Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअनुत्पादक क्षेत्रमा बैंकहरूको कर्जा लगानी बढ्यो

अनुत्पादक क्षेत्रमा बैंकहरूको कर्जा लगानी बढ्यो

व्यक्तिगत आवास र घरजग्गामा मात्र झण्डै छ खर्ब रुपैयाँ कर्जा


काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रतर्फको कर्जा प्रवाहमा जोड दिए पनि अनुत्पादक क्षेत्रमा बैंकहरुको कर्जा लगानी बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार अनुत्पादक क्षेत्रको रुपमा लिइँदै आएको व्यक्तिगत आवास अर्थात् होम लोन र घरजग्गा अर्थात् रियलस्टेट क्षेत्रमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा पाँच खर्ब ७४ अर्ब सात करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसरी प्रवाह भएको कुल कर्जामध्ये व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ४८ अर्ब ५५ करोड ८० लाख र रियलस्टेट क्षेत्रमा दुई खर्ब २५ अर्ब ५१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुले होम लोनतर्फ दुई खर्ब ८३ अर्ब ८८ करोड ४० लाख र रियलस्टेटतर्फ एक खर्ब ९४ अर्ब आठ करोड ९० लाख रुपैयाँ समेत गरी उक्त शीर्षकमा कुल चार खर्ब ७७ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

विकास बैंकहरुले भने यस अवधिमा होमलोनतर्फ ५३ अर्ब ४२ करोड ३० लाख र रियलस्टेटतर्फ २१ अर्ब ४७ करोड रुपैयाँ समेत गरी कुल ७४ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरुले भने यस अवधिमा होमलोन शीर्षकमा ११ अर्ब २५ करोड २० लाख र नौ अर्ब ९५ करोड १० लाख रुपैयाँ समेत गरी कुल २१ अर्ब २१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैैंकका अनुसार २०७९ पुस मसान्तसम्ममा व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा रकम २०७८ पुस मसान्तको तुलनामा ३० अर्ब ३७ करोड ८० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले यी दुई शीर्षकमा कुल पाँच खर्ब ४३ अर्ब ६९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसअन्तर्गत वाणिज्य बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा दुई खर्ब ७८ अर्ब १९ करोड र रियलस्टेट क्षेत्रमा एक खर्ब ८० अर्ब ७८ करोड ६० लाख रुपैयाँ गरी कुल चार खर्ब ५८ अर्ब ९७ करोड ६० लाख कर्जा प्रवाह गरेका थिए ।

यसैगरी सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरुले होमलोन शीर्षकमा ४५ अर्ब ५१ करोड ८० लाख र रियलस्टेट क्षेत्रमा २१ अर्ब ४४ करोड ८० लाख रुपैयाँ समेत गरी कुल ६६ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुले भने उक्त अवधिमा होम लोन शीर्षकमा नौ अर्ब ६९ करोड ५० लाख र घरजग्गा शीर्षकमा आठ अर्ब छ करोड रुपैयाँ समेत गरी कुल १७ अर्ब ७५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया