Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद१६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

१६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा


काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा हुन लागेको १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रमअनुसार संघको आयोजनामा मंगलबारदेखि गोकर्ण गल्फ रिसोर्टमा च्याम्पियनसिप हुन लागेको छ । च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्  । त्यसमा नेपालका सबैभन्दा बढी १९ खेलाडीको सहभागिता रहने संघका अध्यक्ष राजिवक्रिम शाहले जानकारी दिए ।

उनका अनुसार छनोट प्रतियोगिताबाट छानिएका १९ खेलाडीलाई संघले बन्द प्रशिक्षणमा राखेको छ । च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्षमुनिका जुनियर महिलाातर्फ छ किलोमिटर र २० वर्षमुनिका जुनियर पुरुषतर्फ आठ किलोमिटर गरी चार विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा चार र बाँकी सबै इभेन्ट्समा समान पाँच खेलाडीले च्याम्पियनसिपमा भाग लिनेछन् ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद्, सुदूरपश्चिम खेलकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटीभी प्लसको सहयोग रहेको छ । त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट रहेका छन् ।

२२ वर्षपछि संघलाई यो च्याम्पियनसिप आयोजना गर्ने मौका दिएकोमा संघले एसियन एथलेटिक्स एसोसिएसन र एसोसिएसनका अध्यक्ष जेनेरल दालान अ हमादलाई धन्यवाद समेत दिएको छ । च्याम्पियनसिप सञ्चालनका लागि एसोसियसनका अध्यक्ष अध्यक्ष दालानसहितअन्य प्राविधिकहरु नेपाल आइसकेको शाहले जानकारी दिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया