Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा लड्ने तयारी

उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा लड्ने तयारी


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने तयारी गरेका छन्। सोही ठाउँबाट उपेन्द्र यादव आफू उपनिर्वाचनमा लड्ने बताएका छन्।

८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति भएको हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो। हाम्रो पार्टीबाट रामसहायजी उपराष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छ। औपचारिक निर्णय गर्न मात्रै बाँकी हो, जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘रामसहायजी चुनाव जितेको क्षेत्रमा अध्यक्षले उपनिर्वाचन लड्नुहुन्छ।’ उनले भने ।

जसपाको तर्फबाट उपराष्ट्रपति बन्ने तयारीमा रहेका रामसहायप्रसाद यादवले तत्कालीन ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुसहवालाई झिनो मतले पराजित गरेका थिए।

८ दलबीच भएको सहमतिअनुसार रामसहाय उपराष्ट्रपति हुने त्यो क्षेत्रमा उपनिर्वाचन हुँदा अध्यक्ष यादवले जित्ने सम्भावना रहेको पनि उनले बताए। चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

गत मंसिर ४ मा भएको चुनावमा अध्यक्ष यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने चर्चा थियो। नेकपा एमालेसँग गठबन्धन गरेको जसपाले अध्यक्ष यादवलाई सप्तरीमा उम्मेदवार बनाएको थियो।

पार्टीले उपराष्ट्रपति पाए पनि कसलाई पठाउने निर्णय गरिनसकेको सांसद रामसहायप्रसाद यादवले बताए। ‘उपराष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छैन। छलफल गरेर उम्मेदवार तय हुन्छ,’ उनले भने, ‘मैले बन्ने, नबन्ने भनेर हुने होइन । पार्टीले के निर्णय गर्छ त्यसमै भर पर्छ।’

जसपाभित्र सांसद रामसहायप्रसाद यादवमात्र एउटा यस्तो नेता हुन् जसले कहिले पनि अध्यक्ष उपेन्द्र यादवको विपक्षमा उभिएर कुरा गरेनन् । पार्टी स्थापना भएदेखि उनी सधैं एकनासले पार्टी अध्यक्षको साथमा रहेका छन् । त्यसैले यादवले आफ्ना विश्वासपात्र रामसहायलाई उपराष्ट्रपति बनाएर आफू बारा क्षेत्र नम्बर २ बाट उपचुनावमा लड्ने तयारी गरिरहेका छन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया