पुटिनको भविष्य कसरी युक्रेन युद्धसँग जोडिएको छ ?
काठमाडौं,सरकारी स्वामित्वको रुसी टेलिभिजनमा तीन वर्ष अघि सुनेको एउटा कुरा म सम्झिरहन्छु।
त्यसबेला रुसीहरूलाई संविधानमा गरिएको परिवर्तनलाई समर्थन गर्न आग्रह गरिएको थियो जसले भ्लादिमिर पुटिनलाई अर्को १६ वर्षसम्म सत्ता सम्हाल्ने ढोका खुला गरिदिने थियो।
सर्वसाधारणहरूलाई मनाउनका लागि समाचार वाचकले राष्ट्रपति पुटिनलाई विश्वव्यापी अशान्तिको आँधीबेहरीकाबीच राम्रोसँग रुसी पानीजहाज हाँकिरहेका कप्तानका रूपमा चित्रण गरेका थिए।
”रुस स्थिरताको स्वर्ग हो, सुरक्षित स्थल हो,” उनले भने। ”पुटिन नभएको भए हाम्रो अवस्था कस्तो हुने थियो?”
सन् २०२२को फेब्रुअरी २४ तारिखमा भने क्रेमलिनका कप्तानले आफैले बनाएको आँधीमा यात्रा थाले।
युक्रेनमाथि पुटिनले थालेका आक्रमणले रुसको छिमेकी राष्ट्रमा मृत्यु अनि विनाश निम्त्याएको छ। उक्त युद्धका कारण ठूलो सङ्ख्यामा रुसका सैन्य अधिकारीहरूले पनि ज्यान गुमाएका छन्। कतिपयले मारिएका रुसी सैनिकहरूको सङ्ख्या हजारौँ हुनसक्ने आकलन गरेका छन्।
रुसी सेनामा लाखौँ सर्वसाधारणलाई सामेल हुन बाध्य पारिएको छ भने रुसमा बन्दी बनाइएकाहरू (ज्यान मारेको मुद्दामा दोषी ठहर गरिएकाहरू सहित)लाई समेत युक्रेन युद्धमा होमिनका लागि भर्ती गरिएको छ।
युद्धले विश्वभर ऊर्जा र खाद्यान्नको मूल्यमा प्रभाव पारेको छ र यसले युरोप अनि विश्वव्यापी सुरक्षालाई खतरामा पारेको छ।
र यी सबै समस्याहरू निकै विशाल छन्।
रुसका राष्ट्रपतिले आखिर किन युद्धको बाटो अनि भूगोल जित्ने मार्ग तय गरे?
‘‘रुसमा सन् २०२४को राष्ट्रपतीय निर्वाचन नजिकिँदै गएको छ,’’ राजनीतिक विश्लेषक एक्याटरीना सुलमन भन्छिन्।
‘‘उक्त मतदान भन्दा दुई वर्ष अघि [क्रेमलिन] केही घटनामा विजयी हुन चाहन्थ्यो। सन् २०२२मा उनीहरूले त्यो लक्ष प्राप्त गर्ने थिए। सन् २०२३मा समस्याले भरिएको सागरमा सबल रूपमा पानीजहाजको कप्तानी सम्हाल्ने मात्र नभएर नयाँ अनि समृद्ध तट तर्फ डोराउने कप्तान पाउनुमा रुसीहरू कति भाग्यमानी थिए भन्ने कुरा उनीहरू महसुस गराउन चाहन्थे। त्यसपछि सन् २०२४मा सर्वसाधारणले मतदान गर्ने थिए। यस्तो अवस्थामा के गलत हुन सक्थ्यो र?’’
तपाईँका योजनाहरू गलत धारणा र गलत गणनाहरूमा आधारित छन् भने तपाईँ सम्पूर्ण रूपमा गलत हुनसक्ने सम्भावना पर्याप्त रहन्छ।
क्रेमलिनले उसको ‘‘विशेष सैन्य कारबाही’’ निकै तीव्र गतिमा सम्पन्न हुने अपेक्षा गरेको थियो। केही सातामै युक्रेन फेरि आफ्नो प्रभावमा पर्ने उसले अपेक्षा गरेको थियो।
पुटिनले युक्रेनको प्रतिरोध गर्नसक्ने क्षमता अनि किएभलाई समर्थन गर्ने पश्चिमा राष्ट्रहरूको प्रतिबद्धतालाई निकै कम आँकेका थिए।
यद्यपि रुसका नेताले आफूले युक्रेनमाथि आक्रमण गरेर गल्ती गरेको स्वीकार गरेका छैनन्। पुटिनको तरिका भनेको डटिरहने, युद्ध चर्काइरहने अनि खतरा बढाइरहने हो।
र यसले दुई वटा मुख्य प्रश्न उब्जाउँछ: एक वर्ष भइसकेको युद्धको अवस्थालाई भ्लादिमिर पुटिनले कसरी हेरेका छन् अनि युक्रेनमा उनको नयाँ रणनीति के हुने छ?
यो साता भएका गतिविधिले त्यसबारे हामीलाई केही सङ्केत दिएका छन्।
यसै साता राष्ट्रका नाममा उनले गरेको सम्बोधन पश्चिमा राष्ट्र विरोधी अभिव्यक्तिले भरिएको थियो। युक्रेन युद्धका लागि उनले अमेरिका र नेटोलाई दोष लगाउन जारी राखेका छन्। रुसलाई भने उनले निर्दोष पक्षका रूपमा चित्रण गरिरहेका छन्।
अमेरिका र रुसबीचको ‘न्यू स्टार्ट’ भनिने अस्त्र घटाउने सम्बन्धी एक रणनीतिक सन्धिबाट आफ्नो सहभागिता रद्द गर्ने पुटिनको निर्णयले युक्रेन युद्धबाट पछि नहट्ने वा पश्चिमा राष्ट्रहरूसँगको गतिरोध अन्त्य गर्ने उनको कुनै मनसाय नभएको देखाएको छ।
‘‘प्रतिरोधको सामना गर्नु नपरे उनी जतिसक्दो अघि बढी नै रहने छन्,’’ राष्ट्रपति पुटिनका पूर्व आर्थिक सल्लाहकार आन्ड्रेइ इलेरियोनोभ भन्छन्। ‘‘उनलाई रोक्न सैन्य प्रतिरोध बाहेक अन्य कुनै बाटो छैन।’’
के पुटिनसँग शान्ति वार्ता गर्न सम्भव छ?
‘’जो कसैसँग पनि वार्तामा बस्न सम्भव छ,’’ इलेरियोनोभ भन्छन्। ‘’तर पुटिनसँग बसेर उनीसँग सम्झौता गरेको हामीसँग ऐतिहासिक रेकर्ड छ।‘’
‘‘पुटिनले ती सबै दस्ताबेजका प्रावधानहरू उल्लङ्घन गरे। स्वतन्त्र राष्ट्रहरूको राष्ट्र मण्डल गठन सम्बन्धी सम्झौता, रुस र युक्रेनबीचको द्विपक्षीय सम्झौता, रुस र युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाबारे सन्धि, संयुक्त राष्ट्रसङ्घको बडापत्र, सन् १९७५को हेल्सिन्की ऐन, द बुडापेस्ट मेमोरेन्डम (ज्ञापनपत्र) लगायत। त्यस्तो कुनै दस्ताबेज नै छैन जसको उनले उल्लङ्घन गरेका छैनन्।’’
राष्ट्र प्रमुखका रूपमा उनका सुरुवाती वर्षहरूमा पुटिनले नेटोलाई खतराको रूपमा हेरेका थिएनन्। सन् २०००मा उनले रुस उक्त सैन्य गठबन्धनको सदस्य बन्न सक्ने कुरालाई समेत नकारेका थिएनन्।
दुई वर्ष पछि नेटोमा सामेल हुने युक्रेनको अभिप्रायबारे प्रतिक्रिया माग्दा पुटिनले भनेका थिए: “युक्रेन एक सार्वभौम राज्य हो र आफ्नो सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने कुरा आफैले छनौट गर्ने उसलाई अधिकार छ …” उनले उक्त मुद्दाले मस्को र किएभबीचको सम्बन्धलाई धूमिल नपार्ने कुरामा जोड दिएका थिए।
सन् २०२३मा आइपुग्दा पुटिन निकै भिन्न पात्र बनेका छन्।
उनका भाषण अनि टिप्पणीहरू सुन्दा आफू कुनै आकार वा स्वरूपमा रुसी साम्राज्य पुनः निर्माण गर्नका लागि जन्मिएको उनले विश्वास गर्ने गरेको भान हुन्छ।
तर त्यसको रुसले कति मूल्य चुकाउनुपर्छ त?
राष्ट्रपति पुटिनले कुनै बेला देशमा स्थायित्व ल्याएका कारण प्रतिष्ठा कमाए। त्यो सैनिकहरूको बढ्दो सङ्ख्या, परिचालन र आर्थिक प्रतिबन्धहरूको बीचमा हराएको छ।
युद्ध सुरु भएदेखि लाखौँ रुसीहरूले देश छोडेका छन्। त्यस्तो गर्नेमा धेरै युवा, दक्ष जनशक्ति र शिक्षित मानिसहरू छन्। यस्तो जनशक्ति बाहिरिनुले रुसको अर्थतन्त्रलाई अझ बढी चोट पुर्याउनेछ।
अचानक भएको युद्धका कारण रुसमा हाल त्यस्ता कैयौँ समूहहरू छन् जोसँग बन्दुक छ। त्यसमा भाडाका सैनिक परिचालन गर्ने वाग्नर समूह र क्षेत्रीय बटालियन पनि समावेश छन्।
देशका सशस्त्र निकायहरूसँगको सम्बन्ध सुमधुर छैन। रुसको रक्षा मन्त्रालय र वाग्नरबीच सार्वजनिक रूपमै देखिएको मतभेदले त्यहाँका कुलिन वर्गबीचको समस्या देखाएको छ।
अस्थिरता र भाडाका सैनिक एउटा खतरनाक सम्मिश्रण हो।
“गृहयुद्धले रुसलाई अर्को दशकसम्म ढाक्ने सम्भावना छ,” मस्कोको पत्रिका नेजाभिसिमाया गजेटाका लगानीकर्ता तथा सम्पादक कोन्स्टेन्टीन रेम्चुकोभले भने। “त्यस्ता धेरै स्वार्थ समूहहरू छन् जसले यस्ता परिस्थितिमा सम्पत्ति पुनः वितरण गर्ने मौका भएको कुरा बुझेका छन्।”
“गृहयुद्धबाट बच्ने मौका पुटिन लगत्तै सही व्यक्ति सत्तामा आए मात्र हुनेछ। त्यस्ता व्यक्ति जसको देशका सम्भ्रान्त वर्गहरूमाथि पकड छ र परिस्थितिको फाइदा उठाउन चाहनेहरूलाई अलग गर्ने दृढता।”
“के रुसी सम्भ्रान्तहरूले त्यसकालागि सही पुरुष वा महिला को हुनसक्छ भनेर छलफल गरिरहेका छन्?” मैले कोन्स्टेन्टीनलाई सोधेँ।
“चुपचाप। बत्ती निभाएर। उनीहरू यसबारे छलफल गर्छन्। उनीहरूको पक्कै आवाज हुनेछ।”
“के पुटिनलाई थाहा छ यी छलफलहरू भइरहेका छन्?”
“उनलाई थाहा छ। मलाई लाग्छ उनलाई सबै थाहा छ।”
यसै साता रुसको संसद्को तल्लो सदनका सभामुखले घोषणा गरे: “जबसम्म पुटिन छन्, तबसम्म रुस रहन्छ।”
यो वफादारीको कथन थियो, वास्तविकता होइन।
रुस टिकी राख्नेछ – शताब्दीयौं देखि उ त्यस्तो गर्न सफल भएको छ। यद्यपि भ्लादिमिर पुटिनको भाग्य भने अब युक्रेनको युद्धको नतिजासँग अपरिवर्तनीय रूपमा जोडिएको छ। (बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया