हेलो नेतागण !भाषणले जनता मुग्ध पार्ने जमाना गइसक्यो !
काठमाडौें,७३औँ प्रजातन्त्र दिवस मनाइयो । हरेक वर्षको फागुन ७ गतेजस्तै १०४ वर्षे जहानीयाँ राणा शासनबारे चर्चा परिचर्चा भयो । राणा शासनको साथै पञ्चायत शासनसँग बहुदलीय लोकतान्त्रिक व्यवस्था अपनाएर गत ३३ वर्षदेखि चलिरहेको शासनको तुलना गर्ने कामकुरो पनि केही बुद्धिजीवीहरुको लागि एक फेसनजस्तै भइसकेको छ । तर, एउटा धरातलीय यथार्थ के छ भने अब सधैँको लागि मुलुकमा ‘बहुदलीय शासन’ रहने र राष्ट्र हाँक्ने भनेको राजनीतिक पार्टी र राजनीतिक पार्टीभित्रको नागरिक समूह नै हो ।
राजनीतिशास्त्रको सरल व्याख्याअनुसार राजनीतिक दल वा पार्टी भन्नाले कुनै एक मुलुकको सरकारलाई नियन्त्रणमा लिन वा नियन्त्रणमा लिने वातावरण बनाउन गठन गरिएको नागरिकको एक समूह जनाउँछ । विश्वमा पहिलोपल्ट युरोप र अमेरिकामा उन्नाईसौँ शताब्दीको सुरुतिर मात्र राजनीतिक पार्टीको जन्म भएको थियो । तर पार्टीहरूको अवधारणा आउनुअघि प्राचीनकालदेखि राजा–महाराजा तथा सम्राट्हरूले विश्वमा शासन गरिरहेको समयमा पनि राज्यसत्ता सञ्चालनमा प्रचुर मात्रामा ‘राजनीति’ हुने गरेको पाइन्छ ।
नेपालको इतिहासमा पनि सयौँ वर्षपहिलेदेखि राजा, राजपरिवार र भाइभारदारबीच राजनीतिक दाउपेच, चलखेल र षड्यन्त्र भइरहेको थियो । तर पहिलोपटक २००७ सालपछि मात्र केही वर्षका लागि राजनीतिक दलको नियन्त्रणमा सरकार आएको थियो । २०४६ सालपछि मात्र राज्यसत्ता सञ्चालनको सम्पूर्ण गतिविधिमा पार्टी हावी भएका हुन् । अब भने सधैँको लागि मुलुकको भविष्य पार्टीहरूको हातमा जाने निश्चित भइसकेको निष्कर्ष निकाल्न सकिन्छ ।
भनिन्छ– राजनीति भनेकै शक्ति हासिल गर्न गरिने एक सभ्य लडाइँ हो । यस अर्थमा भर्खर सम्पन्न निर्वाचनपछि मुलुकको राजनीतिमा भइरहेको उथलपुथल तथा पार्टी–पार्टी र नेता–नेताबीचको कुर्सी झगडाहरुलाई स्वाभाविक मान्नुपर्छ । राष्ट्रपतिको पद हातमा पार्न र सरकारमा सामेल हुन पार्टी र नेताहरु तँछाडमछाड गरेर अघि बढ्न लाज मान्नुपर्ने कुनै कारण नभए पनि जनताको चासोको विषय भनेको त्यस सभ्य लडाइँपछि प्राप्त हुने शक्तिको उचित प्रयोग गरी मुलुकलाई प्रगतिको उचाइमा पु¥याउने पुण्य काम नै हो । गत ३३ वर्षको लोकतान्त्रिक माहोलमा हाम्रा शीर्ष नेता तथा सबै राजनीतिज्ञहरु यो सभ्य लडाइँमा चाहिनेभन्दा बढी व्यस्त भएको एक तितो सत्य हो । जनताको मुख्य चासोको काममा पर्याप्त ध्यान नदिएको विभिन्न तथ्यांकहरुबाट सजिलै प्रमाणित गर्न सकिन्छ ।
बहुदलीय प्रजातन्त्रमा राष्ट्रको भविष्य राजनीतिक पार्टीहरुको हातमा हुने भएकाले पार्टीहरू सक्षम नभएसम्म मुलुक उँभो नलाग्नेमा सायद कसैको दुई मत नहोला । तसर्थ नागरिक समाज, बुद्धिजीवी, पत्रकार तथा सम्पूर्ण शिक्षित समुदायले पार्टी र नेताहरूबीच भइरहेको सभ्य लडाइँमा कम ध्यान दिएर अहिले भएको साना–ठूला पार्टीहरूका क्षमता र सामथ्र्य वृद्धि गर्ने सम्बन्धमा बहस चलाउन उचित हुन्छ ।
लोकतन्त्रमा शक्ति र सत्ताका लागि भइरहने चलखेल, दाउपेच, छलकपट र संघर्ष संसारभर जायज मानिन्छ । केही छिमेकी मुलुक तथा अन्य प्रजातान्त्रिक मुलुकमा गत केही वर्षयता भइरहेको राजनीतिक उथलपुथल र झगडालाई मध्यनजर राख्दा पनि यी क्रियाकलापलाई स्वाभाविक रूपमा लिनेबाहेक जनताका लागि अन्य विकल्प छैन । साथै लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प भनेको अर्को पार्टी मात्र हो भनेर भर्खर सम्पन्न निर्वाचनले प्रमाणित गरिसक्यो ।
सिंगापुरका प्रख्यात नेता लि क्वान युले आफ्नो एक चर्चित पुस्तकमा लेखेका छन् – ‘एसियाको विकास सम्बन्धमा मैले गरेको अनुभवबाट के निष्कर्षमा पुगेँ भने राम्रो सरकारका लागि असल मान्छे चाहिन्छ र पद्धति असल भए पनि कमसल र खराब नेताले जनतालाई क्षति पु¥याउँछ ।’ हामीकहाँ गत ३३ वर्षको राष्ट्रिय राजनीतिमा हावी भइरहेका नेताहरूलाई असल शासकको रुपमा लिने कि नलिने भन्नेमा बहस निरन्तर रुपमा चलि नै रहन्छ । तर, सबैले बुझ्नुपर्ने एक सामान्य ज्ञानको कुरा के छ भने साधारणतया कुनै पनि व्यक्तिको नेतृत्व क्षमता र व्यवस्थापकीय कुशलता रातारात त्यत्तिकै पलाएर आउने सम्भावना न्यून हुन्छ ।
वर्तमान राष्ट्रीय राजनीतिबाट काँचुली फेर्ने खालको परिवर्तन ल्याउन नसके पनि भविष्यका लागि हरेक पार्टीले असल र क्षमतावान् व्यक्तिको खोजी निरन्तर रुपमा गरिरहेकै हुनुपर्छ । यस सम्बन्धमा नागरिक समाज, बुद्धिजीवी, मिडियाले बहस चलाएर पार्टीहरूलाई दबाब दिनु मुलुकको हितमा हुनेछ ।
लोकतन्त्रमा दलको विकल्प भनेको अर्को दल मात्र हो भनेर भर्खर सम्पन्न निर्वाचनले प्रमाणित गरिसक्यो ।गत निर्वाचनबाट यो पनि प्रस्ट पारिसकेको छ कि जनताको अर्जुनदृष्टि आर्थिक तथा सामाजिक विकास नै हो । जनताले राजनीतिमा चासो राख्न छोडिसकेको छ । विकासका लागि जनताले लोकतन्त्र खोजेको हो, राजनीतिका लागि मात्र होइन भनेर नेताहरुले बुझ्नैपर्छ । विकासका लागि राष्ट्र र जनताले राजनीतिक पार्टीहरू खोजेको हो, व्यवस्था परिवर्तनका लागि मात्र होइन । गत ३३ वर्षको अवधिमा व्यवस्था परिवर्तनका लागि गरिएको संघर्षहरु सफल भएको माने पनि अन्य समान हैसियत भएका मुलुकहरुको तुलनामा पार्टी, नेता र कार्यकर्ताहरु आर्थिक तथा सामाजिक विकासमा सफल हुन नसकेकै हो । मलंगवाको युवाले मलेसिया देखिसकेको छ भने दार्चुलाको युवाले दुबाई घुमेर आइसकेको छ । भाषणले जनतालाई मुग्ध पार्ने जमाना गइसक्यो ।
कुनै पनि मुलुकको समग्र विकास भनेको कठिन काम हो । हाम्रा पार्टी र नेताहरूले विश्वमा भइरहेका परिवर्तन र कुन मुलुक के–कस्ता नीति लिएर अघि बढिरहेका छन् भनी गहन रुपमा अध्ययन विश्लेषण गर्न जरुरी छ ।
झण्डै एकचौथाइ जनसंख्या गरिबीको रेखामुनि भएको, गरिब बालबालिका पढ्ने सरकारी विद्यालयको न्यून गुणस्तर रहेको, ग्रामीण क्षेत्रमा दयनीय स्वास्थ्य सेवा तथा बेरोजगारजस्ता समस्या समाधान गरी उच्च आर्थिक वृद्धिदर हासिल गर्दै जाने काम अति कठिन छ । सामान्य र साधारण क्षमता भएका प्रधानमन्त्री र मन्त्रीहरूले यस्तो कठिन काम गर्न सक्दैनन् । असल प्रधानमन्त्री र असल मन्त्री उत्पादन गर्ने थलो पार्टी नै हुन् । राष्ट्र निर्माणजस्तो कठिन कार्य गर्नसक्ने क्षमता भएका नागरिकको खोजी गर्न हरेक पार्टीले आआफ्नो विधान संशोधन गर्नुपर्ने स्थिति आइसकेको छ र गत ३३ वर्षको अनुभवले यही प्रमाणित हुन्छ ।
क्याटेगोरी : समाचार, फरक मत
ट्याग : #Page 1
ताजा अपडेट
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया