Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबै जिल्लाका नागरिकहरुले काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र पाउने

सबै जिल्लाका नागरिकहरुले काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र पाउने


काठमाडौं । अब देशभरिका नागरिकहरुले काठमाडौं उपत्यकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवश्था भएको छ । उपत्यका बाहिर स्थायी ठेगाना भएका व्यक्तिहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्रका केही स्थानहरू तोकिदिएको छ।

बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौं र ललितपुरमा गरी विभिन्न पाँच स्थानमा परिचयपत्र विवरण दर्ता स्टेसन स्थापना गरेको जानकारी दिएको छ ।

हाल देशभरिका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिन्छ।

उपत्यका बाहिरका सेवाग्राहीहरूलाई अत्यावश्यक पर्दा सजिलो प्रदान होस भनी सरकारले उपत्यका भित्र केही स्थान तोकेको हो। सरकारले तोकेको दर्ता स्थानमध्ये जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन्। त्यसकारण विभागले सकेसम्म आ(आफ्नो स्थायी ठेगाना भएका जिल्ला प्रशासन तथा इलाका कार्यालयहरूबाट नै विवरण दर्ता गराउन अनुरोध पनि गरेको छ।

नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा कोसी, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाहरु र मधेश प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।

जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर(पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्। प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिन सक्ने जनाइएको छ।

राष्ट्रिय परिचयपत्र बनाउन चाहिने आवश्यक कागजहरू यसप्रकारका छन् ।
१. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
२. विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने सक्कल प्रमाणपत्र
३. बसाई सरी आएकाको हकमा बसाई सराईको सक्कल प्रमाणपत्र
४. कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्माचारी भए पेन्सनपट्टाको कागज
५. राष्ट्रसेवक कर्मचारीका परिवारको लागि यीसँगै कर्मचारीको परिचयपत्रको प्रतिलिपी पनि चाहिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया