Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय बढी पीडित

महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय बढी पीडित


काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२२ मा पाँच हजार सात सय ४३ जना पीडित भएको जनाएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले चार हजार तीन सय ३९ जना महिला र एक हजार चार सय ४ जना बालिका पीडित भएको तथ्यांक प्रस्तुत गरेको हो ।

सन् २०२२ मा बेचबिखन तथा ओसारपसारका घटनामा २४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा तीन हजार ३१ जना, ‘बोक्सी’को आरोपमा २३ जना, बलात्कारका घटनामा छ सय पाँच जना, बलात्कार प्रयासका घटनामा एक सय ४५ जना, यौन दुव्र्यवहारका घटनामा ४२ जना महिला पीडित भएका अभिलेख राखेको प्रतिवेदनमा जनाइएको छ । ‘मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुनेगरेको छ । यसवर्ष परिवाजनबाट एक सय ११ जना महिलाको हत्या भयो । गतवर्ष यो संख्या एक सय १२ थियो’, प्रतिवेदनमा उल्लेख छ । भनेजति दाइजो नल्याएको आरोपमा एक जना महिलाको हत्या भयो भने सोही कारणले २५ जना महिला हिंसामा परेका अभिलेख भएको पनि इन्सेकले जनाएको छ । वैवाहिक बलात्कारका घटनामा १५ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी बलात्कारका घटनामा एक हजार नौ, यौन दुर्व्यवहारका घटनामा तीन सय २६, बेचबिखन तथा ओसारपसारका घटनामा ३९ जना र बालविवाहका घटनामा ३० जना बालिका पीडित भएका अभिलेख राखिएको इन्सेकले जनाएको छ । महिलासँग सम्बन्धित कानुनी प्रावधान एवं राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवं लैङ्गिक हिंसाबाट पीडित हुँदै आएको प्रतिवेदनमा उल्लेख छ । ‘महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन’, प्रतिवेदनमा भनिएको छ ।

दुई महिनामा ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित
पछिल्लो दुई महिनामा ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित भएको पाईएको छ । इन्सेकले सन् २०२३ को जनवरी, फेब्रुअरी र मार्च ७ सम्म ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित भएको जनाएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बुधबार अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश जारी गर्दै हिंसाको अवस्था सार्वजनिक गर्दै सो तथ्याङ्क सार्वजानिक गरेका हुन् । ‘देशभरिबाट सङ्कलित तथ्याङ्कका आधारमा गरेको अभिलेख अनुसार सन् २०२३ को जनवरीदेखि मार्च ७ सम्म बालिका र महिला गरी ३ सय ४९ जना पीडित भए’, विज्ञप्तिमा भनिएको छ । इन्सेकले यो अवधिमा १ सय १ जना बालिका र २ सय ४८ जना महिला पीडित भएका जनाएको छ । अभिलेखित घटना अनुसार बालविवाहका घटनामा पाँच जना, बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना, बलात्कारका घटनामा ७४ जना र यौन दुर्व्यवहारका घटनामा १९ जना बालिका पीडित भएका छन् । त्यसैगरी सन् २०२३ को यो अवधिमा घरेलु हिंसामा परी १ सय ९३ जना महिला पीडित भएको ईन्सेकले जनाएको छ । बहुविवाहका घटनामा १३ जना, बलात्कार प्रयासका घटनामा सात जना, यौन दुर्व्यवहारका घटनामा दुई जना, बलात्कारका घटनामा ३० जना र बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना महिला पीडित भएका घटना अभिलेख गरिएको छ ।

इन्सेकका अध्यक्ष डा. अर्यालले १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाली महिलालाई शुभकामना व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने कुनै पनि किसिमको हिंसा विरुद्ध शून्य सहनशीलता दर्शाउन सम्बन्धित सबैलाई आह्वान गर्दछौँ ।’


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया