Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाना उद्योगीको कर्जालाई नवीकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने वातावरण बनाइने

साना उद्योगीको कर्जालाई नवीकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने वातावरण बनाइने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने वातावरण बनाइने आश्वासन दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘१६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा उनले उत्पादनमूलक साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जालाई पुनः परिभाषित गर्दै सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याइने बताएका हुन् । स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएकोले यस्ता उद्योगहरूको संरक्षण र प्रवर्द्धनमा सरकार प्राथमिकताका साथ लाग्ने उनको भनाइ थियो । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको पुँजी अभावलगायत समस्यालाई पनि सरकारले सम्बोधन गर्ने उनले बताए । यस्तै साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिस्टार समेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेको प्रति सरकारको ध्यानाकर्षण भएको भन्दै उनले त्यसबारे उचित समाधान खोजिने आश्वासन दिए ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षणविना असम्भव भएको भन्दै उनले सरकारले सधैँ उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक छ । त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ’, उनले भने । केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्नेगरेको बताउँँदै उनले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्नेमा जोड दिए । ‘हामी पाँच दशकअघि खाद्यान्न निर्यात गथ्र्यौँ । नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ । मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ’, उनले भने । अहिले मुलुक वित्तीय संकटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने उनले बताए । ‘तत्काल देखिएको वित्तीय संकट हटाउनका लागि सरकार लागिपरेको छ । अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन’, उनले भने ।

महिला तथा बालबालिका मन्त्री भगवती चौधरीले समृद्ध अर्थतन्त्रको निर्माण र देश विकासमा जोडिएका लघु, घरेलु तथा साना उद्योगहरू स्थानीय बजारका साथै निर्यातमा पनि लैजान सुझाव दिइन् । बागमती प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री डम्बर तामाङले लघु, घरेलु तथा साना उद्योगीहरूको सीपलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए । यस्ता उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजान सुझाव दिँदै उनले यस्ता उद्योगको विकासका लागि बागमती प्रदेश सघाउन तयार रहेको बताए । कार्यक्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावले उद्यमीहरू टाट पल्टिन लागेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । यस प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । यस्तै प्रदर्शनीमा दुईवटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए ।

यस मेलाको सहआयोजकको रूपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड रहेका छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरू यसका प्रवर्द्धक र सहयोगी रहेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x