भरत तालमा पर्यटकको घुँइचो
सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ ।
सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए । हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा रु. दुई अर्ब लाग्नेछ । ताल बनाउन रु. ७५ करोड खर्च भइसकेको छ ।
मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले राससलाई जानकारी दिए । एक सय एक बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ ।
नगरको विकासको गौरवको रुपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको –४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए । नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजनाले ताल निर्माणको काम भएको हो ।
“तालमा पानी भरेलगत्तै दैनिक पाँच सय आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो । सोचेभन्दा धेरै पर्यटक आउन थाल्नुभयो”, वडाध्यक्ष लामा भन्छन् ।
“सुरूमा सर्लाही र रौतहटको जनसङ्ख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने थियो । भारतको बिहारबाट निकै पर्यटक आउन थाले”, नगरपालिकाका प्रमुख भरतकुमार थापाले भने ।
एक हजार चार सय मिटर लम्बाइको तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ । बाँकी पानी जमाउने योजना छ । तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ ।
सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ । वरपर बाटोसहित एक सय २१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन् । ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैँचा, पिकनिक र छायाङ्कन स्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उनको भनाइ छ ।
तालको वरपर धार्मिक तथा पर्यटकीयस्थल विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए । पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ । नजिकै जङ्गल सफारीसहितको चिडियाखानाको डिपिआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ ।
“पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई महत्वका रूपमा हिन्दूले लिन्छन् । पशुपति पुग्न नसक्ने यहीँ आउँदा पशुपति पुगेको महसुस हुने गरी पूर्वाधार विकास गर्दैछौँ”, नगर प्रमुख थापाले बताए ।
तालले संस्कृति जगेर्ना, पर्यटन प्रवर्द्धन र सिँचाइमा सघाउ पुग्नेछ । “पानीमा हुने डल्फिलनसहितका जीव यहाँ राख्ने सोचमा छौँ”, नगर प्रमुख थापाले बताए । पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिनेछ । “आफैँ सामान ल्याउन पनि पाइनेछ”, नगर प्रमुख थापाले बताए ।
भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो । नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक (सम्पन्न, विपन्न र सुकुम्बासी) र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर सङ्घीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरिएको जनाइएको छ । तालको बीचमा पहिलै गहिरो रहेको थियो ।
यहाँ २०२८ सालमा बागमती बग्थ्यो । पछि बगर बन्यो । दायाँबायाँको जग्गा २०६२÷०६३ ताका अतिक्रमण भयो । त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर सात हजार तीन सय घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो । उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो । जग्गा भएकालाई फिर्ता पठाएर करिब अढाइ सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो । त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बन्यो । तालमा गत वर्षादेखि पानी जम्न थालेको हो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ताजा अपडेट
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया