Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वतन्त्र भन्सार प्रतिनिधिको संगठन विस्तार नहुँदै विवादमा

स्वतन्त्र भन्सार प्रतिनिधिको संगठन विस्तार नहुँदै विवादमा

भन्सार प्रमुख सापकोटाको मौन समर्थन


विराटनगर । विराटनगर भन्सारमा भन्सार एजेन्टभन्दा भन्सार एजेन्टका प्रतिनिधिहरूको संख्या बढ्दै गएपछि पछिल्लो समय एजेन्टका प्रतिनिधिहरूले संगठन विस्तार गर्न थालेका छन् । उनीहरू संगठन विस्तार गर्न थालेपछि भन्सारमा पनि राजनीति सुरु भएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत रहेर देशभर रहेका भन्सार कार्यालयमा भन्सार जाँचपासको सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागबाट भन्सार एजेन्टको इजाजत पाएका भन्सार एजेन्टले आफूसहित दुई जना भन्सार प्रतिनिधिका रूपमा काम गर्नेगरी प्रतिनिधि तोक्न सक्ने अधिकार छ । विराटनगर भन्सारमा पछिल्लो समय उक्त प्रावधानलाई टेकेर भन्सार एजेन्टले तोकेका प्रतिनिधिले पनि प्रतिनिधि तोक्ने गरेको पाइएको छ । साथै प्रतिनिधिहरूले अहिले सरकारको राजस्व सङ्कलन गर्ने मुुख्य थलोमा संगठन विस्तार गरेर राजनीति गर्न थालेका छन् । उनीहरूले स्वतन्त्र भन्सार प्रतिनीधि संगठन नामक संस्था गठन गरेका हुन् । उक्त संगठनको प्रमुख अतिथि बन्दै विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत तारा सापकोटाले पनि भन्सार प्रतिनिधिलाई राजनीति गर्न प्रश्रय दिएका छन् ।

स्रोतका अनुसार वीरगञ्ज भन्सारमा कार्यरत भन्सार एजेन्टहरूले विराटनगर, मेची र भैरहवा भन्सारसम्म नै भन्सार प्रतिनिधिका रूपमा काम गर्ने भन्दै प्रतिनिधि नियुक्ति गरेका छन् । वीरगञ्ज भन्सारपछि दोस्रो नम्बरमा रहेका विराटनगर भन्सारमा कार्यरत भन्सार एजेन्टले पनि व्यापकरूपमा भन्सार प्रतिनिधि नियुक्ति गर्नेगरेका छन् । भन्सार एजेन्टभन्दा भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुँदा भन्सार एजेन्टको टाउकोमा दायित्व जाने भएकाले पनि भन्सार प्रतिनिधिहरूलाई भन्सार परिसरमा राजनीति गर्ने अवसर भएको बताउन थालिएको छ । तिनै भन्सार प्रतिनिधिहरूलाई प्रमुख भन्सार अधिकृत तारा सापकोटाले महत्वका साथ संगठन विस्तारमा सहभागी भइदिएपछि प्रश्रय दिएका छन् ।

विराटनगर भन्सारलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएका विराटनगर भन्सारमा भन्सार एजेन्टका रूपमा कार्यरत पुुराना भन्सार एजेन्टहरू १८ र गतवर्ष मात्रै भन्सार एजेन्ट पास गरेर आएका नयाँ भन्सार एजेन्टको संख्या ४५ रहेको छ । तर विराटनगर भन्सारलाई नै आफ्नो कार्यक्षेत्र बनाएर भन्सार प्रतिनिधिका रूपमा कार्यरत भन्सार प्रतिनिधिको संख्य भने ७० को हाराहारीमा रहेको छ । विराटनगर भन्सार, मेची भन्सार र वीरगञ्ज भन्सारमा रहेका भन्सार एजेन्टले समेत आफ्ना भन्सार एजेन्ट प्रतिनिधि नियुक्ति गरेपछि भन्सार एजेन्टभन्दा एजेन्टका प्रतिनिधिको संख्या विराटनगर भन्सारमा बढी भएको हो । भन्सारस्रोतका अनुसार विराटनगर भन्सारमा विगतको भन्दा काममा व्यापक कमी आउँदा पनि भन्सार एजेन्टका प्रतिनिधिको संख्या भने दिनानुदिन बढ्दै गएको छ । फेरि त्यस्ता भन्सार प्रतिनिधिलाई निरुत्साहित गर्नुपर्ने ठाउँमा भन्सार प्रमुख आफैँ सहभागी भएर संगठन विस्तारमा सहयोग गरेपछि भन्सार कार्यालयभित्रै भन्सार एजेन्ट र प्रतिनिधिबीचमा विवाद सुरु भएको छ ।

विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार प्रतिनिधिका रूपमा कार्यरत भन्सार एजेन्टका प्रतिनिधि नवल उपाध्याय, सञ्जय दुगढ, सुनिल पोद्दार, राजेश भट्टराई, राजेश ठाकुर, अरविन्द ठाकुर र सन्तोष खरेलको अगुवाइमा विराटनगर भन्सारमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठन गठन भएको हो । यी सबै भन्सार प्रतिनिधिहरू दश वर्षअगाडिसम्म सामान्य जीवन बिताउँदै आइरहेकामा अहिले पछिल्लो समय १५ लाखदेखि ५० लाखसम्मका सुविधासम्पन्न विलासी गाडीको प्रयोग गर्नेदेखि विलासी जीवन बिताउने भन्सार प्रतिनिधिका रूपमा चिनिँदै आएका छन् । एक वर्षअगाडि भन्सार विभागले लिएको भन्सार एजेन्टको परीक्षामा फेल भएपछि आफ्नो वर्चस्वलाई यथावत् राख्नका लागि संगठितरूपमा भन्सारलाई दबाब दिन उनीहरूले स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका नाममा संस्था दर्ता गराएर संगठन निर्माण गरेका हुन् । उक्त संगठनका सबै पदाधिकारीदेखि कार्यसमिति सदस्य समेत भन्सार एजेन्टको परीक्षा उत्तीर्ण गर्न नसकेका व्यक्ति रहेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x