Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहवाइ भाडा कम गर्न आग्रह

हवाइ भाडा कम गर्न आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले हवाइ भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन आग्रह गरेको छ । परिसंघको एक प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटी नेपालको हवाइ भाडा अत्यन्त महंगो हुँदा अपेक्षाकृत रुपमा विदेशी पर्यटकहरु आउन छाडेकोले भन्दै भाडा घटाउन माग गरेका हुन् ।

साथै परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा समेत सुझाव दिएको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले परिसंघले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराएका थिए । उनले नेपालको हवाइ भाडा अत्यन्त महँगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकहरु आउन नसकिरहेको बताए । उनले हवाइ भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, युरोपियन युनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि आग्रह गरे ।

यस्तै परिसंघका अर्का उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको भन्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए । परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गरिन् । यस्तै अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवद्र्धन अभियान सञ्चालन गरिनुपर्नेमा उनले जोड दिइन् ।

यस्तै परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा सञ्चालनका लागि हवाइ रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रवद्र्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुनसक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन पाउने र लैजान पाउने व्यवस्थामा सहजीकरण गरिदिन पनि परिसंघले मन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ ।

परिसंघको सुझाव ग्रहण गर्दै मन्त्री किराँतीले नीतिगत सुधारका विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझावको अपेक्षा गरेको बताए । यस्तै उनले युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल सुरु गरिसकेको जानकारी दिए । छलफलमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, परिसंघ पर्यटन समिति सदस्य हिक्मत सिंह ऐरलगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x