छ । देशको हिसाबले नेपालीहरू एक सय ५० भन्दा बढी मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार पनि करिब ४० लाखको संख्या त गणनामै छ । देशको हिसाब हुँदा मलेसिया, खाडी देशहरू र दक्षिण कोरिया बढी संख्या रहेका देश हुन् । समाचारमै आएअनुसार मलेसिया तथा खाडी मुलुकमा कोरोनाको संक्रमण देखापरेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यस्तो बेला यस्ता ठाउँका नेपालीको अवस्थाबारे यस्तो ठाउँमा रहेका नेपालीको अवस्थाबारे सरकारलाई कुनै जानकारी नहुनु भनेको सामान्य कुरा होइन । यो भनेको राज्य कर्तव्यच्यूत भएको अवस्था पनि हो ।
समाचार विवरणमा आएका कुरालाई आधार मान्ने हो भने जिम्मेवार मन्त्रालय (श्रम)का सचिवसमेत वैदेशिक रोजगारीमा गएकाहरूको अवस्थाबारे अनभिज्ञ छन् । यीमध्ये कोरोना भाइरसबाट प्रभावित वा संक्रमित भए कि वा यो बेलासम्म जोगिएका छन् भन्ने कसैले राखेको पाइएन । सचिवकै भनाइ आयो, ‘प्रभावित वा संक्रमितको संख्याको विषयमा जानकारी भएन, यस विषयमा परराष्ट्रलाई जानकारी हुन्छ । परराष्ट्रमार्फत मन्त्रालयलाई कुनै जानकारी आएको छैन ।’ यसको अर्थ हो, सरकारले यो विषयमा जानकारी लिन नै खोजेको नदेखिनु । अहिलेको अवस्था कस्तो छ भने आफ्ना नागरिकका बारे जानकारी राख्न विश्व स्वास्थ्य संगठनको निर्देशन नै छ र सबै मुलुकले त्यसको पालना गर्नुपर्ने हुन्छ । जानकारी भएपछि मात्र त्यसको उद्धार गर्नुपर्ने हुन्छ । तर, आफ्ना नागरिक कुन देशमा कस्तो अवस्थामा छन् भन्ने जानकारी नै राखिँदैन भने त्यस्तो देशले उद्धार कसरी गर्ला, आफैँ एउटा प्रश्न बनेको छ । यो ठाउँमा मानवीय पक्षबाट पनि सरकार चुकेको अवस्था हो । संसारभरि फैलिएका आफ्ना नागरिक कुन ठाउँमा कस्तो दुर्गतिमा छन् वा परे कि भन्ने खोजी नहुँदा तिनका पीरमर्का बुझ्ने त कुरै आउँदैन । यस्तो बेला आफ्ना नागरिकहरू विदेशमा लावारिस हुने खतरा रहन्छ । सरकारको तत्कालै ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया