Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी राष्ट्रपति जो बाइडन अकस्मात् किएभ पुगे

अमेरिकी राष्ट्रपति जो बाइडन अकस्मात् किएभ पुगे


काठमाडौं,रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही मिनेटअघि मात्र आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्।

“जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ! तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो,” उनले लेखेका छन्।

पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन्।

युक्रेनको राजधानीमा “महत्त्वपूर्ण व्यक्ति” आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो।

तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो।

बाइडनको मोटरगेड

तस्बिर स्रोत,REUTERS

उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो।

युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुगेका हुन्।

नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १०७ व्यक्तिको सम्झना गरिने दिन बाइडनले जेलेन्स्कीलाई भेट गरेका हुन्।

किएभस्थित बीबीसी संवाददाता जेम्स वाटरहाउसले द्वन्द्वका बीच युक्रेनको केन्द्रमा अमेरिकी राष्ट्रपतिले युक्रेनी नेतृत्वसँग भेट गर्नु महत्त्वपूर्ण अनि साङ्केतिक रहेको जनाएका छन्।

उनका अनुसार पूर्ण स्तरको आक्रमण सुरु भएको एक वर्ष पुग्न लागेको बेला यो भ्रमणले मस्कोलाई अमेरिका र पश्चिमा राष्ट्रहरू युक्रेनलाई सहयोग गर्नबाट पछि नहट्ने स्पष्ट सङ्केत दिएको छ।

किएभ
जेलेन्स्की र बाइडन

तस्बिर स्रोत,REUTERS

भ्रमण कसरी गोप्य राखिएको थियो?

न्यूयोर्क टाइम्सका अनुसार बाइडन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुगेका हुन्।

व्यापक सुरक्षा सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडनको भ्रमण गोप्य राखिएको थियो।

विरलै हुने घटनाक्रममा अमेरिकी राष्ट्रपति र उनकी श्रीमतीले शनिवार राति एउटा रेस्टुराँमा खाना खाएका थिए।

त्यसपछि बिनासूचना उनी वाशिङ्टनबाट बाहिरिएका थिए।

पूर्वनिर्धारित पूर्वी युरोप भ्रमणका क्रममा बाइडन युक्रेन पुग्ने कुरालाई अधिकारीहरूले अस्वीकार गर्दै आएका थिए।

न्यूयोर्क टाइम्स लेखेको छ: “वास्तवमै ह्वाइट हाउसले आइतवार राति सार्वजनिक गरेको सोमवारको तालिकाका अनुसार राष्ट्रपति अझै वाशिङ्टनमै थिए र साँझ वार्सा प्रस्थान गर्दै थिए। तर वास्तवमा उनले आधा संसार पार गरिसकेका थिए।”

के भने बाइडनले?

एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले “युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने” बताएका छन्।

”एक वर्षअघि रुसले आक्रमण सुरु गर्दा पुटिनले युक्रेन कमजोर रहेको र पश्चिमा राष्ट्रहरू विभाजित रहेको ठानेका थिए। उनले हामीलाई परास्त गर्न सकिने ठानेका थिए। तर उनी पूर्ण रूपमा गलत थिए,’’ बाइडनले भने।

विज्ञप्तिमा रुसमाथि थप प्रतिबन्धहरू लगाइने समेत उल्लेख गरिएको छ।

केही साताअघि जेलेन्स्की पनि अकस्मात् वाशिङ्टन पुगेका थिए।

आफ्नो भ्रमणका बेला उनले रुससँग सङ्घर्ष गर्न युक्रेनलाई थप हातहतियार उपलब्ध गराउन अमेरिकाको कङ्ग्रेसलाई आग्रह गरेका थिए।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया