Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबागमतीस्तरीय आइकन सफ्ट क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

बागमतीस्तरीय आइकन सफ्ट क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा हुने बागमतीस्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंकको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चैत २ गतेदेखि ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

क्यान महासंघ मकवानपुर शाखाका सचिव गोविन्द चौलागाईंका अनुसार शाखाले हालसम्म छ पटक सूचना प्रविधि प्रदर्शनी आयोजना गरिसकेको छ । यसपटक भने शाखाले बागमतीस्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक आयोजना गर्न लागेको हो । आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेको यस प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गर्नेछिन् । यस कार्यक्रममा राष्ट्रियस्तरको रोबोटिक प्रतियोगितात्मक प्रदर्शनी गरिनेछ । यस्तै पब्जी टीडीएम गेमिङ टुर्नामेन्टको लागि मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिएको थियो । प्रदर्शनीमा विभिन्न विद्यालयहरुको इन्नोभेटिभ (नवीनतम सिर्जना) हरुको समेत स्टल रहनेछ । प्रदर्शनीमा चैत ३ गते साइबर सुरक्षासम्बन्धी सेमिनार, चैत ४ गते कृषि उत्पादन तथा प्रवद्र्धनका लागि डिजिटाइजेसन सेमिनार र चैत ५ गते नेटवर्किङ र सीसीटीभीसम्बन्धी सेमिनार हुने आयोजकले जनाएको छ ।

मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्प समेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको निमित्त मोबाइल एसोसिएसन अफ मकवानपुरद्वारा सञ्चालन गरिनेछ । माध्यमिक तहका विद्यालयहरुले शिक्षक प्रतिनिधिसहित कार्यक्रममा विद्यार्थीहरु सहभागी गराउन चाहेमा प्रवेशमा कुनै शुल्क लाग्नेछैन । यस प्रदर्शनीमा युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, आइटी व्यवसायीलगायत विविध व्यक्तिहरुले भ्रमण गर्ने अपेक्षा गरेको आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया