संस्कृतिमा विचलन र पराशर गीताको रहस्य
काठमाडौं । हिजोआज धार्मिक काम देखाएर पनि थाल थाप्ने गरिएको छ । सप्ताहका नाममा, सत्संगका नाममा, विभिन्न अन्य अनुष्ठानहरूका नाममा पनि व्यापार हुने गरेको छ । विशुद्ध सेवाको भावभन्दा पैसामुखी यस्ता कर्महरूले व्यक्ति, समूह, समाजलाई सकारात्मक ऊर्जा र परिणाम दिएको अवस्था छैन । धार्मिक कार्यहरूमा भावनात्मक शुद्धता चाहिन्छ, भनौँ सबै कर्ममा यस्तो शुद्धता आवश्यक हुन्छ । हाम्रासामु विषम परिवेशहरू धेरै छन्, कोरोना, डेंगो, दुर्घटना, बजारको विकराल अवस्था भनौँ हामीलाई हरबेला रोग, भोक र शोकले सताएको छ । दशैँ माने धेरैले मासु चपाएर कतिको त अकाल मृत्यु पनि भयो घाँटीमा अड्केर, कसैले भान्सामा अग्निदाह गरिरहेका छन् भने कतिले जलन भएका छन् भनौँ आगजनीका विविध घटनाहरूबाट । हवाई दुर्घटनाले जलेर यो संसार छोड्नेको संख्या पनि कम छैन । यस्ता विपतिबाट मृत्युवरण गर्नेहरूको आत्मशान्तिका लागि पनि धेरै धार्मिक अनुष्ठानहरू हुनेगरेका छन् । तर शास्त्रले निषेध गरेका कर्महरूले भने सोचेको उद्देश्य प्राप्ति हुँदैन । यसका लागि तत्तत् प्रावधानहरूको अनुशरण जरुरी छ । धार्मिक कार्य भन्नु प्रदर्शन होइन नितान्त दर्शन हो ।
पराशर गीताको प्रसङ्गमा प्रवेश गरौँ, हाम्रो वेदभूमिका ऋषि पराशर र हाम्रै धर्मभूमिमा राज गर्ने राजा जनकबीचको संवाद पराशर गीता हो । गीतामा भनिएको छ, ‘डरपोक क्षत्रीय, जे पायो त्यही खाने ब्राह्मण, बेरोजगार वैश्य र अल्छी शुद्र भएको देश कहिल्यै उँभो लाग्दैन । शील नभएको विद्वान्, सदाचार नभएकी स्त्री, विषयाशक्त योगी, नियम, कानुन नभएको राज्य, व्यक्तिगत पोषणका लागि खाना बनाउने व्यक्ति, तत्कालै परिणाम खोज्ने स्वार्थी व्यक्तिको समूह, मूर्ख वक्ता, अराजक नेतृत्व, इन्द्रिय नजितेका नागरिक, जनता रक्षा गर्न नसक्ने, महंगी, कालोबजारी, घुसखोरी नियन्त्रण गर्न नसक्ने र सीमा सुरक्षा गर्न नसक्ने सरकार यी सबै शोकका संकेतहरू हुन् । जहाँ जनता शोकले डुब्छन्, शवको ताँती लाग्न थाल्छ, औषधोपचार हुन्न, स्त्रीको अस्मिता लुटिन्छ, व्यभिचारीको संख्या बढ्छ, त्यस्तो वातावरणमा रहनु भनेको मृत्युलाई अगाडि बोलाउनु हो, जंगली जनावरका बीच, सर्पको आसनमा बसेसरह हो ।’
आयु दूर्लभ छ, आत्मालाई कसैले क्षीण गर्न दिनु हुन्न । पुण्य र सुकर्मले दिनरात दुवै उज्यालो हुन्छ । अन्जानको पापलाई तप र दानले कटाउन सकिन्छ । दाग नभएको कपडा धुँदा मात्र सफा देखिन्छ, कालो दाग लागेको कपडा साबुन, पानीले सफा गर्न सक्दैन, मानिसमा पनि त्यही लागू हुन्छ । अन्जानको हिंसालाई अहिंसाको ब्रतले कटाउन सकिन्छ, जानेर गरेको हिंसाले व्यक्ति र देशलाई पोलिरहन्छ । नेतृत्वले जहिले पनि न्यायपूर्वक देश सञ्चालन गर्नुपर्छ, हरतरहले नागरिकलाई सुरक्षित राख्नु पर्छ, राज्य नागरिकको अभिभावक हो, करको रूपमा चुसेर उसलाई निमोठ्नु हुन्न, न नानाथरिका प्राकृतिक र मानवनिर्मित दुर्घटनाबाटै ।
सत्य बोल्ने व्यक्तिले दिएको दान र तपको सदैव सम्मान र पूजा गर्नुपर्छ । चरित्र ठीक हुनेले प्रतिग्रहको दोष बोक्नु पर्दैन । विद्या भन्नु र तप भन्नु एकै हो जसले जीवनलाई जीवन्त बनाउँछ । न्यायले धन आर्जन गर्ने भनौँ नीतिले कमाउने, रीतिले बाँच्ने र प्रीतिले सबैलाई बाँच्न दिने, यो धर्म हो, मन्दिरमा पाठ, पूजा मात्रै धर्म होइन, भोकालाई खाना दिनु पनि ठूलो धर्म हो । मन्दिरमा सुन चढाउने तर मन्दिर बाहिरकालाई लात हान्ने गर्नु धर्म हुन्न । क्रुर कर्मले कमाइएको धनले सुख दिँदैन, शान्ति हुन्न, आनन्द त परैको कुरा हुन्छ । प्रत्येक व्यक्तिले जन्मैदेखि आर्जित ऋषि, देव र पितृ ऋण चुक्ता नै गर्नुपर्छ, त्यो चुक्ता स्वाध्यायबाट हुन्छ । संसारका सबै प्राणी मानिसका लागि मित्रवत् छन्, बाँच्न पाउने अधिकार सबैको हुन्छ । अतिथि सेवा, मातृ पितृ सेवा, देव, गुरुहरूको सेवा, साधुसन्तको सेवा मानिसको परम कर्तव्य नै हो । छोराछोरीको शिक्षा, दीक्षा, विवाह आदि कर्मले उनीहरूको ऋण चुक्ता हुन्छ भने माता, पिताको ऋण उनीहरूको यथोचित लालनपालन, मृत्यु संस्कारका कामबाट चुक्ता हुन्छ । आदर्श परिवारले आफ्ना छोरा छोरीलाई उचित शिक्षा दिई सकेसम्म उनीहरूलाई ऋणभारमा राख्नु हुँदैन ।
धनका लागि कहिल्यै परापूर्वदेखिको धर्म छोड्नु हुन्न, कष्ट सहेर पनि अरुको निन्दा नगर्ने, धर्माचरण गर्ने व्यक्ति देवतुल्य हुन्छ । जहिले पनि असल गुणको पछि लाग्ने गर्नुपर्छ, अरुको दोषको पछि लाग्नु हुन्न । जस्ताको संगत ग-यो व्यक्तिमा त्यही गुण सर्छ । आलु रोपेर आँप, आँपको बीउ रोपेर आलु फल्दैन । जीवनमा सुख र दुःख दुवै आउँछ, सुखमा मात्तिने र दुःखमा आत्तिने गर्नुहुन्न । सिक्काका दुई पाटा हुन्छन्, नदीका दुई किनारा हुन्छन् । बाल्य जीवन सत्य युग हो, यौवन जीवन त्रेता हो, वयस्क जीवन द्वापर हो, बुढ्यौली जीवन कलियुग हो । वृद्धा अवस्थामा घर परदेश भएझैँ कलिमा धर्ममा विभिन्न चुनौतीहरू आइपर्छन्, धर्म गर्नेभन्दा नगर्नेको बाहुल्यता धेरै हुन्छ, धर्म लङ्गडो हुन्छ कलिमा । एक खुट्टा मात्रै चलेजस्तो हुन्छ, सत्य युगमा चार पाउ, त्रेतामा तीन पाउ र द्वापरमा धर्मको दुई पाउ हुन्छ । अर्थात् धर्मको स्वरूप नै भनौँ बाटो घट्दै आएको हुन्छ । बचपनमा मातापिता, युवा अवस्थामा असल जोडी, वृद्धा अवस्थामा गुरु र गोविन्द साथमै हुनुपर्छ । एक हातले ताली बज्दैन, दिनको महत्व रातले दिन्छ तर रात भनेको कली नै हो जसलाई अँध्यारो भनौं अज्ञान भनिन्छ । अँध्यारोबाट उज्यालोतिर जान ज्ञानको भोको हुनुपर्छ, कोठामा आराम गरेर ज्ञान पाइँदैन, वर्षाको भेल रोक्न प्रयास नै गर्नुपर्छ । आकाशको पानी भर्न पनि भाँडोलाई बिर्को नलगाई उत्तानो पारेर राख्नुपर्छ ।
विद्वान्को सेवाले धर्म बढ्छ, धर्मले धन बढाउँछ, परिश्रम नगर्नेको हातमा लक्ष्मी खुसी हुन्नन् । दान गर्दा आडम्बर गर्नु हुन्न, दाहिने हातले दिएको दान देब्रे हातले थाहा नपाउँदा पनि हुन्छ, दुष्कर्म नगर्ने, गरिहाले प्रायश्चित गर्नुपर्छ । धन हुनेले आडम्बर गरेर दान गरे त्यसलाई लुटेरा भन्नुपर्छ, ढोँगी भन्नुपर्छ, फलको आशान गरी कर्म गर्नुपर्छ । कसैले याचना नगरी स्वेच्छाले गरेको दान र अन्य सुकर्मले परिणाम राम्रो दिन्छ । याचनापछिको दान मध्यम हो, अपहेलना गरी दिएको दान अधम हो । इन्द्रिय संयमले सबै जाति शुद्ध हुन्छन् । जीविकाका लागि ब्राह्मणले क्षत्रीय र वैश्यको काम गर्न सक्छन् तर कुलाचारको धर्म छोड्नु हुन्न । धर्म छोडी विधर्मी भए त्यसको दोष आफूले मात्रै होइन पुर्खा र आउने पुस्ताले पनि त्यसको फल भोग्नु पर्छ । धर्म छोड्दा घमण्ड बढ्छ, यसबाट क्रोध, क्रोधबाट सदाचार क्षीण हुन्छ, लोभ बढ्छ, त्यसपछि मोह बढ्छ, सबैथरि बढेपछि पाप बढ्छ, पाप भन्नु प्रदुषण हो धनको, तनको र मनको । यसले नराम्रो काम गर्न प्रेरित गर्छ, यो साइकल चक्र घुम्दाघुम्दै अनेकानेक जीवनसम्म पार पाउनै सकिन्न । नर जन्म बहुतै मुश्किलले पाइन्छ, चौरासी लाख जीवन व्यतीत गरेर फेरि मानवमा फर्कन लाखौँ वर्ष लाग्छ । यसै मानव जीवन पाएको बेला आफूले आफैँलाई उद्धार गरेन भने कहिले गर्ने ? अरुले उद्धार कसैले गरिदिने होइन । पुत्र, पुत्री, पद, प्रतिष्ठा, पैसा, परिवार शरीर रहुन्जेलका पाहुना हुन्, शरीर छोडेपछि तिनको केही अर्थ रहन्न । बिहान खाएको वस्तु साँझ दूषित भइसक्छ, बाहिर फाल्नु पर्छ, त्यही खानाले पोषित शरीर कसरी नित्य हुन सक्छ र ? कोरोनाले बालक, जवान केही भनेन, टपटप टिपेर लग्यो र अनायासै मृत्यको मुखमा पुग्नेहरूको कमी छैन अहिले । चाहे हाम्रै ग्यास सिलिन्डरले दिएको खतरनाक दृश्य वा भनौँ हालैको टर्कीले देखाएको हजारौँको जीवन समापन वा लाखौं बालबालिकाहरूको विस्थापनले के सन्देश दिएको छ हामीलाई ? मानवीय संवेदनशीलता हराउन दिन नहुने त पक्कै होला नि ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया