वातावरण र विकास
काठमाडौँ । वातावरणीय समस्या अहिले विश्व समुदायकै लागि प्रमुख चासो र चिन्ताको विषय बन्न पुगेको छ । नेपाल यो समस्याबाट अलग रहन सक्ने कुरै भएन ।
वास्तवमा अहिले विश्वव्यापीरूपमा बढ्दै गइरहेको वातावरणीय विनाशको स्थितिलाई दृष्टिगत गरिहेर्दा साँच्चै नै अब हामीले वातावरण विनाशसम्बन्धी चर्चा–परिचर्चा गरेर मात्र पर्याप्त हुँदैन । यसको लागि हामीले केही ठोस र प्रभावकारी कार्य गरेर देखाउनुपर्ने बेला आएको छ । वातावरणीय विनाशको कुरा गर्दा खासगरी जलवायु परिवर्तन, बढ्दो हरितगृहको प्रभाव, मरुभूमीकरण, अम्लीय वर्षा तथा वायुमण्डलमा भइरहेको ओजन तहको विनाश आदि कारणले गर्दा विश्वमा वातावरणीय विनाशको समस्या झन्–झन् जटिल बन्दै गइरहेको छ ।
अर्कोतिर जनसंख्याको तीव्र वृद्धिदर एवं वनजंगलको फँडानी र यसबाट उत्पन्न जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण आदि जुन गतिमा बढ्दै गइराखेको छ त्यसले गर्दा विशेषगरी नेपालजस्ता तेस्रो विश्वका मुलुकहरू वातावरणीय विनाशको समस्याबाट सबैभन्दा बढी ग्रसित हुन पुगेको देखिन्छ । वातावरणीय विनाशको यो संकटमय स्थिति निम्त्याउने कार्यमा मूलतः हामी मानव जाति नै बढी जिम्मेवार रहेको कुरालाई नकार्न सकिन्न । त्यसैले बढ्दो वातावरणीय विनाशलाई अरु जटिल बन्न नदिने मुख्य अभिभारा पनि हामी मानवजातिकै हो ।
नेपालको सन्दर्भमा पनि अहिलेको सबैभन्दा प्रमुख र जल्दोबल्दो समस्या भनेको वातावरणीय विनाश नै हो भन्न सकिन्छ । नेपाल राज्यका कतिपय सहरी क्षेत्रहरू र त्यसमा पनि महानगरपालिकाको जामा पहिरेको देशकै संघीय राजधानी काठमाडौं अहिले वातावरणीय समस्याबाट सबैभन्दा बढी ग्रसित हुनपुगेको छ । देशका विभिन्न भागहरूबाट आफ्नो व्यावहारिक समस्याको सिलसिलामा र कामको खोजीमा आउने मानिसहरूको ठूलो जमात, बढ्दो सवारीसाधन र सोको तुलनामा ट्राफिक व्यवस्थापनको अपर्याप्तता, फोहर–मैला निस्काशनसम्बन्धी उचित व्यवस्थापनको कमी आदिजस्ता कारणहरूले गर्दा काठमाडौंको वातावरणीय स्थिति दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ ।
एक जानकारीअनुसार काठमाडौंको जनसंख्या अहिले २५ लाख नाघिसकेको छ । बढ्दो जनघनत्वको परिणामस्वरूप काठमाडौं उपत्यकाको लागि अहिले फोहर निष्काशनको व्यवस्था पनि प्रमुख समस्याको रूपमा देखा परिरहेको छ । विशेष गरेर प्लास्टिक तथा पोलिथिन व्यागको अत्यधिक प्रयोजन, ढल निकाससम्बन्धी उचित व्यवस्थाको अभाव, सडक–गल्लीहरूमा जथाभावी फोहर फाल्ने प्रवृत्ति र फोहर फाल्ने डम्पिङ साइटकै अस्पष्टताले गर्दा काठमाडौंको वातावरण दिन दुगुना र रात चौगुनाको दरले प्रदूषित बन्दै गइरहेको छ ।
त्यस्तै भौतिक पूर्वाधारहरूको ख्यालै नगरी जथाभावी किसिमबाट घरहरूको निर्माण गर्ने परिपाटीले गर्दा कुनै बेला सुन्दर र ऐतिहासिक नगरको रूपमा परिचित काठमाडौं उपत्यका अहिले बसोबासकै लागि अनुपयुक्त थलोका रूपमा परिणत हुन खोजेको हो कि जस्तो प्रतीत भइरहेको छ । राजधानीका खाल्डाखुल्डी र उचित मर्मत हुन नसकेका सडकहरूमा गुढ्ने झण्डै आठ लाखको हाराहारीमा रहेका सवारीसाधनहरूको संख्याले उत्पन्न गरेको वायु प्रदूषणको कारणले स्वच्छ हावामा सास फेर्नु अब हाम्रो लागि एक किसिमबाट दुर्लभजस्तो भइसकेको छ ।
यसप्रकारको प्रदूषित वायुका कारण टाउको दुख्ने, जीउ भारी हुने, शरिरको छाला फुस्रो हुँदै जाने, हातगोडा फुट्ने, कब्जियत हुने, श्वासप्रश्वाससम्बन्धी कठिनाइ हुने र अपच आदिजस्ता रोगहरू उत्पन्न हुने गर्दछ भने प्रदुषणयुक्त जमिनमा उब्जेका खाद्यपदार्थहरू सेवन गर्नाले पनि पेट दुख्ने, पेटमा जुका पर्ने, हेपटाइटिस आदिजस्ता रोगहरू लाग्ने प्रबल सम्भावना रहेको कुरा स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । त्यसैगरी प्रदूषणको कारण पानीमा क्षार, फलाम, तामा आदिजस्ता तत्वहरू अधिक मात्रामा मिसिन पुग्ने हुँदा त्यस्तो पानी पिउने गर्नाले अनेकन घातक रोगहरू उत्पन्न हुने गर्दछ । झाडा–पखाला, आाउँ, कमलपित्त, हेपटाइटिस आदि मूलतः प्रदूषित पानीकै कारण लाग्ने रोगहरू हुन् ।
वातावरण प्रदूषणकै सन्दर्भमा अब अलिकति ध्वनि प्रदूषणबारे पनि चर्चा गरौं । ध्वनि प्रदूषणको लागि पनि राजधानीका साँघुरा सडक गल्लीहरूमा गुढ्ने मोटर गाडीहरूमा बजाइने चर्को र अनावश्यक हर्नको आवाज नै प्रमुख कारक तत्वको रूपमा रहेको देखिएको छ । हुन त अहिले ट्राफिक कार्यालयले जथाभावी हर्न बजाउन नपाउने व्यवस्था गरेको छ । सहरका विभिन्न स्थानहरूमा हर्न बजाउन निषेध गरिएको ब्यानर टाँगिएको पनि हामी देख्न सक्छौं । तर ट्राफिकले लागू गरेको यो व्यवस्था पनि त्यति प्रभावकारीरूपमा कार्यान्वयन हुन सकिरहेको देखिँदैन । बरु ट्राफिकले टाँगेको व्यानरकै मुनीबाट ठूलठूला आवाजले हर्न बजाउँदै गाडी र मोटरसाइकलहरू घुँइकिरहेको हामीले देखिरहेका छौं ।
अर्कोतर्फ विभिन्न उद्योग एवं कलकारखानाहरूमा जडित यन्त्रहरूको कर्कस आवाज तथा विभिन्न भोजभतेर एवं वैवाहिक समारोहहरूमा -याप म्युजिक र ज्याज म्युजिकको नाममा बजाइने चर्को आवाज पनि ध्वनि प्रदूषणको लागि कम जिम्मेवार बनेर रहेका छैनन् । चर्को ध्वनिले मानव शरीरको रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रक्रिया, मांसपेशी, पाचनक्रिया आदिमा प्रतिकूल असर पु-याउने कुरा स्वास्थ्य विशेषज्ञहरू बताउने गर्दछन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार ध्वनि प्रदूषणको सबैभन्दा प्रमुख असर मानिसको श्रवण शक्तिमा पर्ने गर्दछ । स्मरण रहोस् ७५ डेसिबलसम्मको ध्वनिले मानसिक चिडचिडाहट पैदा गर्ने र एक सय २५ डेसिबल सम्मको ध्वनिले मानिसको दृष्टि शक्ति समेत क्षीण तुल्याउने गर्दछ । जब कि विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सुरक्षाको दृष्टिकोणबाट दिउँसोको अधिकतम ध्वनि ५५ डेसिबल र रातिको अधिकतम ध्वनि ४५ डेसिबलभन्दा बढी हुनु हुँदैन ।
त्यसैले वातावरणीय विनाशको यो समस्यालाई अरु जटिल हुन नदिन विभिन्न अल्प र दीर्घकालीन उपायहरूको अबलम्बन गर्नु टड्कारो आवाश्यकता भइसकेको छ । यसको लागि सर्वप्रथम त जनसंख्याको वृद्धिदरको व्यवस्थापन हुनु प¥यो साथसाथै वन विनाशको रोकथाम, बढ्दो धुवाँयुुक्त सवारीसाधनहरूको नियन्त्रण र सोको ठाउँमा विद्युत् र ब्याट्रीद्वारा सञ्चालित सवारीसाधनहरूको प्रयोग, आधुनिक प्रविधियुक्त ट्राफिक व्यवस्थापन प्रणाली, औद्योगिक प्रदूषण नियन्त्रण, नियमित एवं प्रभावकारीरूपमा वायुको गुणस्तर निरीक्षण एवं वातावरणसम्बन्धी शिक्षा र जनचेतनाको विकासमा जोड दिनु पनि उत्तिकै आवश्यक देखिएको छ ।
तथापि वातावरण संरक्षणका लागि यी प्रयासहरू मात्र पनि पर्याप्त हुन सक्तैनन् । राज्यले आफ्ना नागरिकहरूलाई प्रदूषित वातावरणको चपेटाबाट मुक्त राख्न अन्य ठोस र प्रभावकारी कदमहरू प्नि चाल्नु आवश्यक छ । यसका लागि विद्यमान वातावरण संरक्षणसम्बन्धी ऐन नियमहरूलाई आवश्यकताअनुसार परिमार्जन गरी दृढतापूर्वक कार्यान्वयन गरेर देखाउन सक्नु पर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा वातावरणीय विनाश रोकथामको प्रयासलाई राजधानीमा मात्र केन्द्रित नगरी मुलुकका अन्य प्रादेशिक क्षेत्रहरू र त्यसमा पनि विशेषगरी औद्योगिक सहरहरूमा वातावरण स्वच्छ राख्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ ।
वातावरण संरक्षणको कुरा गर्दा वातावरणविद्लगायत अन्य सरोकारवालाहरूले समेत बारम्बार जोड दिँदै आइरहेको एउटा मननीय र महत्वपूर्ण पक्ष हो वातावरण र विकासबीचको सन्तुलन । वास्तवमा वातावरण र विकास भनेको एउटै सिक्काका दुई पाटाहरू हुन् । त्यसैले सिक्काका यी दुई पाटाहरूलाई एक अर्कोसँग अलग राखेर हेर्न मिल्दैन । अर्थात् वातावरण र विकासलाई एक अर्कोबीच प्रतिद्वन्द्वीको रूपमा नलिई परिपूरकको रूपमा अंगीकार गरिनु पर्दछ । होइन भने आज जुन भौतिक विकासलाई लिएर हामी गर्व गरिरहेका छौं ।
भोलि त्यही भौतिक विकास हामी मानव जातिको लागि विनाशको प्रमुख कारण पनि बन्न सक्तछ । त्यसैले यसतर्फ राज्यको जिम्मेवार निकाय र सम्बद्ध सरोकारवालाहरूले बेलैमा ध्यान पु-याउनुपर्ने खाँचो देखिएको छ । लेखक नास्टका सेवा निवृत्त वरिष्ठ प्रवद्धरर््न अधिकृत हुन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया