दोलखाका दुई स्थानीय तहले गरे भूमिको वर्गीकरण
दोलखा । जिल्लाको दुईवटा स्थानीय तहले भू–उपयोग क्षेत्रको वर्गीकरण गरेका छन् । जिल्लाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाले भूमिको वर्गीकरण गरेका हुन् । उक्त पालिकाहरूले स्थानीय भू–उपयोग क्षेत्र वर्गीकरण नियमावली कार्यान्वयनमा ल्याएसँगै जग्गा कित्ताकाट गर्ने बाटो समेत खुलेको छ । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्राचारबमोजिमको भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार यी दुई स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरणलाई कार्यान्वयनमा ल्याएका हुन् ।
भू–उपयोग कार्यान्वयन समितिले सरोकारवालाहरूसँग छलफल समेत गराई गाउँपालिकाभित्रको भू–बनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतका आधारमा आठवटै वडाको भूमिलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरेको बैतेश्वर गाउँपालिका अधिकृत रविन्द्र चौलागाईले जानकारी दिए । उनका अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्रअन्तर्गत आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वनक्षेत्र, नदी, खोला, ताल, सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्र गरी १० प्रकारमा भू–उपयोग क्षेत्रमा वर्गीकरण गरिएको छ । सो वर्गीकरणलाई कार्यान्वयनमा ल्याउन बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले अनुमोदन गरेर मालपोत कार्यालयमा पठाएको बैतेश्वर गाउँपालिका सूचना अधिकृत रोशन गिरीले जानकारी दिए ।
कार्यपालिकाले अनुमोदन गरेसँगै अब लामो समयदेखि रोकिएको गाउँपालिकाभित्र रहेका जग्गाहरूको कित्ताकाटलगायत जग्गासम्बन्धी रोकिएका सबै काम सुचारु हुनेभएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वेबसाइटमार्फत एक सूचना प्रकाशन गरेको र भू–उपयोग क्षेत्र वर्गीकरणको जानकारी नापी विभाग, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद् समेतलाई पत्राचारमार्फत जानकारी गराएको गाउँपालिका नापी शाखा अमिन राजेश गिरीले जानकारी दिए ।
त्यसैगरी भीमेश्वर नगरपालिकाले भने कृषि र गैरकृषि क्षेत्रमा जग्गा छुट्याए पनि पूर्णरूपमा वर्गीकरण भने गरेको छैन । नगरपालिकाले लामोसाँघु–जिरी सडकखण्डको सडक सीमाबाट दायाँबायाँ दुई मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गरेको छ । यस्तै चरीकोट–दोलखा–सिंगटी सडकको सडक सीमाबाट दायाँबायाँ एक सय ५० मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गरेको छ । यसैगरी भीमेश्वरले प्रादेशिक सडकहरूको दायाँबायाँ एक सय ५० मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने भएको छ । नगरपालिकाले नगर सडकहरूको सडक सीमाबाट दायाँबायाँ एक सय मिटर गैरकृषि र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने तथा राजकुलो सीमाबाट दायाँबायाँ ५० मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने जनाएको छ ।
नगरपालिकाले व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी–खोला–ताल–पोखरी, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रलाई वर्गीकरण नगरेको कारण भीमेश्वरको भने तत्काल कित्तकाट नहुने जिल्ला मालपोत कार्यालयका अर्जुन प्रसाद चौलागाईले बताए । वर्गीकरण गर्न बाँकी राखेको सबै काम सकेपछि मात्रै सो क्षेत्रको जग्गा कित्तकाटको बाटो खुल्ने मालपोत कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया