Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘छलफलविनै श्रम स्वीकृति स्थगन’

‘छलफलविनै श्रम स्वीकृति स्थगन’


काठमाडौं, चैत २
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नेपाल सरकारले श्रम स्वीकृति स्थगन गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा गठित नोभल कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । सोसँगै वैदेशिक रोजगार विभागले शनिबार एक सूचना जारी गर्दे वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको जनाएको छ । विभागले अर्को सूचना जारी नभएसम्मलाई वैदेशिक रोजगारीकका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

विभागका महानिर्देशक कुमार दाहालले कोरोना भाइरसको संक्रमणकै कारण मलेसिया खाडी लगायतको नेपाली युवाहरु काम गर्न जाने मलुकमा श्रम स्वीकृति स्थगन गरेको बताए । ‘बिहीबारसम्म श्रम स्वीकृति लिएका तथा भिसा आएको हकमा भने उनीहरु कामका लागि विदेश जान पाउने छन्’, उनले भने, ‘यदि विदेशी मुलुकले आगमन खुल्ला गरेको अवस्थामा नभएको खण्डमा भने युवा कामका लागि विदेश जाने पाँउदैनन् ।’ सरकारको श्रम स्थगन गर्ने निर्णयसँगै नेपाल वैदेशिक रोजगार संघ (एनएफईए)ले भने सरकारले पर्याप्त छलफलविना नै श्रम स्वीकृति स्थगन गरेको बताएको छ । संघका महासचिव सुजित श्रेष्ठले सरकारले पर्याप्त छलफलविना नै श्रम स्थगन गरेर कामदारहरुलाई असहज परिस्थिति सिर्जना गरेको बताए ।

‘स्थगनका लागि सरोकारावालाहरुसँग पर्याप्त छलफल र अध्ययन हुनपर्थ्यो’, उनले भने, ‘यसो नगर्दा भोलि सरकारलाई असहज अवस्था आउन सक्छ । कामदार लैजाने मुलुकले कामदार रोकेको छैन भने हामीले रोक्नु आवश्यक थिएन ।’ सरकारको निर्णयमा आफनो कुनै आपत्ति नभएको बताउँदै उनले भने, ‘नेपाली कामदार लैजान मुलुक स्वास्थ्य सेवामा अब्बल हुँदा कामदार जाँदा खासै समस्या आउँदैन ।’  उनले सरकारको सो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका करिब ५४ हजार युवाहरु प्रभावित बनेको बताए । ‘भिसा आएका सात हजार र पूर्वस्वीकृति लिएका ४५ हजार युवाहरु प्रभावित बनेका छन्’, उनले भने, ‘विदेश जानका लागि मुलुकको विभिन्न क्षेत्रबाट कामठमाडौं आएका युवाहरु समेत प्रभावित भएका छन् ।’

संस्थागत अर्थात् मेनपावरमार्फत जाने युवाहरु भने प्रभावित नभएको संघको दाबी छ । ‘संस्थागतमार्फत जाने युवाहरुको हकमा भने मेनपावरले विदेशमा रहेका सम्बन्धित कम्पनीसँग छलफल गरी कामदार पठाउने विषयलाई केही समय थप गर्न माग गरेको तथा उनीहरुले सो विषयलाई सकारात्मक रुपमा लिएका छन्’, उनले भने, ‘तर व्यक्तिगत रुपमा जाने कामदारको हकमा भने त्यो सम्भव नहुँदा उनीहरु बढी प्रभावित भएका छन् ।’

सरकारले व्यक्तिगत पहलमा विदेश जाने कामदारहरुको बारेमा सोच्नु आवश्यक थियो । संघले सो निर्णयसँगै श्रमिक लैजाने मुलुकले कामदारलाई लिएर असहज निर्णय गरेमा सरकारलाई असहज अवस्था समेत आउन सक्ने जनाएको छ । यसैबीच पछिल्लो समय कतारले आगमन बन्द गरेको छ भने कुवेतले भिसा दिन नै बन्द गरेको छ । संघले श्रमिक पठाउने विषयमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र विभिन्न मुलुकमा रहेका दूतावससँग कुराकानी भइरहेको जनाएको छ । अब कसरी अघि बढ्ने तथा श्रमिक पठाउने/नपठाउने विषयमा छलफल भएको जनाएको छ ।

विभागका अनुसार विदेश जानका लागि भन्दै युवाहरुले संस्थागत र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिइरहेका छन् । चीन, मलेसिया, खाडी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा काम गर्न जान भन्दै युवाहरुले श्रम स्वीकृति लिएका छन् भने विभागलले भने स्वीकृति लिने सबै युवाहरु विदेश नजाने गरेको बताउँदै आएको छ ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६/७७ को माघ महिनासम्ममा मात्र कामका लागि विदेश जाने भन्दै ४९ हजार एक सय २८ जना पुरुष र तीन हजार तीन सय ९३ जना महिला गरी कुल ५२ हजार पाँच सय २१ जनाले श्रम स्वीकृति लिएका छन् भने करिब ७० लाख युवाहरु वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनबाट फैलिएको कोरोना भाइरसको कारण विश्वभर ३३ सयको मृत्यु भइसकेको जनाएको छ भने पछिल्लो समय छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरसको संक्रमण देखापरेको छ । योसँगै सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि भन्दै श्रम स्थगन तथा नाकाहरुमा विशेष सुरक्षा अपनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x