भौतिकवाद र अध्यात्मवाद
काठमाडौं । प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ, आकांक्षा राखेको हुन्छ । र प्रत्येक व्यक्तिको लागि जीवनमा यस्तो आकांक्षा राख्नु स्वाभाविक पनि हो । तर केवल आकांक्षा राख्दैमा अथवा इच्छा गर्दैमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्नेचाहिँ होइन । यसको लागि अथक प्रयास, परिश्रम र पुरुषार्थको पनि उत्तिनै आवश्यकता पर्दछ ।
अब प्रश्न उठ्न सक्छ– उसोभए कसरी जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ त ? कस्तो किसिमको प्रयास, परिश्रम अथवा पुरुषार्थबाट यी कुराहरू प्राप्त गर्न सकिन्छ त ? अथवा भनौँ कुन मार्ग अवलम्बन गर्नाले जीवनमा यी कुराहरू प्राप्त गर्न सकिन्छ त ? यी प्रश्नहरूको उत्तर खोजी गर्ने क्रममा मूलतः दुई प्रकारका विचार अथवा दृष्टिकोण बहस र छलफलमा आउने गर्दछन् । ती हुुन् भौतिकवाद र अध्यात्मवाद । संक्षिप्तरूपमा भन्ने हो भने जुन व्यक्तिले आफूलाई अविनाशी आत्मा ठान्छ ऊ अध्यात्मवादी हो र जसले आफूलाई भौतिक देह अथवा शरीर ठान्छ ऊ भौतिकवादी हो । यद्यपि यी दुवै पक्षबीच बेलाबखत बहस वा छलफल हुँदा एकले अर्कोलाई गलत वा निरर्थक ठान्ने र आफ्नो पक्षलाई मात्र सही ठान्ने प्रवृत्ति रहेको पनि पाइन्छ । तर यथार्थता के हो भने यी दुवै एक–अर्काका सहयोगी हुन् र परिपूरक हुन् । किनकि जीवनलाई सही र सन्तुलितरूपमा सञ्चालन गर्न अध्यात्मवाद र भौतिकवाद दुवैलाई हामीले सामन्जस्य मिलाएर लैजानु आवश्यक हुन्छ ।
सर्वप्रथम भौतिकवादकै सन्दर्भमा केही चर्चा गरौँ । जस्तो कि हामी सबै प्रकारका सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू भौतिक शरीरकै माध्यमबाट सम्पन्न गर्दछौँ । तसर्थ हामीले आफ्नो भौतिक शरीरको पनि उचित ख्याल राख्दै यसलाई स्वस्थ र तन्दुरुस्त अवस्थामा राख्नुपर्ने हुन्छ । यसको लागि हामीले योग, ध्यान, व्यायामलगायत शरीरको आवश्यकताअनुरूप विभिन्न पौष्टिक तत्वयुक्त खाद्य पदार्थहरू नियमित रूपमा सेवन गर्नुपर्ने हुन्छ । किनकि शरीर अस्वस्थ भएमा अथवा कुनै प्रकारको रोगबाट ग्रसित हुन पुगेमा कुनै पनि व्यक्तिले आफ्नो सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू एकाग्र भएर गर्न सक्तैन । किनकि ऊ आफ्नो शारीरिक रोग वा पीडाबाट नै बेचैन भइरहेको हुन्छ । तसर्थ ती अध्यात्मवादीहरू जसले ‘ब्रह्म सत्यम् जगत मिथ्या’ अर्थात् केवल ईश्वर सत्य हो बाँकी समस्त जगत झुटो हो भन्छ त्यो सही मान्न सकिन्न । किनकि कुनै पनि व्यक्तिले यस भौतिक जगतको सहयोगविना आफूलाई आध्यात्मिक मार्गमा अगाडि बढाउन सक्तैन । जब हाम्रो भौतिक तन र मन स्वस्थ रहन्छ तब नै हामी आफ्नो सामाजिक आध्यात्मिक कार्यहरू एकाग्र भएर सम्पन्न गर्न सक्तछौँ ।
अर्कोतर्फ अध्यात्मवादको उपेक्षा वा बेवास्ता गरी भौतिकवादको मात्र पछि लाग्नाले पनि जीवनमा वास्तविक सुख र शान्ति प्राप्त गर्न सकिन्न । हुन त कतिपय भौतिकवादी व्यक्तिहरूले जीवनमा जति भौतिक उपलब्धि हसिल गर्न सकियो त्यति नै जीवनलाई सुखी र सहज बनाउन सकिन्छ भन्ने धारणा राखेको पाइन्छ । र, सोही धारणाअनुरूप दिन र रात नभनी भौतिक उपलब्धिकै पछि कुदिरहेको पनि हामी देख्ने गर्दछौँ । तर यस्तो धारणा जीवनको यथार्थतासँग मेल खाएको देखिँदैन । के साँच्चै आज भौतिक विलासिताको मात्र पछि लाग्ने व्यक्ति वा मुलुकले वास्तविक खुशी प्राप्त गर्न सकिरहेको छ त ? शान्तिको अनुभूति गर्न सकिरहेको छ त ? पक्कै पनि छैन । बरु यस्तो भौतिक प्रगति उत्कर्षमा पुगेका मुलुकहरूमा अहिले नैतिक र सामाजिक मूल्य मान्यताहरू क्रमिकरूपमा खस्कँदै गइरहेको छ । उदाहरणको लागि युरोप, अमेरिकाजस्ता विकसित मानिएका मुलुकहरूमा समेत अहिले मानसिक रोगीहरूको संख्या बढिरहेको छ । र, सोहीअनुरूप त्यहाँ आत्महत्याको दरमा समेत वृद्धि भइरहेको बताइएको छ । भनिन्छ, अमेरिकामा मात्र प्रतिहजार व्यक्तिमा एक जनाले आत्महत्या गर्नेगर्छन् र त्यहाँका अस्पतालहरूमा करिब ५० प्रतिशत शय्या मानसिक रोगीहरूकै लागि भनी छुट्याइएको हुन्छ ।
त्यस्तै अर्को एक जानकारीअनुसार ७० प्रतिशत अमेरिकी युवाहरू कनै न कुनै प्रकारबाट लागू औषध्को दुव्र्यसनमा फसेका छन् । पारिवारिक सम्बन्धको कुरा गर्ने हो भने अमेरिकाको औसत वैवाहिक जीवनअवधि भनेको ४–५ वर्षको मात्र हुन्छ । अर्थात् त्यहाँ सम्बन्धविच्छेद र पुनर्विवाहजस्ता घटनाहरू सामान्य रूपमा हुने गर्दछन् । जसले गर्दा त्यहाँ पारिवारिक र सामाजिक मूल्य मान्यताका संरचनाहरू पनि टुट्दै र भत्किँदै गइरहेका छन् । युरोपियन मुलुकहरूको अवस्था पनि झण्डै–झण्डै त्यस्तै छ ।
अवश्य पनि बढ्दो भौतिकवादी प्रवृत्ति र विलासीतापूर्ण जीवन पद्धतिकै कारण त्यहाँ यसकिसिमका मनोसामाजिक विसंगतिहरू बढिरहेका हुन् भन्न सकिन्छ । यसबाट के स्पष्ट हुन्छ भने भौतिक उपलब्धिको मात्र पछि लागेर जीवनमा वास्तव्कि सुख र शान्ति प्राप्त गर्न सकिन्न । बरु यसबाट अनेकन् प्रकारका लोभ, लालच र इच्छा–आकांक्षाहरूले मानव मनलाई गाँजिरहेको हुन्छ, अस्थिर बनाइरहेको हुन्छ । वास्तवमा अध्यात्मवादको अभाव अथवा उपेक्षाकै कारण हाम्रो मन–मस्तिष्क यति प्रदूषित हुन पुगेको छ कि यसबाट हाम्रो भौतिक क्षेत्रमा भएको उपलव्धि समेत उल्टो मानव समुदायको लागि अशान्तिको कारण बन्न पुगेको छ, असन्तुष्टिको जड बन्न पुगेको छ । त्यसैले आज विज्ञान र प्रविधिको विकासबाट मानिसले हासिल गरेको भौतिक उपलब्धिलाई सहीरूपमा उपयोग गरी मानव समुदायलाई पतनोन्मुख मार्गबाट जोगाउने हो भने आध्यात्मिक ज्ञान र चेतनाको विकास हुनु अति नै आवश्यक देखिन्छ ।
अवश्य पनि अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन । वास्तबमा भौतिक क्षेत्रमा भएको चमत्कारित उपलब्धिकै कारण सिंगो विश्व आज एउटा सानो गाउँमा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहजरूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ । वातानुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ । विशेषगरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्नसक्ने भएका छौँ । केही दशकअघिसम्म मात्र एक ठाउँको चिट्ठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो । तर आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइवर आदिजस्ता सञ्चार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो मन–मस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता मनोबिकृृतिहरूबाट टाढा रहन सकिरहेको छैन, मुक्त हुन सकिरहेको छैन ।
यसरी आज एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तरनिहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेको छ, क्षय हुँदै गइरहेको छ । परिणामस्वरूप भौतिकरूपमा आज विश्व सांँघुरो बन्दै गए पनि भावनात्मकरूपमा भने मानवीय दूरी झन्झन् बढ्दै गइरहको महसुस हुन थालेको छ । यसको प्रमुख कारण यही मान्न सकिन्छ कि हामीले भौतिक उपलब्धि र आध्यात्मिक उन्नयनलाई सामान्जस्य गरेर अघि बढ्न सकिरहेका छैनौँ । भौतिक विकास हुनु पक्कै पनि मानव समुदायको लागि खुशीको कुरा हो, गौरवकोे कुरा हो । तर भौतिक स्रोत र साधनलाई सहीरूपमा प्रयोग नगरी अथवा मानव हितमा उपयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज मानिसहरू चिन्ता, तनाव, कुण्ठा एवं अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट ग्रसित हुन पुगेका छन् । अशान्ति, भय र निराशाको बादलले मानव मन–मस्तिष्कलाई ढपक्क ढाकिदिएको छ ।
निःसन्देह हामी आत्मा र शरीर दुवै हौँ । किनकि जबसम्म हामी जीवित रहन्छौँ आत्मा र शरीरको समायोजन गरेर नै हामी आफूलाई जीवात्मा भनेर सम्बोधन गर्दछौँ । त्यसो त कुनै व्यक्तिको मृत्यु हुँदा पनि हामी त्यो व्यक्तिले संसार छाड्यो भन्ने गर्दछौँ । जब कि उसको त्यो भौतिक शरीर हाम्रै अगाडि लडिरहेको हुन्छ । यसबाट पनि स्पष्ट हुन्छ हुन्छ कि त्यहाँ दुई प्रमुख तत्वहरू अन्तरनिहित रहेको हुन्छ । एउटा आत्मा र अर्को शरीर । मानिसको मृत्युपछि आ–आफ्नो प्रचलित धर्म संस्कारअनुरूप उसको त्यो भौतिक शरीरको अन्त्येष्टि गरिन्छ । तर उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्वका रूपमा स्मरण गरिन्छ । यस दृष्टिकोणबाट हेर्दा हामीले शरीर र आत्मा दुवैलाई समानरूपमा सम्मान र महत्व दिनुपर्ने हुन्छ । मानवशरीर मूलतः पाँच भौतिक तत्वहरूबाट निर्माण भएको हुन्छ । जसलाई हामी पञ्चतत्व भन्ने गर्दछौँ । ती पञ्चतत्व हुन्ः पृथ्वी, जल, अग्नि, वायु र आकाश । यी पाँचै तत्वसँग हाम्रो भौतिक शरीरको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । त्यसैले मानिसको मृत्युपछि अन्ततोगत्वा उसको भौतिक शरीर पनि यिनै पाँच तत्वसँग विलय वा समाहित हुन पुग्दछ । तर उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्वका रूपमा लिइन्छ । यसप्रकार मानव शरीर र आत्माबीच अविच्छिन्न सम्बन्ध रहेको हामी पाउँछौँ ।
तसर्थ संक्षेपमा हामी के भन्न सक्छौँ भने मानव हृदयमा अन्तरनिहित सद्भाव र सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र चेतनाको माध्यमबाट पुनः जागृत गरी मानव जीवनलाई सुखी, शान्त र समृृद्ध तुल्याउने हो भने भौतिकवाद र अध्यात्मवादबीच उचित समन्वय र सन्तुलन कायम राख्दै दुवैलाई एक–अर्काको परिपूरक र सहयोगीको रूपमा अघि बढाउनुपर्ने अपरिहार्य आवश्यकता देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया