बैंकिङ क्षेत्रमा निक्षेप बढ्यो
कुल निक्षेप ५३ खर्ब ८० अर्ब रुपैयाँ कायम
काठमाडौं । बैंकिङ क्षेत्रमा कुल निक्षेप रकम बढेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेकोमा पछिल्लो अवधिमा यस्तो निक्षेप रकम झण्डै २० अर्ब रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैंकले यसै साता बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जासम्बन्धी अद्यावधिक गरेको प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ५३ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४८ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । यो कर्जा रकम बैंकिङ क्षेत्रले चालू आवको पुस मसान्तसम्ममा प्रवाह गरेको कुल कर्जा रकमभन्दा कम हो । चालू आवको पुस मसान्तमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरुमा मात्र कायम रहेको कुल निक्षेप रकम ४७ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । चालू आवको पुस मसान्तसम्ममा भने वाणिज्य बैंकहरुको यस्तो निक्षेप रकम ४७ खर्ब १७ अर्ब रुपैयाँ थियो । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुमा कायम रहेको कुल निक्षेप रकम भने पछिल्लो अवधिमा छ खर्ब ३९ अर्ब रुपैयाँ छ । बैंकिङ क्षेत्रमा कायम रहेको कुल कर्जा रकममध्ये वाणिज्य बैंकहरुमा मात्र कायम रहेको कुल कर्जा रकम भने ४२ खर्ब ७५ अर्ब रुपैयाँ छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरुमा कायम रहेको कुल कर्जा रकम भने पाँच खर्ब ४३ अर्ब रुपैयाँ छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने पछिल्लो अवधिमा छ हजार चार सय ४७ पुगेको छ । राष्ट्र बैंकका अनुसार सातवटा प्रदेशका ७७ वटा जिल्लामा हाल वाणिज्य बैंकहरुको पाँच हजार २९, विकास बैंकहरुको एक हजार एक सय २८ र फाइनान्स कम्पनीहरुको दुई सय ८० शाखा सञ्चालनमा छन् । यसैगरी यी सबै क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या भने चार हजार छ सय ४८ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार दुई सय ७४ वटा, विकास बैंकहरुको तीन सय ३० वटा र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा छन् । यीबाहेक सञ्चालनमा रहेका ६४ लघुवित्त वित्तीय संस्थाले भने देशभर पाँच हजार एक सय ५१ वटा शाखाहरुमार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएका छन् ।
पुनः १५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री
काठमाडौं, नेपाल राष्ट्र बैंकले फागुन २९ गते सोमबार पुनः १५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही फागुन २३ गते पनि राष्ट्र बैंकले १८ अर्ब चार करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति फागुन ३० गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको छ । जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ चैत २८ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०८० जेठ ३० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०८० फागुन २९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएको कुल ट्रेजरी बिलमध्ये २८ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल नयाँ रहे पनि बाँकी भने पुरानो नवीकरणअन्तर्गत छ ।
यसअघि गत साता अर्थात् यही फागुन २३ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको छ अर्ब चार करोड पाँच लाख र एक सय ८२ दिने अवधिको सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया