कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै
झापा । कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु. दुईका दरले अनुदान दिने भएको छ ।
ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु. १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ । प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका सूचना अधिकारी डा. विनोद साहले राससलाई बताए ।
“यो कार्यक्रम प्रदेशमा पहिलो पटक लागू भए पनि निकै उपयोगी हुनेमा आशावादी छौँ”, उनले भने । जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट छनोटमा परेका संस्थामार्फत किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको अनुदान रकम वितरण गरिने उनले जानकारी दिए ।
झापा र इलाममा अनुदान वितरणका लागि १८ डेरी र सहकारी छनोट भइसकेका छन् । तिनीहरुले दूध उत्पादन गरिरहेका किसानको लगत सङ्कलन गरेर प्रतिलिटर रु दुईका दरले अनुदान वितरण गरिने छ । उत्पादनका आधारमा किसानलाई अनुदान दिँदा साना किसान बढी लाभान्वित हुने उनको भनाइ छ ।
अनुदानले किसानलाई प्रोत्साहन हुने र दूध उत्पादनमा वृद्धि गर्ने सरकारको मुख्य लक्ष्य रहेको उनले बताए । “प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अघि सारिएको हो”, डा. साहले भने, “अनुदानको कार्यक्रमले कृषक आकर्षित हुन्छन् र दूध उत्पादन वृद्धिमा मन लगाएर लाग्छन् ।”
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पशुपक्षी तथा मत्स्य विकास अधिकृत शीतल भट्टराईले झापा र इलामका ५७ संस्थाले किसानलाई अनुदान रकम वितरणका लागि कार्यालयमा आवेदन दिएको बताए । उनले दूध सङ्कलन गर्ने संस्थाबाट आएको आवेदनका आधारमा छनोट गरी किसानको तथ्याङ्क र दूधको परिणामको विवरण लिई रकम वितरण गरिने बताए ।
उनले छ÷छ महिनामा किसानलाई रकम वितरण गर्ने भनिए पनि विवरण आइनसकेका कारण रकम वितरण हुन नसकेको बताए । “सबै विवरण आउन बाँकी छ, विवरण आइसकेपछि जनप्रतिनिधिसहितको रोहबरमा रकम वितरण गर्छौं”, उनले भने । उनका अनुसार झापा र इलामका दूध किसानलाई प्रतिलिटरमा रु. दुई अनुदान दिने गरी प्रदेश सरकारले रु. छ करोड ५० लाख रकम विनियोजन गरेको छ । त्यसमध्ये झापामा रु तीन करोड ७५ लाख र इलाममा रु. दुई करोड ७५ लाख रकम अनुदानका लागि विनियोजन भएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- एकापसमा दुई बस ठोक्किँदा १३ जना घाइते
- कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा
- नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
- इन्डियन आयलको नाफा करिब चार गुणा बढ्यो
- विदेशी लगानीका कम्पनीहरूका लागि थप लचिलो बन्दै चीन
- आयरल्यान्डद्वारा पहिलो पटक प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार
- हसिना शासनकालमा अपहरण गरिएका दुई सय बंगलादेशी अझै बेपत्ता
- सिप्रदीले हस्तान्तरण गर्यो टाटा एलपीओ१६२२-६२
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया