काठमाडौं । संसदीय व्यवस्थाअन्तर्गत आठौँ महानिर्वाचनको रूपमा चिनिएको प्रतिनिधिसभा निर्वाचन २०७९ पछि पहिलो संसद्को पहिलो अधिवेशन रोचकतापूर्वक सुरु भएको छ । सुरु भएको यो अधिवेशनको पहिलो बैठकमा करिब ७० अनुहार बिलकुलै नयाँ थियो । यसले पनि विगतको भन्दा केही रौनकता बढाएको छ ।
यो विगतको कालखण्डभन्दा नयाँ संविधान सुरु भएयताको यो दोस्रो महानिर्वाचन एकै चरणमा शान्तिपूर्णरूपले सम्पन्न भयो । आउँदा दिनका लागि एउटा नजिर बनेको मान्नुपर्छ । यसको अर्थ हो, दिनप्रतिदिन जननिर्वाचित संस्थाहरू जनतासमक्ष आकर्षक बन्दै गएका छन् । निर्वाचनमा जनसहभागिता बढ्नुको अर्थ पनि त्यही हो । यद्यपि यसबीचमा नेतृत्वका कतिपय कामकुराहरू आलोचित रहे । यसअघिको निर्वाचनबाट दुई तिहाइको मत ल्याएको दलको नेतृत्वले त्यसलाई चलाउन नसकेर दुई पटक संसद् भङ्ग गरिदियो । संसद् भङ्ग हुनु आफैँमा ठूलो कुरा नहोला तर त्यो संवैधानिक थिएन । अदालतले नै त्यसलाई असंवैधानिक भनिदिएको हो ।
एकातिर यो संसद्मा त्यस्तो नेतृत्वको वर्चश्व, अर्कोतिर बिलकुलै नयाँ उदाएका शक्तिहरू ठूलो अपेक्षाका साथ यो संसद्मा छन् । कतिपयले त पुराना र आफूलाई ऐतिहासिक भनी दाबी गर्नेहरू आच्छुआच्छु पार्नेसम्मको अवस्था पनि देखियो । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशनका झाँकीहरू रोचकलाग्दा नै छन् । जसरी शपथग्रहण समारोहमा दर्जनजति जाती समुदायको पहिचानयुक्त विम्ब सदनमा प्रवेश भएको देखिएको थियो प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकको दृश्य पनि त्यस्तै थियो । दुवै सदनका बैठक बेग्लाबेग्लै थिए । तर बैठकमा प्रस्तुत साझा कार्यसूचीका रूपमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएकोबाट प्रारम्भ भएको थियो । प्रतिनिधिसभा आवधिकबाट खडा हुने सभा हो भने राष्ट्रियसभा निरन्तर कायम रहने सभा हो । यी दुई सभा यसरी एक–अर्काबीच एकसूत्रमा बाँधियो ।
प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन् । बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यलाई स्वागत गर्नेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
अहिलेको प्रतिनिधिसभामा १२ वटा दल छन् । विगतको तुलनामा यो दलीय उपस्थितिको ठूलो संख्या हो । संविधानसभाको संसद्मा भने ३२ दलसम्म थिए । तर अघिल्लो संसद्मा भने राष्ट्रिय मान्न्यताप्राप्त पाँचवटा दल मात्र थिए । पछिल्लो पटक त्यो संख्या बढेको छ । यसमा सातवटा राष्ट्रिय मान्यताप्राप्त दल छन् भने पाँचवटा अरु । संख्याका हिसाबमा अहिलेको संसद्मा यो बेलासम्म नेपाली कांग्रेस ८९, एमाले ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सदस्यीय उपस्थिति छ ।
उल्लिखितमध्येका चारवटा दल नयाँ हुन् जसमध्ये तीनवटाले त राष्ट्रिय मान्यता नै पाएका छन् । प्रत्यक्षतर्फ एक र समानुपातिकमा पाँच सिट गरी जम्मा छवटा सिट जितेको एउटा दल संसद्को यो कार्यकालको कान्छो राष्ट्रिय मान्यता प्राप्त दल भयो । यसको अर्थ हो राष्ट्रिय मान्यताप्राप्त दल बन्न त्यति गाह्रो पनि छैन । प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा सदर मतको तीन प्रतिशत पुगेमा त्यो दलले त्यस्तो मान्यता पाउँछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया