Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रपतिको अवस्था ‘सुधार हुँदै’, उनमा देखिएको स्वास्थ्य समस्याबारे चिकित्सक के भन्छन्?

राष्ट्रपतिको अवस्था ‘सुधार हुँदै’, उनमा देखिएको स्वास्थ्य समस्याबारे चिकित्सक के भन्छन्?


काठमाडौं,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था “सुधारोन्मुख रहेको” उक्त अस्पतालले जनाएको छ।

अस्पतालले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आइतवार दिउँसो जारी गरेको स्वास्थ्यसम्बन्धी बुलेटिनमा उक्त कुरा उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेल शनिवार साँझ उक्त अस्पतालमा भर्ना भएका थिए।शनिवार अस्पतालले जारी गरेको वक्तव्यमा “पेटमा समस्या देखिएपछि” उनी अस्पताल भर्ना भएको र चिकित्सकहरूको निगरानीमा रहेको उल्लेख गरिएको थियो।

पौडेलको उपचारमा संलग्न एक जना चिकित्सकका अनुसार उनलाई “साधारण सङ्क्रमण भएको हुनसक्ने” शङ्का गरिएको छ तर परीक्षण जारी रहेकाले त्यसको पुष्टि भइसकेको छैन।

पौडेलको पछिल्लो अवस्था
राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालको भनाइ छ।अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले जारी गरेको वक्तव्यमा भनिएको छ, “स्वास्थ्य असहजता भइ अस्पताल भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।”

शनिवार अस्पताल भर्ना भएका उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतवार बिहान शिक्षण अस्पताल पुगेका थिए।

त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले पनि आइतवार बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

के हो समस्या?
बायाँ कोखा र पेटको भाग दुखेपछि पौडेल अस्पताल भर्ना भएको बुझिएको छ।“उहाँको बायाँ कोखा र पेटको भाग दुखेको अवस्था छ। त्यसलाई हेर्नका लागि हामीले छाती, मुटु र पेटका विशेषज्ञसहितका चिकित्सक सम्मिलित एउटा टोली बनाएका छौँ,” उनको उपचारमा संलग्न डा. नीरज बमले भने।

“हामीले उहाँमा सामान्य सङ्क्रमण भएको आशङ्का गरेका छौँ तर परीक्षणहरू भइरहेका छन्। रिपोर्टहरू आइसकेका छैनन् त्यसैले कस्तो सङ्क्रमण हो भनिहाल्ने अवस्था छैन।”

उनका अनुसार अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ र सुधार भइरहेको छ।“हामीले उहाँलाई नसाबाट एन्टिबायोटिक औषधि दिएका छौँ। उहाँलाई आराम भइरहेको छ र स्वास्थ्य सुधार हुँदैछ।”

पौडेल आइतवारै राष्ट्रपति निवास फर्कन सक्ने भन्ने विवरणहरू पनि आइरहेका छन्।तर बमले भने, “हामी अहिले उहाँमा सङ्क्रमण छ कि छैन भन्ने पत्ता लगाउने चरणमै छौँ। रिपोर्टहरू आएपछि मात्र भन्न सकिन्छ।”(बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया