Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योगको उत्पादकत्व बढाउन महासंघ र विकास अनुसन्धान प्रतिष्ठानबीच सम्झौता

उद्योगको उत्पादकत्व बढाउन महासंघ र विकास अनुसन्धान प्रतिष्ठानबीच सम्झौता


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिस्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउनेसम्बन्धी सम्झौता भएको छ । महासंघ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व वृद्धि गर्ने क्रममा इन्टरभेन्सनको रुपमा हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगहरुबीचको इकोसिस्टम विकास गर्न पहल गर्ने सम्झौता भएको हो । प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका दुई–दुईवटा कम्पनीको छनोट गरी सातवटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिस्टम विकास गर्न कार्य गरिने सो अवसरमा बताइएको छ ।

उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी सफल उद्यम बनाउने पाइलट परियोजना सञ्चालन गर्ने सम्झौताको उद्देश्य रहेको महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताए । महासंघ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रवद्र्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रवर्द्धन गर्न नीति अनुसन्धानमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ । यस्तै औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायीहरुको इकोसिस्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले बताए ।

सम्झौताअनुसार उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी उत्पादकत्व बढाउने क्रममा नेपाल सरकारका निकायहरु तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय निकाय संघ संस्था तथा मञ्चहरुमा प्रतिष्ठान र महासंघले एक अर्काको उपस्थितिलाई सफल बनाउन प्रयत्न गर्ने महासंघले जनाएको छ । महासंघ र प्रतिष्ठानले उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको व्यवसाय प्रवद्र्धन र संवर्द्धनका लागि थप कार्य योजना निर्माण गरी योजनाबद्ध रुपमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

उत्पादनमूलक, कृषि, डिजिटल सेवा र अन्य सेवा क्षेत्रका उद्यमीको व्यवसाय विकास र प्रवर्द्धन गर्ने क्रममा दुवै पक्षले आफूसँग भएको विज्ञता, स्रोत, साधन र जनशक्ति परिचालन गर्ने सम्झौतापत्रमा उल्लेख छ । अनुसन्धान गर्ने तथा आवश्यक रणनीति बनाउने कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने बताइएको छ भने आवश्यकताअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका तीनवटै सरकार र विकास साझेदार तथा दातृ निकायहरुसँगको छलफल, लबिङ र नयाँ परियोजना प्राप्त गर्न वा भइरहेका परियोजनालाई सहयोग जुटाउन दुवै पक्षले संयुक्त पहल गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता कार्यक्रममा प्रतिष्ठानका बहुविषयक अनुसन्धान विशेषज्ञ प्राडा राजकुमार भट्टराई तथा कार्यकारी निर्देशक डा. शंकर श्रेष्ठ, महासंघका उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, कोषध्यक्ष अच्युत पाण्डेलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया