Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअर्थमन्त्री महतलाई सेयरबजारको लाल सलाम

अर्थमन्त्री महतलाई सेयरबजारको लाल सलाम


काठमाडौं । चैत १७ गते शुक्रबार डा. प्रकाशरण महत अर्थमन्त्रीमा नियुक्त भए । महत अर्थमन्त्री भएपछि नेपालको सेयरबजारको पहिलो कारोबार आइतबार खुल्यो । आइतबार नै महतप्रति सेयरबजार सकारात्मक हुन सकेन । आइतबार नेप्से परिसूचक २० अंकले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा आइपुग्यो । गत पुस ११ गते विष्णु प्रसाद पौडेल अर्थमन्त्री भएपछि सेयरबजार अधिकांश दिन सकारात्मक दिशातर्फ अगाडि बढेको थियो । प्रचण्ड नेतृत्वको सरकारमा पौडेल अर्थमन्त्री भएको अवधिमा नेपालको सेयरबजारमा झण्डै साढे चार सय अंकको वृद्धि भएको थियो । कम्युनिस्ट पृष्ठभूमिका पौडेल अर्थमन्त्री भएको बेला छोटो अवधिको यो वृद्धिलाई सामान्य रूपमा लिन सकिन्न ।

जब फागुन १५ गते पौडेलसहित एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए त्यसपछि सेयरबजार पनि ओरालो यात्रामा लाग्यो । यो बीचमा राजनीतिक अस्थिरताको कारण सेयरबजार घटेको र नेपाली कांग्रेसको अर्थमन्त्री आएपछि सेयरबजार बढ्छ भन्ने धेरैले अनुमान लगाए । तर, त्यो अनुमानको ठीक विपरीत महत अर्थमन्त्री भएपछि पनि सेयरबजार घट्ने क्रम निरन्तर जारी रह्यो । आइतबार मात्र होइन सोमबार र मंगलबार पनि बजार घट्दै गयो । महत अर्थमन्त्री भएपछि सेयरबजार राताम्य छ । सोमबार र मंगलबार सेयरबजारलाई जबरजस्ती बढाउने प्रयास भए पनि त्यसले सकारात्मक सन्देश दिएन ।

आइतबार बजार घटेपछि त्यसलाई जबरजस्ती बढाउने उपायस्वरूप अर्थमन्त्री आफैँले सोमबार नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमसँग छलफल गरे । तर त्यसले कुनै हलचल ल्याउन सकेन । आइतबारको जस्तै सोमबार पनि नेप्से परिसूचक १६ दशमलव ६७ अंकले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झ-यो । उक्त दिन कारोबारमा आएका दुई सय १६ कम्पनीमध्ये एक सय ७३ कम्पनीको सेयरमूल्य घट्दा बजार दबाबमा परेको प्रस्ट नै भयो । कडा मिजासका महत अर्थमन्त्री भएपछि उनीबाट अर्थतन्त्र सुधारमा सकारात्मक काम हुँदैन भन्ने मनोविज्ञान सेयर लगानीकर्ताहरूमा परेको देखियो ।

आइतबार र सोमबार मात्र होइन मंगलबार पनि सेयरबजार ओराले लागेको छ । सोमबार अर्थमन्त्रीले चासो दिएपछि मंगलबार सेयरबजार बढ्ने अनुमान धेरैले गरेका थिए । तर, अर्थमन्त्रीको चासोले नभएर सेयरबजार बढ्न सरकारको ठोस निर्णय चाहिन्छ भन्ने कुरा मंगलबारसम्मको निरन्तर बजारको ओरालो यात्राले प्रस्ट पारेको छ । मंगलबार सेयरबजार पाँच दशमलव २० अंकले घटेर एक हजार आठ सय ६६ दशमलव ६८ विन्दुमा आइपुगेको छ । मंगलबार ९१ करोड ७६ लाख १० हजार दुई सय ९६ रुपैयाँको मात्र सेयर कारोबार भयो । यो तथ्यांकले सेयरबजारले महतलाई अर्थमन्त्रीको रूपमा सकारात्मकरूपमा नलिएको प्रस्ट हुन्छ । अहिले महतको सेयरबजारप्रति चासोभन्दा पनि उनले नेपाल राष्ट्र बैंकको वर्तमान नेतृत्वसँग कसरी सहकार्य गर्छन् भन्नेमा लगानीकर्ताको ध्यान गएको देखिन्छ ।

माओवादीका नवधनाढ्य जनार्दन शर्मा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति नकारात्मक बन्दा जसरी सेयरबजारले साथ दिएन अहिले कडा मिजासका महतले पनि राष्ट्र बैंकसँग त्यही दुश्मनी लिन्छन् कि भन्ने त्रासमा सेयर लगानीकर्ता छन् भन्ने बजारले देखायो । अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर अधिकारीसँग पूर्णरूपमा सहकार्य गरेर जाने नीति लिएको प्रस्ट नहुँदासम्म सेयरबजारले वृद्धिको गति लिने अवस्था देखिँदैन । धेरै दिन घटेर एक÷दुई दिन झिनो अंकको बजार वृद्धि त होला तर त्यसलाई वृद्धि भन्न सकिन्न । अर्थ मन्त्रालयको नीतिलाई राष्ट्र बैंकले साथ नदिँदासम्म सेयरबजारले वृद्धिको बाटो पक्रन सक्ने देखिन्न ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया