कुमाल समुदायको पेशा लोप हुँदै
पर्वत । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ । सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो ।
वि.सं. २०४२/४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प खोज्न थालेका हुन् ।
उनीहरुले विकल्प खोजेसँगै माटाका भाँडामा कुमालले भर्ने कलात्मक बुट्टा लगायतका सिर्जनात्मक सीपसमेत लोप हुँदै गएको हो । जीजुबाजेका पालादेखि वि.सं. २०४२/४३ सम्म माटोका हुण्डा, घैँटो, गलौंसा, आरी, ठेकी, दियो, पाला, भुड्का लगायतका भाँडाकुडा बनाउँदै आएका कुश्मा नगरपालिका–८ निवासी छविलाल कुमाल, चन्द्रकोटे कुमाल, बमबहादुर कुमाल र दुर्गाबहादुर कुमाल यतिबेला छैनन् ।
उनीहरुसँगै माटाका भाँडा बनाउने गरेका ९० वर्षका बुधे कुमाल भने हालसम्म जीवितै रहेका छन् । उनीहरुको सीप र कला नयाँ पुस्ताले जीवित राख्ने कुरामा भने शङ्का गर्ने ठाउँ उब्जिएका छन् । परिश्रम धेरै गर्नुपर्ने तर परिश्रमअनुसारको मूल्य नपाइने भएकाले बाउ बाजेको पेशा धान्न मुस्किल परेको छविलालका छोरा भीमबहादुरले राससलाई बताए ।
“माटाका भाँडा बनाउन माझमेलाबाट ल्याएको कालो चाम्रो माटो, खरेहा फलाम खानीको रातो माटो र कालीगण्डकीबाट ल्याएको बालुवा मुछेर, कुटेर चाम्रो बनाइ थमारेर औंडी बनाइ पोल्ने गरिन्थ्यो, औँडीका लागि सुकेका दाउरा, गुईंठा, हाडेउन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ”, कुश्मा–८ निवासी ८० वर्षीय चन्द्रबहादुर कुमालले भने, “अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन् ।”
उनका अनुसार तत्कालीन समयमा कुमालले बनाएका माटाका भाँडा भोटबाट आएका भोटेले बास बसेर किनेर लग्ने गर्दथे । माटाका भाँडा स्थानीय गाउँघरमा केही मात्रामा बिक्री भए पनि ठूलो बजार भने भोटबाट आउने भोटेले नै गर्दथे ।
परिवारको सङ्ख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुने भएकाले पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेपछि यो पेशा झनै सङ्कटमा परेको भीमबहादुरले बताए ।
तत्कालीन समयमा कुश्मेली कुमालको जग्गा–जमिन प्रशस्त भएको र आकर्षक कमाइ अन्य पेशाबाट हुने भएकाले उनीहरु यो पेशाप्रति लालायित हुन नसकेको उनले बताए । पछिल्लो समय वैदेशिक रोजगारप्रति स्थानीय कुमाल समुदाय आकर्षित हुँदै गएकाले भाँडा बनाउने पेशासँगै उनीहरुको सीप, कला पनि लोप हुँदै गएको हो ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया