निरन्तर घटेको सेयरबजारमा ‘ब्रेक’ नेप्से र कारोबार रकम दुवै बढे
काठमाडौं । निरन्तरको गिरावटपछि १९ सय विन्दुभन्दा तल ओर्लिएको सेयरबजारमा सोमबार ‘ब्रेक’ लागेको छ । परिसूचक नेप्से १७ दशमलव सात अंकले बढेर एक हजार नौ सय छ विन्दुमा बन्द भएको छ । कारोबार सुरु भएपछि अधिकांश समय रातो रहेको बजार अन्तिम समयमा बढेर बन्द भएकोे हो । बजारमा ४३ अंकभन्दा बढीको उतारचढाव भएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य चार अंकले बढेर तीन सय ५८ दशमलव शून्य तीन विन्दुमा पुगेको छ । साधारण सेयरको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट इन्डेक्स पनि एक दशमलव दुई आठ अंकले बढेर एक सय ३३ दशमलव ४९ विन्दुमा पुगेको छ । यस्तै सेन्सिटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७८ अंकले बढेर एक सय १९ दशमलव १७ विन्दुमा बन्द भएको छ ।
सोमबार एक अर्ब ३८ करोड २७ लाख ६८ हजार रुपैयाँबराबरको ४३ लाख ८ हजार छ सय ४५ कित्ता सेयर कारोबार भएकोे छ । यो कारोबार आइतबारको तुलनामा धेरै हो । आइतबार एक अर्ब २८ करोड ९३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । दिनभर कारोबारमा आएकामध्ये एक सय ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटाको घटेको छ । चारवटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबारमा आएकामध्ये तीनवटा कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । यस दिन सुपरमाई हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस्तै अजोड इन्स्योरेन्सको सेयर मूल्य आठ दशमलव तीन प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको निर्देशनपछि प्रस्तावित लाभांश घटाएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने उच्च गिरावट आएको छ । आइतबार लघुवित्तको सेयर कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । यस लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि सेयर मूल्य घट्न थालेको हो । यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य आठ दशमलव तीन प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य छ दशमलव ९७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । हिमालयनको पाँच करोड ९० लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै जीवन विकास लघुवित्तको ४ करोड ७० लाख ३३ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ४ लाख ५८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको घटेको छ । लघुवित्त समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई लाभांश वितरणमा कडाइ गर्न थालेपछि लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्यमा गिरावट देखिएकोे हो । फलस्वरुप सोमबार समग्र बजार बढे पनि लघुवित्त समूह बढ्न सकेन ।
नेप्सेका अनुसार उत्पादन तथा प्रशोधन समूह सर्वाधिक दुई दशमलव ३५ प्रतिशतले बढेको छ । दुई प्रतिशतभन्दा धेरै मूल्य बढ्नेमा विकास बैंक दुई दशमलव २१, जीवन बीमा दुई दशमलव शून्य सात, फाइनान्स दुई दशमलव शून्य दुई प्रतिशतले बढेका छन् । यस्तै जलविद्युत् एक दशमलव ७२, होटल तथा पर्यटन एक दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ४७, व्यापार एक दशमलव २३, अन्य एक, लगानी शून्य दशमलव ८२ र बैंकिङ शून्य दशमलव २६ प्रतिशतले बढेका छन् ।
पछिल्लो समय बैंकको ब्याजदर घट्दो क्रममा छ । यद्यपि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउने संकेत गरिसकेका छैनन् । तर तरलता सहज बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ दशमलव ७३ प्रतिशतमा झरेको छ । यसले बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम पर्याप्त भएको जनाउँछ । सेयरबजारमा सबैभन्दा धेरै प्रभाव पार्ने सकारात्मक संकेत गरे पनि बजार घटिरहँदा धेरै लगानीकर्ता पर्ख र हेरको रणनीतिमा हुँदा माग पक्ष कमजोर भएको छ ।
पछिल्लो समय अर्थतन्त्रसहित सेयरबजारप्रति अब आउने अर्थमन्त्रीको आचरणलाई लिएर लगानीकर्ता अन्योलमा परेको देखिन्छ । अब आउने अर्थमन्त्रीको व्यक्तिगत आचरणले बजारको यात्रा तय गर्ने टिप्पणी कतिपय लगानीकर्ताको छ । किनभने अर्थमन्त्री र गभर्नरबीच हुनसक्ने समन्वयलाई लिएर अन्योल छ । त्यसैले सोमबार बजार बढे पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको समन्वयबाट नै बजारको भविष्य निर्धारण हुने विश्वास लगानीकर्ताको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया