विकासमा सूचना–सञ्चार प्रविधिको भूमिका
काठमाडौँ । वर्तमान एक्काईसौँ शताब्दीलाई विश्वमा सूचना–सञ्चार प्रविधिको युगका रूपमा चित्रित गर्ने गरिन्छ । अहिलेको विश्वमा मुलुकभित्र र मुलुकहरूबीचको भौगोलिक सिमा र अवरोधलाई सहजै परास्त गर्दै विश्वभरका मानिस एवं स्थानहरूबीच विशाल सञ्जाल र सम्पर्क कायम गराउने प्रभावकारी माध्यमका रूपमा सूचना–सञ्चार प्रविधि स्थापित भइसकेको छ । विश्वव्यापीकरणको प्रविधिगत आयामका रूपमा रहेको सूचना–सञ्चार प्रविधिमार्फत विश्वका नागरिकहरू एक–आपसमा जोडिएका मात्र होइन, यसले सामान्य मानिसको दैनिक जीवनयापनदेखि समाज, देश एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय परिदृश्यमा हरेक पल, क्षण र क्रियाकलापहरूमा प्रभाव पारिरहेको छ । विकास र यसको व्यवस्थापन विश्वव्यापी रूपमा देखापरेको यही पर्यावरणीय अवस्थामा रहेर सञ्चालन गरिने भएकोले सूचना–सञ्चार प्रविधिको प्रभावबाट विकास प्रक्रिया पनि अछुतो रहन सक्दैन ।
सूचना–सञ्चार प्रविधि सूचना तथा जानकारीहरूमा पहुँच सिर्जना गर्दै तिनीहरूको भण्डारण, प्रशारण र आवश्यकतानुसार हेरफेर गर्नसक्ने गरी दूरसञ्चारजन्य सेवा र कम्प्युटर प्रविधिलाई एकसाथ संयोजन गरिएको एकीकृत प्रविधि हो । यो सञ्चारका साधन, सञ्चार प्रक्रिया र प्रविधिको संयोजित रूप हो । सूचनाको सङ्कलन, प्रशोधन र भण्डारण गर्ने तथा आवश्यकताअनुसार यसको उपयोग गर्न सकिने गरी सूचनालाई सञ्चार प्रविधिसँग संयोजित रूपमा तयार गरिएको एकीकृत सञ्जाल नै सूचना–सञ्चार प्रविधि हो । सूचना–सञ्चार प्रविधि र यसको द्रुतत्तर विकासले एकातिर विकासका एजेण्डाहरूलाई अघि बढाउन अवसरको सिर्जना गरेको छ भने अर्कोतिर विकास गतिविधिहरूलाई सहज तुल्याउन मार्गप्रशस्त समेत गरेको छ । मूलतः विकास प्रक्रियालाई गतिशील, समयसापेक्ष र चुस्त बनाउने प्रभावकारी माध्यमका रूपमा सूचना–सञ्चार प्रविधिको अपरिहार्य भूमिका रहेको छ ।
विकास प्रक्रिया र यसको समग्र व्यवस्थापनमा सूचना–सञ्चार प्रविधिले बहुआयामिक रूपमा भूमिका बहन गरिरहेको पाइन्छ । सूचना–सञ्चार प्रविधि आफैँमा जटिल भौगोलिक अवस्थाका कारण उत्पन्न कठिनाइबाट सृजित विकासका चुनौतीहरूलाई परास्त गर्न सहयोग पु-याउने एउटा सशक्त पूर्वाधार हो । सूचना–सञ्चार प्रविधिको दु्रततर विकासले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापारलगायतका आर्थिक एवं सामाजिक क्षेत्रको दिगो विकास गर्ने अवसरको सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वर्तमानमा गुणस्तरीय रोजगारीको एउटा राम्रो क्षेत्रको रूपमा पनि सूचना–सञ्चार प्रविधि रहेको छ । यसबाट बेरोजगारी समस्या कम गर्न सहयोग पुग्ने, बौद्धिक उद्योगहरूको विकास विस्तार गरी ज्ञानमा आधारित समाजको निर्माणमा सघाउ पुग्ने, विकास व्यवस्थापनलाई सरल, समयानुकूल र व्यवस्थापन योग्य तुल्याउन सहयोग पुग्ने जस्ता प्रत्यक्ष फाइदाहरू रहेका छन् ।
विकास प्रक्रियाबाट हासिल भएका उपलब्धि र तथ्यांकीय विषयहरूलाई सूचनामा परिणत गरी सरोकारवालाहरूसम्म पु-याउन, सम्पादित कामको प्रचारप्रसारद्वारा उपभोक्ताको छनोटको अवसरमा वृद्धि गर्न, सेवाको बजारीकरण गर्नजस्ता पक्षहरूमा सूचना–सञ्चार प्रविधिले गतिलो सहारा दिएको छ । यसैगरी, यो प्रविधिको उपयोगमार्फत विशेषगरी उत्पादनमूलक उद्योगहरूमा समय, श्रम र लागतमा कमी आई उत्पादकत्व अभिवृद्धि हुने अवस्था सिर्जना भएको छ । सूचना–सञ्चार प्रविधिको उपयोगले विकासका साझेदारहरू बीचमा समयसापेक्ष रूपमा सम्पर्क र समन्वय कायम गर्न सहज तुल्याएको छ । वर्तमानमा विकास व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको भूमिका यतिसम्म भइसकेको छ कि सूचना–सञ्चार प्रविधिको प्रयोगविना विकासका एजेन्डाहरूको पहिचानदेखि, योजना तर्जुमा, त्यसको कार्यान्वयन, अनुगमन र प्रभाव मूल्यांकनसम्मका सबै प्रक्रियाहरू अवरुद्ध बन्न पुग्दछन् ।
सूचना तथा सञ्चार प्रविधिको विश्वव्यापी सञ्जाल र पहुँचका कारण विश्वको कुनै पनि कुनामा अभ्यास भएको विकासको सफल मोडेल बाँकी विश्वले सहजै अनुसरण गर्न सक्दछ । अन्तर्राष्ट्रियस्तरमा विकासका सफल नीति, कार्यक्रमहरू र प्रविधिको स्थानान्तरण गर्ने निर्विकल्प माध्यमका रूपमा सूचना–सञ्चार प्रविधि रहेको छ । यसबाट विकास प्रक्रियालाई सान्दर्भिक र कार्यान्वयनशील बनाउन सूचना–सञ्चार प्रविधिले सहजकर्ताको भूमिका निर्वाह गरेको छ । विकास र सूचना–सञ्चार प्रविधिको उचित संयोजनबाट नै देशको सामाजिक एवं आर्थिक विकास, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सूचना एवं ज्ञानमा आधारित समाजको निर्माण गर्दै शासनलाई विद्युतीय शासन वा ई गभर्नेन्स र सुशासनमा रूपान्तरण गर्न सकिन्छ । सूचना–सञ्चार प्रविधि विकास व्यवस्थापनमा आवश्यक विभिन्न स्रोतसाधनहरूमध्ये आफ्नो परिस्थिति र विकासको आवश्यकतानुसार प्रयोग गर्न सकिने विकास सापेक्ष लचकदार स्रोत पनि हो । अतः विकासलाई सान्र्दभिक रूपमा सहजता प्रदान गर्ने स्रोतको रूपमा पनि यसको भूमिकालाई उल्लेख गर्न सकिन्छ । सूचना–सञ्चार प्रविधिको विकास विस्तारले विकासका लागि चौतर्फी ढोकाहरू खुलेका छन् । विकासको राष्ट्रिय एजेन्डालाई सीमारहित रूपमा अन्तर्राष्ट्रियकरण गर्न सहज भएको छ । फलस्वरूप अन्तर्राष्ट्रिय समुदायबाट विकाशोन्मुख मुलुकहरूमा विकासका लक्ष्यहरू प्राप्त गर्ने दिशामा निरन्तर सहयोग भइरहेको छ । यसबाट सूचना–सञ्चार प्रविधिले आफ्नो सञ्जालमार्फत विकासलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको विकास र उपयोगले विकास योजनाहरूको कार्यान्वयनमा आवश्यक समयावधिलाई चामत्कारिक रूपमा छोट्याएको छ । वर्षौँसम्म लाग्ने कामहरूलाई केही घण्टामै सम्पन्न गर्नसक्ने विकासको व्यवस्थापनको सशक्त हतियारका रूपमा सूचना–सञ्चार प्रविधि रहेको छ ।
सूचना–सञ्चार प्रविधिका केही नकारात्मक पक्षहरू पनि रहेका छन् । यसको पहुँच केही महंगो छ, प्रविधिलाई स्थापित गर्न पर्याप्त पूर्वाधारहरूको जरुरत पर्दछ । यस्तै, सञ्चालनका लागि विशेष ज्ञानको आवश्यकता पर्ने भएकोले तालिम र क्षमता विकास आवश्यक पर्दछ । यसबाट सम्पादन हुने कामहरूमा गोपनीयता कायम गर्न र विश्वसनीयता हासिल गर्न असहज रहने गरेको तथ्य समय समयमा दोहोरिने गरेका घटनाक्रमहरूले पनि देखाउने गरेका छन् । सूचना–सञ्चार प्रविधिको अधिक प्रयोग र अन्धाधुन्ध अनुसरणका कारण देशको मौलिक संस्कृतिमा क्षति पुग्नसक्ने र विकास व्यवस्थापकको सिर्जनशीलता र नवप्रवर्तनमा नकारात्मक असर देखिनसक्ने अवस्था रहन्छ । अत्यधिक उपयोग र निर्भरताका कारण विभिन्न कठिनाइहरू उत्पन्न भएका छन् । तर, यसका नकारात्मक पक्ष र जोखिमलाई न्यूनीकरण गर्दै क्षमता र पूर्वाधार विकासमार्फत यसको प्रयोगलाई बढाउनुको विकल्प भने छैन ।
नेपालको विकास प्रक्रियामा सूचना–सञ्चार प्रविधिको भूमिका केही मात्रामा स्थापित हुँदै गएको देखिए पनि यसको उपयोग र प्रवद्र्धनको अवस्था भने सन्तोष गर्न लायक छैन । यो प्रविधिले सिर्जना गरेको अथाह सम्भावनालाई मुलुकले पर्याप्त मात्रामा दोहन गर्न र विकास प्रक्रियासँग सामन्जस्यता कायम गर्न नसक्दा देशको सामाजिक आर्थिक रूपान्तरणमा यसलाई पर्याप्त मात्रामा उपयोग गर्न सकिएको छैन । देशको जटिल भौगोलिक बनावटका कारण मुलुकका सबै भू–भागमा सूचना–सञ्चार प्रविधिजन्य पूर्वाधारहरूको स्थापना र विकास विस्तारमा कठिनाइ देखिएको छ । सार्वजनिक सेवाका क्षेत्रमा हाल भइरहेको सूचना–सञ्चार प्रविधिको उपयोगको अभ्यासमा पनि बिभिन्न जटिलताहरू देखिएका छन् । एकातिर, सेवाप्रदायकहरूमा व्यावसायिकता र पर्याप्त ज्ञानको कमी रहेको छ भने अर्कोतिर, सेवाग्राहीहरू प्रविधिमैत्री बन्नसकेका छैनन् । सूचना–सञ्चार प्रविधि सम्बद्ध पूर्वाधार र साधनहरूलाई विलासिताका वस्तुका रूपमा लिने नेपाली मानसिकता पनि यस क्षेत्रको विकास विस्तारमा बाधकका रूपमा रहेको छ । विकासका विभिन्न क्षेत्रमा सूचना–सञ्चार प्रविधिको उपयोग र यसले पार्नसक्ने सकारात्मक प्रभावका बारेमा पर्याप्त अध्ययन, अनुसन्धान हुनसकेको छैन । सूचना–सञ्चार प्रविधिको सुरक्षित उपयोग गर्ने र गोपनीयता कायम राख्ने विषय पनि चुनौतीपूर्ण बन्दै गएको छ । सूचना–सञ्चार प्रविधिको बढ्दो उपयोगलाई व्यवस्थित रूपले प्रवद्र्धन गरी यससम्बद्ध अपराधको जोखिमलाई न्यूनीकरण गर्न एवं सोबाट आउनसक्ने विकृतिहरू नियन्त्रण गर्न प्रभावकारी नियमनको खाँचो रहेको छ ।
सूचना–सञ्चार प्रविधिको व्यापक उपयोगको मार्गप्रशस्त गरी यसबाट सिर्जित लाभहरूलाई विकास प्रक्रियामा अझ प्रभावकारी रूपमा समाहित गर्न आवश्यक छ । सूचना प्रविधिजन्य अपराधहरूको नियन्त्रणका लागि मजबुत कानुनी र संस्थागत प्रबन्धसहित दुरूपयोग र यसका नकारात्मक पक्षहरूको न्यूनीकरणका लागि प्रभावकारी नियमन व्यवस्था कायम गर्ने, यससम्बद्ध साधनहरूलाई विलासिताका साधनका रूपमा लिने नेपाली मानसिकतामा परिवर्तन ल्याउन पनि उत्तिकै आवश्यक छ । सूचना–सञ्चार प्रविधि सम्बद्ध पूर्वाधारहरूको पर्याप्त व्यवस्था गर्ने र भएका पूर्वाधारहरूको मर्मतसम्भार, संरक्षण र अधिकतम उपयोगमा जोड दिने, सूचना–सञ्चार प्रविधिका क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनका लागि यससम्बन्धी प्राविधिक शिक्षामा जोड दिने र देशको विकासका प्राथमिकताप्राप्त क्षेत्रहरूमा यसलाई जोड्न आवश्यक छ ।
सार्वजनिक सेवाहरूको प्रवाहमा प्रभावकारिता हासिल गरी सेवाग्राहीहरूको पहुँचलाई सहज तुल्याई सुशासन कायम गर्न सूचना–सञ्चार प्रविधिको उपयोगलाई बढाउनुको विकल्प छैन । सार्वजनिक तथा निजी क्षेत्र दुवैको कार्य क्षमतामा अभिवृद्धि गर्न सूचना प्रविधिको महत्तम उपयोग अपरिहार्य भइसकेको छ । खुला बजार अर्थतन्त्रले निम्त्याएको प्रतिस्पर्धात्मकतालाई सामना गर्न पनि विकासप्रक्रियालगायत सार्वजनिक सेवाका क्षेत्रमा सूचना–सञ्चार प्रविधिको प्रयोग सशक्त माध्यम हुन सक्दछ । यो स्थितिमा हरतरहले सूचना–सञ्चार प्रविधिको विकास विस्तार र चौतर्फी उपयोगद्वारा सार्वजनिक सेवा तथा आर्थिक–सामाजिक विकास गतिविधिहरूमा डिजिटल नेपालको अवधारणा साकार तुल्याउन अपरिहार्य देखिन्छ ।
अहिलेको विश्वमा देशको विकासको स्तर र सूचना–सञ्चार प्रविधिको विकासको अवस्थाबीच सोझो र प्रत्यक्ष सम्बन्ध रहने गर्दछ । सूचना–सञ्चार प्रविधिको विकासमा फड्को मारेका देशहरू नै समग्र विकासमा अगुवा रहेका छन् । यो स्थितिमा सूचना–सञ्चार प्रविधिमा सहज पहुँच स्थापित गरी यसबाट सिर्जित लाभहरू अत्यधिकरूपमा हासिल गर्नतर्फ विकासका संवाहकहरूको ध्यान केन्द्रित हुन जरुरी छ । अर्कोतर्फ, यस क्षेत्रको विकासका क्रममा देखा परिरहेका नयाँ–नयाँ समस्या र नकारात्मक पाटाहरूलाई न्यूनीकरण गर्दै मुलुकी विकासका सर्वाङ्गीण क्षेत्रहरूमा यसको उपयोग गरिन पनि उत्तिकै आवश्यक छ । देशको समग्र क्षेत्रको विकासका लागि अपरिहार्य शक्तिको भूमिका वहन गर्नसक्ने सबल संशोधन भएकोले सूचना–सञ्चार प्रविधिको समयानुकूल, सही, व्यापक एवं प्रभावकारी उपयोगद्वारा नै सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया