Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीको सपना देख्दै कांग्रेस नेता पौडेल संवैधानिक राष्ट्रपति निर्वाचित

प्रधानमन्त्रीको सपना देख्दै कांग्रेस नेता पौडेल संवैधानिक राष्ट्रपति निर्वाचित


काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचन जित्नासाथ कार्यकारी प्रधानमन्त्रीको लागि लबिङ गरेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको सपना देख्दै राष्ट्रपति निर्वाचित भएका छन् ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पौडेलले गठबन्धनको तर्फबाट ३३ हजार आठ सय दुई मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित हुँदा एमालेका उम्मेदवार नेम्वाङले एमालेको घोषित मतभन्दा केही बढी मत ल्याएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा गरी एमालेको १५ हजार चार सय ७० मत भएकामा नेम्वाङले १५ हजार चार सय ७० मतभार प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसका नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा अब पुनः निर्वाचन हुनेछ । राष्ट्रपतिमा निर्वाचित भएपछि निर्वाचनअघिका सबै पद तथा नियुक्ति खारेज हुने संवैधानिक व्यवस्था छ । सोही कारण अब तनहुँ–१ मा पुनः प्रतिनिधिसभाका उपनिर्वाचन हुनेछ । पौडेललाई एमालेबाहेक गठबन्धनका सबै दलको मत परेको थियो । सत्तारुढ र प्रमुख प्रतिपक्षले मिलेर गठबन्धन गरेपछि एमाले एक्लै निर्वाचनमा होमिएको थियो ।

पौडेल गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन भएका हुन् । यसअघि डा. रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएका थिए । यादव एक कार्यकाल र भण्डारी दुई कार्यकाल राष्ट्रपति भए । बिहीबारको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख हुन् भने पराजित नेम्वाङ पनि पूर्वसभामुख एवं संविधानसभाका पूर्वअध्यक्ष हुन् ।

बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा तीन सय १३ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । राष्ट्रपतिको निर्वाचन पूर्वराजावादीहरुको पार्टी राप्रपाले बहिष्कार गरेको थियो ।

मतदानमा संघको एक र प्रदेशको चार मत बदर भएको थियो । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट भएको हो । राष्ट्रपति निर्वाचनमा सघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता कायम थिए । निर्वाचन समितिका अनुसार पौडेलले संघतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । प्रत्याशी नेम्वाङले संघतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिएको राससले जनाएको छ ।

सत्ता तथा विपक्षका नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएका पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र आयोगले बिहीबार नै दिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया