Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौँ’

‘अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौँ’


काठमाडौं । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानहरूको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २२औँ स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरूको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै कृषि विकास बैंकका पूर्वअध्यक्ष एवं सीईओ श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पदनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरूलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सहकारीमा समस्या मात्र छैनन्, उनले भने, सम्भावना बोकेका र आफूलाई सफल प्रमाणित गरेका सहकारीहरू पनि छन् यसको पहिचान गर्ने र भन्ने समय आइसकेको छ । सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उपाध्ययको जोड रहेको थियो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारीमार्फत सदस्य किसानहरूलाई प्रवाह गरेको ज्ञान, सीप, पुँजी, प्रविधि र सचेतनाले गरिब, पिछडिएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरूको नेतृत्व विकासमा ठूलो योगदान पुगेको बताए ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषणप्रति असन्तुष्टि जनाए । उनले जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्नेगरी भइरहेको प्रचारप्रसारले आफूहरूलाई नकारात्मक प्रभाव पारिरहेको बताए । उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्थामार्फत सदस्य किसानहरूलाई सेवा प्रदान गर्दै आइरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दाबी गरे । अहिले एक हजार चार सय ५९ साझेदार साना किसान कृषि सहकारीमार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै उनले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको स्पष्ट पारे ।

ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रित साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले समुदायमा पछाडि परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरूको आर्थिक सामाजिक रूपान्तरणमा काम गरिरहेको जानकारी गराए ।

किसानहरूको सहभागितामा किसानहरूकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरूमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अध्यक्ष पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । गरिब किसानहरूलाई धनी बनाउने, पछाडि परेकाहरूलाई मूलधारमा ल्याउने, सामाजिक सामुदायिक काममार्फत खानेपानी, सडक, सरसफाइलगायतका काममा साना किसानहरू गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको अध्यक्ष पाठकले दाबी गरे ।

कार्यक्रममा कृषि विकास बैंकका सीईयो गोविन्द गुरुङले नेपालको दूरदराजका किसानहरूलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले किसानहरूलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पदन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औँल्याए । सिईयो गुरुङले किसानहरूको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसँग मात्र कारोबार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले सदस्यहरूको क्षमता विकास गर्दै विशेषगरी युवाहरूलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिसने सम्भावना रहेको समेत बताए ।

यसैगरी कार्यक्रममा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरूको मूल्यांकन गरिनुपर्नेमा जोड दिए । उनले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजारभन्दा बढी घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दाबी गरे । उनले ७९ प्रतिशत महिला सदस्य रहनेगरी नेपालको दूरदराजमा साना किसान कृषि सहकारीहरू स्थापना भई सञ्चालनमा रहेको बताए । अहिले सहकारीमार्फत सदस्यहरूले एकल र सामूहिकरूपमा चिया, दुध, डेरी, तेल, चामललगायतका उद्यम सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा देशभर रहेका एक हजार चार सय ५९ साझेदार सहकारी संस्थामध्ये सर्वोउत्कृष्ट संस्थाका रूपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था लि. गुमी सुर्खेतलाई पुरस्कृत गरिएको छ । यसैगरी ११ वटा इलाका कार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रूपमा हेटौंडा इलाका कार्यालयलाई उत्कृष्ट इलाका कार्यालयका रूपमा पुरस्कृत गरेको छ । कार्यक्रमका लघुवित्त वित्तीय वित्तीय संस्था लि.का सञ्चालक, कर्मचारी, पत्रकार एवं विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरूकोे सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया