Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्दोलनका नाममा बालाजुको ल्होत्से मलमा लुटपाट, ८ करोडको क्षतिपूर्ति माग-प्रहरीले थाल्यो अनुसन्धान

आन्दोलनका नाममा बालाजुको ल्होत्से मलमा लुटपाट, ८ करोडको क्षतिपूर्ति माग-प्रहरीले थाल्यो अनुसन्धान


काठमाडौं । यातायात मजदुर संगठनले सोमबार गरेको आन्दोलनका क्रममा बालाजुमा रहेको ल्होत्से मलमा तोडफोड र लुटपाट भएको छ । मलभित्र रहेका मोबाइल पसल फोडी खुल्लमखुल्ला लुटपाट गरिएको हो ।

सो क्रममा लुटेका भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यातायात मजदुरहरुले सो क्रममा बालाजु प्रहरी वृत्तका दुईवटा गाडी नै जलाइदिएका थिए भने सोही क्रममा ल्होत्सेमलमा आक्रमण भएको थियो । सोसँगै ल्होत्से मलका सिसा फुटेका छन् ।

मलभित्र मोबाइल पसल सञ्चालन गर्ने व्यवसायी अर्जुन चालिसेले लुटपाटमा आठ करोडको क्षति भएको बताए । उनका अनुसार यो प्रारम्भिक क्षति अनुमान हो । लुटपाटपछि मंगलबार पत्रकार सम्मेलन गरेका व्यवसायीले सरकारसँग आठ करोड क्षतिपूर्ति भरिदिन माग गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका चालिसेले पत्रकार सम्मेलन गर्दै उक्त माग गरेका हुन् । त्यसमा अन्य मोबाइल व्यवसायीहरुले समर्थन गरेका छन् ।

मलभित्र ओप्पो, सामसङ लगायतका मोबाइल पसल रहेका छन् । तिनै पसलमा आन्दोलनका नाममा लुटपाट गरिएको हो । आन्दोलनकारीले पसलको सटर खोलेर मोबाइल लुटेर लगेको भिडिओ फुटेजमा देखिएको छ ।

यता नेपाल प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका गाडी जलाइएको र मोबाइल पसलमा भएको लुटपाटबारे काठमाडौं प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको हो । सीसीटिभी फुटेज अध्ययन गरिरहेको प्रहरीले दोषीलाई चाँडै पक्राउ गर्ने जनाएको छ ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार हाल प्रमाण संकलन भइरहेको र पहिचान हुने सबैलाई क्रमशः पक्राउ गर्दै जाने तयारी गरिएको छ । यसैबीच, घटनापछि उपत्यका प्रहरी कार्यालय बालाजु वृत्तका इन्चार्ज डीएसपी रविन विष्टलाई उपत्यका प्रहरीमा झिकाएर उनको स्थानमा मनोजजित कुँवरलाई पठाएको छ ।

यता उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । मंगलबारमात्रै यातायात मजदुरसँग सरकारले वार्ता गरेको थियो । सो क्रममा पक्राउ परेका मजदुरलाई छाड्ने सहमति भएको छ । मजदुरहरुले प्रहरीले जरिवाना बढाएकोलगायतका माग राखी आन्दोलन गरेका थिए । सहमतिपछि मंगलबार सार्वजनिक यातायात बन्द गरेका उनीहरुले सोही दिन यातायात सञ्चालन गर्ने निर्णय गरेका थिए । यद्यपि मंगलबार नगन्य रुपमा सार्वजनिक यातायातका सवारीसाधन चलेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x