Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविश्लेषण: डोनल्ड ट्रम्प विरुद्धका ३४ वटा गम्भीर अभियोगमा के भनिएका छन्?

विश्लेषण: डोनल्ड ट्रम्प विरुद्धका ३४ वटा गम्भीर अभियोगमा के भनिएका छन्?


काठमाडौं,गत साता हामीले डोनल्ड ट्रम्प अपराधमा आरोपित भएको थाहा पायौँ। अहिले हामीले पूर्वराष्ट्रपतिले झुटा व्यावसायिक विवरणहरू सम्बन्धी ३४ वटा अभियोगहरू सामना गरेको थाहा पाएका छौँ।

विवरणहरू झुटा बनाउने कामलाई प्राय: कम गम्भीर अपराधका रूपमा हेरिने भए तापनि ट्रम्पले फेलनी अर्थात् गम्भीर अपराधहरू गरेको आरोप पनि लगाइएको छ। जसमा हदैसम्मको सजाय दिइँदा कारावास समेत हुनसक्छ।

“सारमा आजको यस मुद्दाका अभियोगहरू हामीले सामान्यतया सामना गर्दै आएका कैयन् मुद्दाजस्तो हो,” न्यूयोर्क सहरका जिल्ला न्यायाधिवक्ता अल्भिन ब्रागले आफ्नो कार्यालयले पूर्वराष्ट्रपतिविरुद्ध अघि सारेका अभियोगहरूबारे भने।उनले त्यसलाई थप व्याख्या गर्दै भने, “कसैले आफ्नो स्वार्थको संरक्षणका लागि बारम्बार झुटो बोलेको र हामी सबै उत्तरदायी हुनुपर्ने कानुनहरू छलेको सम्बन्धी अभियोगहरू।”

ट्रम्पले ती सबै अभियोगहरूमा आफू निर्दोष रहेको बताएका छन्।अदालतबाट बाहिरिएपछि उनले जबाफ दिनुपर्ने कुनै कारण नरहेकोमा जोड दिए।”केही कुरा गैरकानुनी रूपले भएको छैन!” उनले आफ्नो सामाजिक सञ्जाल वेबसाइटमा लेखेका छन्।

यद्यपि त्यसबारे जुरीले निर्णय गर्नेछ। अहिले पूर्वराष्ट्रपतिको पहिलो फौजदारी मुद्दाका विवरणहरू हेरौँ।

सबै ३४ वटा अभियोगहरू मुख नखोल्ने सर्तमा दिइएको पैसाबारे छन्

ट्रम्पले झुटा व्यावसायिक विवरणका लागि ३४ वटा ‘फस्ट डिग्रीका’ फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू सामना गरेका छन्।

ती सबै अभियोगहरू उनका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई दिएको १,३०,००० अमेरिकी डलरसँग सम्बन्धित छ।

त्यस्तो भुक्तानी ट्रम्पसँग सन् २००७ मा सम्बन्ध रहेको भन्नेबारे उनका आरोपबारे मौन रहनका लागि गरिएको भन्ने छ।

अदालती दस्ताबेजमा कोहेनलाई ‘वकिल ए’ भनेर सम्बोधन गरिएको छ भने ड्यान्यल्सलाई ‘महिला २’ भनिएको छ।

स्टेटमेन्ट अफ फ्याक्ट्स भनिने अभियोगपत्रसँगै राखिएको दस्तावेजमा सुरुमै लेखिएको छ: प्रतिवादी डोनल्ड जे ट्रम्पले बारम्बार र कपटपूर्वक न्यूयोर्कका व्यावसायिक विवरण झुटा बनाउँदै फौजदारी कार्य लुकाउन खोजे जसले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा मतदातासामु उनका बारेका हानिकारक सूचना लुक्न पुग्यो।

ट्रम्पले राष्ट्रपति भएकै बेला ‘लुकाउने काम गरे’

ट्रम्प

ट्रम्पविरुद्धको न्यूयोर्कको मुद्दा कसरी ड्यान्यल्सलाई मौन राख्नका लागि कोहेनमार्फत् गरिएका भुक्तानीका लागि कोहेनलाई क्षतिपूर्ति दिइयो भन्ने कुराको वरपर घुम्छ।

सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले कोहेनलाई ह्वाइटहाउसमा भेटे।

त्यसलगत्तै र १० महिनाबीचमा ट्रम्पले आफ्ना सम्पत्ति व्यवस्थापन गर्ने कोषबाट चेकहरू पठाउन थाले।

र पछि उनले कोहेनलाई आफ्नै ब्याङ्क खाताबाट समेत भुक्तानी दिए।

ती चेकहरू “कानुनी शुल्क”का रूपमा उल्लेखित छन्।

तर ती खासमा मुख बन्द गराउनका लागि कोहेनले ड्यान्यल्सलाई दिएको पैसाको बदलामा उनलाई गरिएको भुक्तानीको भरपाइ रहेको कोहेनले बताएका छन्।

अभियोजनमा लेखिएको छ: ट्रम्प अर्गनाइजेसनले राख्ने र व्यवस्थापन गर्ने भुक्तानी विवरणहरू न्यूयोर्कका गलत व्यवसायिक विवरण हुन्। वास्तिवकतामा त्यहाँ कुनै सम्झौता थिएन र ‘वकिल ए’ लाई सन् २०१७ मा कुनै कामका लागि कानुनी शुल्क तिरिएको थिएन। प्रतिवादीले आफ्ना र अरूका फौजदारी कार्य लुकाउन आफ्ना झुटा व्यावसायिक विवरणहरू बनाएका थिए।

दुष्कर्मदेखि फेलनीसम्म

ब्रागले अपराधमा सघाउन पैसा तिरिएको हुनाले ट्रम्पले भुक्तानीका वास्तविक तथ्य बङ्ग्याएको आरोप लगाए।मौन रहन गरिने भुक्तानी आफैँमा गैरकानुनी नभए तापनि राष्ट्रपतीय निर्वाचनको प्रचारमा खर्चिएको पैसाबारे साँचो जानकारी नदिने कुराले प्रचारसम्बन्धी सङ्घीय आर्थिक कानुनको उल्लङ्घन गर्छ।

कोहेनलाई ड्यान्यल्सलाई उनले गरेको भुक्तानी नखुलाएको कारणमा नै यसअघि दोषी ठहर्‍याइएको थियो।ब्रागका अनुसार कोहेनलाई उक्त भुक्तानीका लागि आफ्नो तर्फबाट भरपाइ गरेर ट्रम्प पनि उक्त फौजदारी मुद्दामा जोडिएका छन्। यसले उनको व्यावसायिक विवरणलाई झुटो बनाउने कामलाई थप गम्भीर अपराध बनाएको छ।

ट्रम्पका वकिलहरूले चाहिँ त्यसलाई ट्रम्पलाई जबरजस्ती मुद्दामा तान्न रचिएको राजनीतिक उद्देश्यले प्रेरित योजना भनेका छन्।

‘फौजदारी व्यवहारको एउटा शृङ्खला’
ब्रागले ट्रम्पको प्रचार अभियानमार्फत् मौन रहनका लागि गरिएका अन्य दुई भुक्तानीका उदाहरण पनि उद्धृत गरेका छन्। ट्रम्पले कोहेनलाई गरेको भुक्तानी सन् २०१६ को राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्ने गैरकानुनी प्रयास रहेको ट्रम्पलाई थाहा भएको भन्ने अभियोजन पक्षको जिकिरलाई ती भुक्तानीहरूले प्रस्ट पार्ने ब्रागले बताए।

“प्रतिवादीले अरूसँग मिलेर सन् २०१६ को राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्ने योजना बनाउँदै आफूबारेका नकारात्मक जानकारी पहिचान गरि त्यसको प्रकाशनलाई दबाउने र प्रतिवादीको चुनावी सम्भावनाहरूलाई लाभ पुर्‍याउने काम गरे,” तथ्यहरू केलाइएको अदालती दस्तावेजमा उल्लेख छ।

“गैरकानुनी योजना कार्यान्वयनका लागि त्यसका सहभागीहरूले चुनावी कानुनको उल्लंघन गरे र न्यूयोर्कका कैयौँ निकायका व्यावसायिक विवरण झुटा बनाउने र थप्ने काम गरे।”

एक घटनामा वैवाहिक सम्बन्धबाहिर ट्रम्पको एक सन्तान रहेको थाहा भएको बताउने एकजना डोरम्यानले ३०,००० अमेरिकी डलर पाएका थिए।

अर्को घटनामा एक महिलाले ट्रम्पसँग सम्बन्ध रहेको दाबी गरेपछि १,५०,००० अमेरिकी डलर पाएकी छन्। ट्रम्पले त्यस्तो सम्बन्धलाई अस्वीकार गरेका छन्।

ती भुक्तानीहरू द ट्याब्लोइड न्याश्नल इनक्वायरर म्यागेजिन र त्यसको तत्कालीन प्रकाशक डेभिड पेकरबाट भएका थिए।ब्रागका अनुसार पेकरले ट्रम्पसँग मिलेर हानिकारक हुनसक्ने सूचना दबाउन लागिपरेका थिए।मुद्दाको विवरणमा जनाइए अनुसार त्यसको कदरस्वरूप ट्रम्पको शपथग्रहण समारोहमा उनले निम्तो पाएका थिए।(बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया