Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल घरेलु तथा साना उद्योग महासंघको औद्योगिक प्रदर्शनीहरु स्थगित

नेपाल घरेलु तथा साना उद्योग महासंघको औद्योगिक प्रदर्शनीहरु स्थगित


काठमाडौं, चैत ५
पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । महासंघले घोषणा गरेको कार्यक्रमअन्तर्गत चैत १४, १५, १६ गते राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु स्थगित भएका छन् । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सवलगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरेको भन्दै महासंघले आफ्ना घोषित कार्यक्रमहरु स्थगित गरेको बताएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ ।

कोरोना भाइरसका कारण नेपालको औद्योगिक क्षेत्र, पर्यटन व्यवसाय तथा सानो पुँजीमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु धाराशायीमा परेको तथा भ्रमण वर्ष २०२० समेत स्थगनमा परेको छ । संक्रमणको त्रासले नेपालको औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको भन्दै महासंघले छिमेकी राष्ट्र भारतसँग जोडिएका चार वटा नाका मात्र खोलेकोले उद्योग क्षेत्रलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा असर परिरहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए । यसैगरी नेपालको औद्योगिक क्षेत्रमा कार्यरत विदेशी श्रमिकहरु सुरक्षाका लागि आफ्नो मुलुक फर्किएका र स्वदेशी जनशक्ति समेत सुरक्षित स्थानतर्फ लागेकाले उद्योग क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको उनले बताए ।

कच्चा पदार्थ, जनशक्तिको अभाव, सन्त्रासको वातावरणका कारण उत्पादकत्वमा कमी भई नेपालको औद्योगिक क्षेत्रमा विचलन आएको भन्दै महासंघले यस्तै अवस्था अरु केही समय रहेमा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रलाई असर पारेता पनि उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई पारिश्रमिक दिइनुपर्ने, प्रशासनिक खर्च भइरहने र बैंकको ब्याज लागिरहने भएकाले उद्योग क्षेत्र खास गरेर लघु, घरेलु तथा साना उद्योगीहरु मर्माहत भएको महासंघले जनाएको छ ।

कोरोना भाइरसबाट पीडित लघु, घरेलु तथा साना उद्योगका लागि विभिन्न व्यवस्था गरिदिन नेपाल सरकारसँग महासंघले आग्रह गरेको छ । कोरोना संक्रमण अवधिमा लागेको बैंकको ब्याज तथा हर्जाना छुट हुनुपर्ने तथा चैत मसान्तसम्म बुझाउनुपर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को तीन महिनाका लागि थप गर्नुपर्ने महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x