Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाबुलबाट यूके लगिएका नेपाली गार्डहरूलाई निकाला गर्ने योजना रोकियो

काबुलबाट यूके लगिएका नेपाली गार्डहरूलाई निकाला गर्ने योजना रोकियो


काठमाडौं,अफगानिस्तानको राजधानी काबुलस्थित ब्रिटिश राजदूतावासका लागि काम गरेका नेपाली सुरक्षागार्डहरूलाई यूकेबाट फिर्ता पठाउने योजना तत्कालका लागि रोकिएको छ।

सन् २०२१ मा अफगानिस्तानको सत्ता तालिबानलेलिएपछि यूकेका लागि काम गरिरहेका ती सुरक्षागार्डहरूलाई उद्धार गरेर यूके लगिएको थियो।

तर यूके पुगेको १९ महिनापछि उनीहरूलाई निष्कासन गरेर नेपाल र भारत पठाउने आदेश जारी भएको थियो। त्यसका लागि आवश्यक कागजपत्र पनि बनिसकेको थियो।

तीमध्ये केही व्यक्तिलाई उनीहरू बसेको होटलमा छापा मारेर पक्राउ गरिएको थियो।यूकेको गृह मन्त्रालयले उनीहरूलाई यूकेबाट निष्कासन गर्ने तयारी अहिलेका लागि रोकिएको जनाएको छ।

गृह मन्त्रालयका एक प्रवक्ताले रेडिओफोरको वर्ल्ड टुनाइटसँग कुरा गर्दै बुधवार भनेका छन्, “यसबारे थप समीक्षा नहुँदासम्मका लागि यो समूहलाई निष्कासन गर्ने कुरा अहिलेलाई रोकिएको छ।”

गृह मन्त्रालयले तीमध्ये कतिपय व्यक्तिलाई यूकेमै स्थायी बसोबासको सुविधा यसअघि नै दिइसकेको थियो।यसअघि गृह मन्त्रालयले त्यस्तो अनुमति पाएका व्यक्तिलाई निष्कासन गर्ने कुरा सत्य नभएको जनाएको थियो।

हतकडी लगाएर पक्राउ
काबुलको उच्च सुरक्षा घेराभित्र रहेका यूके र क्यानडाका दूतावासहरूको सुरक्षार्थ १३ जना नेपाली पूर्वसैनिकहरू खटिएका थिए। उनीहरू यूकेको एउटा निजी सुरक्षा कम्पनीबाट अफगानिस्तानमा सुरक्षा गार्डको काम गर्न पुगेका थिए।

गत साता तीमध्ये १० जनालाई पश्चिम लन्डनको एक होटलबाट हतकडी लगाएर पक्राउ गरिएको थियो। त्यहाँ उनीहरू अफगान शरणार्थीहरूलाई खाना पकाउने र दिने काम गरेर बसिरहेका थिए।

त्यहाँबाट लगिएका नेपाली सुरक्षा गार्डहरूलाई ग्याट्विक र हीथ्रो विमानस्थलनजिकैका अध्यागमन निष्कासन केन्द्रहरूमा राखिएको थियो।

उनीहरूलाई बिहीवारको पहिलो उडानबाट स्वदेश फर्काउने तयारी गरिएको थियो।यो समूहमा रहेका केही व्यक्तिका वकिल जेमी बेलले आफ्ना सेवाग्राहीहरूलाई फिर्ता पठाउने निर्णय अचानक उल्टिएपछि आफू “हर्षित” भएको बताए।

“यद्यपि यसबाट किन यस्तो भयो भन्ने प्रश्न उठेको छ,” उनले वर्ल्ड टुनाइटसँग भने।“किन कानुनी उपचारको चेतावनी र सञ्चारमाध्यमको ठूलो चासो देखिनुअघि समीक्षा र पुनर्विचार गरिएन?”

बेलका अनुसार यो घटनाबाट अफगानिस्तानको सत्तामा तालिबान आएपछि दिइएको अवसरबारे थप प्रश्नहरू उब्जिएका छन्।

“यस्ता योजनाहरूको मस्यौदा राम्रोसँग बनाइएको छैन, कार्यान्वयन कमजोर छ र उनीहरूले सहयोग गर्नुपर्ने आवश्यकता भएका मानिसहरूलाई सहयोग गरिरहेका छैनन्,” बेल थप्छन्।

यूकेको पुनर्वास योजना
यूकेको सरकारले पुनर्वासका दुइटा योजनाअन्तर्गत २५,००० जनालाई अफगानिस्तानबाट उद्धार गरेको थियो।अफगान नागरिक पुनर्वास योजनाले महिला बालबालिका र धार्मिक अल्पसङ्ख्यकलाई समेटेको थियो भने अफगान पुनर्स्थापना तथा सहायता नीतिले ब्रिटिश सैनिक र यूके सरकारका लागि काम गर्नेहरूलाई समेटेको थियो।

राष्ट्रपति अशरफ गनीको सरकार अपदस्थ भएर उनले देश छोडेपछि सन् २०२१ को अगस्टमा अफगान राजधानी तालिबानको कब्जामा पुगेको थियो।
ब्रिटिश सेना र सरकारी कर्मचारीसहित उनीहरूका लागि काम गरेका हजारौँ अफगानहरूलाई अस्तव्यस्तताबीच उद्धार गरिएको थियो।

तालिबानले सत्ता हातमा लिएपछि काबुलस्थित ब्रिटिश दूतावासले अफगानिस्तानबाट सेवा स्थगन गरेको थियो।त्यहाँ कार्यरत कूटनीतिक र कन्सुलर कर्मचारीहरूलाई अफगानिस्तानबाट फिर्ता बोलाइएको थियो।हाल उक्त दूतावासले दोहाबाट काम गर्दै आएको छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया