Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

टेलिकमको ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित


काठमाडौं । नेपाल टेकिलमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बिहीबार सम्पन्न १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । सभाले पारित गरेबमोजिमको लाभांश रकम बिहीबारदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस्तै उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरूउपर पनि छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेशकुमार गुरागाईँ र चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कम्पनीको वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरका बीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गरे ।

दूरसञ्चार क्षेत्रमा विद्यमान तीव्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिक रूपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरू विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरूलाई परिलक्षित गरेको उनको भनाइ थियो ।

उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच पनि कम्पनीले कुल ४४ अर्ब ३७ करोड रुपैयाँ राजस्व आम्दानी गरी आठ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा एक अर्ब ३५ करोडले बढी हो । यसै आवमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कुल आयको ५९ दशमलव ५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ ।

यस्तै उनले सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीव्रता दिएकोले देशका सात सय ३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उल्लेख गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x