Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसात महिनाको अर्थतन्त्र :आयातको तुलनामा निर्यात कमजोर आठ खर्ब २५ अर्ब रुपैयाँको व्यापारघाटा

सात महिनाको अर्थतन्त्र :आयातको तुलनामा निर्यात कमजोर आठ खर्ब २५ अर्ब रुपैयाँको व्यापारघाटा


काठमाडों,मुलुकको निर्यात व्यापार कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी चालू आर्थिक वर्षको सात महिनाको प्रतिवेदनअनुसार मुलुकको निर्यात व्यापार र आयात दुवै घटेको छ । तर आयात घटेकै आधारमा पनि निर्यात व्यापार कमजोर हुँदा प्रत्येक महिना एक खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापारघाटा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७९÷०८० को सात महिनामा कुल वस्तु निर्यात २९ प्रतिशतले घटेर ९३ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव तीन प्रतिशतले बढेको थियो । चालू आवको पछिल्लो सात महिनामा कुल वस्तु आयात भने १९ दशमलव नौ प्रतिशतले घटेर नौ खर्ब १९ अर्ब १७ करोड कायम भएको छ । आयात घट्नु मुलुकको लागि राम्रो हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ दशमलव आठ प्रतिशतले बढेको थियो । सो अनुसार चालू आवको पछिल्लो सात महिनामा कुल वस्तु व्यापार घाटा १८ दशमलव सात प्रतिशतले कमी आई आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव सात प्रतिशत र १३ दशमलव चार प्रतिशतले घटेको देखिए पनि अन्य मुलुकतर्फको निर्यात आठ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढे पनि सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४ दशमलव तीन प्रतिशत र २२ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेसनरी सामानलगायतका वस्तुको आयात बढे पनि सवारीसाधन तथा स्पेयर पार्ट्स, औषधि, एम.एस. बिलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदीलगायतका वस्तुको आयात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।

निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको देखिएको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा निर्यात–आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २८ अर्ब १७ करोडबराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।

शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब रुपैयाँले बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको प्रतिवेदनअनुसार शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोड रुपैयाँले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब सात करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब एक करोड रुपैयाँले बचतमा रहेको छ । समीक्षा अवधिमा चालू खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ४५ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५ दशमलव दुई प्रतिशतले कमी आई पाँच अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको भाषामा भन्नुपर्दा निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालू खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।

सात महिनामा भित्रियो छ खर्ब ८९ अर्ब ८८ करोड रुपैया“
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् विप्रेषण आप्रवाह रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा विप्रेषण आप्रवाह २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ६५ दशमलव नौ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलव दुई प्रतिशतले वृद्धि भई सात खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलव सात प्रतिशतले घटेको थियो ।

१३ खर्ब ८३ अर्ब ३३ करोड रुपैया“बराबरको विदेशी मुद्रा सञ्चित
विदेशी मुद्राको सञ्चिति रकम बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आवको पछिल्लो सात महिनाको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव आठ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १० दशमलव दुई प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६ दशमलव दुई प्रतिशतले वृद्धि भई १२ खर्ब २८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकका संस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा दुई दशमलव छ प्रतिशतले कमी आई एक खर्ब ५५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव चार प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० दशमलव आठ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

खुद सेवा आय घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको सात महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ३८ अर्ब ४५ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब नौ करोड रुपैयाँले घाटामा रहेको थियो ।प्रतिवेदनअनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय सात दशमलव चार प्रतिशतले वृद्धि भई ३२ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १५ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५६ दशमलव छ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ४३ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया