Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमले कोराना भाइरसबारे ग्राहकलाई जानकारी दिने

टेलिकमले कोराना भाइरसबारे ग्राहकलाई जानकारी दिने


काठमाडौं, चैत ७
नेपाल टेलिकमले जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनबाट कोरोना भाइरस (कोभिड–१९)बारे जानकारीमूलक उपयोगी सामग्रीबारे जानकारी गराउने भएको छ । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोराना भाइरसको नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुबारे जनचेतना फैलाउन कम्पनीले बिहीबारबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको जनाएको छ ।

सो अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् । यसैगरी कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न कम्पनीले ग्राहकसँग आग्रह गरेको छ । उक्त भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण र सोबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने जनाएको छ ।

साथै कम्पनीले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरसबारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनुपर्ने उपायहरु र अपनाउनुपर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुबारे जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमले गत असार महिनादेखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ । विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइनेहुनाले ‘एनटी सूचनाको संसार’ सेवाबाट ग्राहक लाभान्वित हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x