Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकोे छ’ 

‘नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकोे छ’ 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्ध लगायतका कारणले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको उनले बताए ।

यस्तै उनले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने उल्लेख गरे । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त रुपमा मंगलबार आयाजित नेपाल–चाइना बिजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने स्पष्ट पारे । विदेशी लगानीकर्तालाई सहज हुने गरी थप वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । यसैगरी उनले मुलुकभित्र पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गर्दै चीन सरकारले त्यसमा सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल र चीनबीच जनस्तरमा बलियो सम्बन्धको विकास हुँदै जानु सकारात्मक भएको प्रधानमन्त्रीको भनाइ छ । दुई मुलुकबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनले बताए । नेपालबाट निर्यात हुने तरकारी, चिया, मासु, आयुर्वेदिक औषधि जस्ता उत्पादनलाई सहजै चीनको बजारमा प्रवेशको सुविधा दिन समेत उनले आग्रह गरे । यस्तै उनले चीनले कोरोना महामारीपछि आफ्ना नागरिकलाई पर्यटकका रुपमा देशबाहिर जाने अनुमति दिएको सन्दर्भ उल्लेख गर्दै नेपाल पनि चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चिनियाँ पर्यटकका लागि नेपाललाई चीनले प्राथमिकतामा राखेकाले हाम्रो पर्यटन उद्योगमा राम्रो प्रभाव पर्ने उनको भनाइ छ ।

‘हाम्रो कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिएको छ । नेपालमा दर्ता भएका विदेशी कम्पनीले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्नेछन् । स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेद्भाव गरिँदैन’, उनले भने, ‘निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति छैन । नेपालमा व्यवसायलाई प्रतिस्पर्धी बनाउने अर्को महत्वपूर्ण कारण भनेकै कम खर्चिलो प्रणाली हो ।’ सरकारी प्रक्रियालाई थप सरल बनाउन गम्भीर रूपमा काम गरिरहेको उनले बताए । प्रत्यक्ष वैदेशिक लगानीका लागि स्वचालित स्वीकृतिको लागि आवश्यक नियम पनि विकास भइरहेको उनले जानकारी दिए । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत तथा दोस्रो व्यापार साझेदारका रुपमा चीन रहेको उनको भनाइ थियो । ‘हाम्रा छिमेकीले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीकोस्तरवृद्धि गरी विकास र समृद्धिको अवसरका फराकिलो मार्ग खोल्नेछ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।

कार्यक्रममा उनले आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार सम्पर्क सञ्जालको विस्तारका लागि नेपाल–चीन सीमानाका पूर्वाधारमा सुधार, सीमा नाकामा परीक्षणलगायतका पूर्ण सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने, थप बन्दरगाह निर्माणलाई तीव्रता दिएको बताए । नेपालमा लगानीका लागि जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्र रहेको यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई दाहालले आग्रह समेत गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस्ता फोरमले दुई देशका व्यवसायीबीच समस्या समाधान र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष चाङ साओहाङले चीन नेपालको चीनको असल भएको उल्लेख गर्दै नेपालबाट हुने निर्यात हुने ९८ प्रतिशत वस्तुमा चीनले कर छुट दिएको जानकारी दिए ।

नेपालको निर्यात बढाउन आफूहरुले सहयोग गरेको उल्लेख गर्दै उनले चीनका पर्यटक पनि नेपाल भ्रमण गर्नसक्ने र त्यसले नेपालको अर्थतन्त्र विस्तार गर्न सहयोग पुग्ने स्पष्ट पारे । नेपालका लागि चीनका राजदूत छेन साङले नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया