Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रमा निक्षेप र कर्जा दुवै बढ्यो

बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा दुवै बढ्यो


काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम झण्डै १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम नौ दशमलव चार प्रतिशतले बढेर ५२ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा रकम भने चार प्रतिशतले बढेर ४७ खर्ब ५८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक विन्दुगत वृद्धिदर उच्च रहेकोमा २०७९ असोजबाट निक्षेपको वृद्धिदर अधिक देखिएको हो । २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव आठ प्रतिशत, २५ दशमलव छ प्रतिशत र ६० दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५४ दशमलव चार प्रतिशत रहेको थियो । चालू आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत रहेको छ । २०७८ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३९ दशमलव नौ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुई दशमलव आठ प्रतिशतले, विकास बैंकहरुको चार दशमलव नौ प्रतिशतले र फाइनान्स कम्पनीहरुको एक दशमलव छ प्रतिशतले बढेको छ ।

बैंकिङ क्षेत्रमा लगानीमा रहिरहेको कर्जामध्ये चालू आवको पुस मसान्तसम्ममा ६७ दशमलव दुई प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७८ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव पाँच प्रतिशत र १२ दशमलव छ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/०८० को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा तीन दशमलव सात प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव चार प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा आठ दशमलव दुई प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दशमलव छ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव तीन प्रतिशतले बढेको छ ।

Open photo

राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १० दशमलव सात प्रतिशतले, अधिविकर्ष कर्जा आठ दशमलव तीन प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा चार प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) एक दशमलव चार प्रतिशतले बढेको छ । यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा आठ दशमलव छ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा सात प्रतिशतले र हायर पर्चेज कर्जा आठ दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x