Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबीमा ठगी प्रकरणमा वैदेशिक रोजगार बोर्ड र सूर्यज्योति बीमा कम्पनीका कर्मचारीको संलग्नता

बीमा ठगी प्रकरणमा वैदेशिक रोजगार बोर्ड र सूर्यज्योति बीमा कम्पनीका कर्मचारीको संलग्नता


काठमाडौं । वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको बीमाबापतको रकममा ठगी गर्ने थप दुई व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार ठगी कार्यमा संलग्न अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ रानी बस्दै आएका वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा (कम्प्युटर अपरेटर) र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकीलाई पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा विदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाइदिन्छु भनी बीमाबापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

यसको लागि कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्ने क्रममा यही चैत २३ काठमाडौं गोंगबुबाट राम बहादुर तामाङ समेत छ जना व्यक्तिहरुलाई विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याडलगायतका महत्वपूर्ण अन्य विविध कागजातहरुसहित फेला पारी निजहरुलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाएको थियो ।

सोही आधारमा थप व्यक्तिहरूको खोजतलास गर्ने यही चैत २४ गते पशुपति अधिकारी र यही चैत २५ गते भक्तपुरको कमलविनायकबाट उमेश बुढाथोकीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाएको जानकारी प्रहरी उपरीक्षक रेग्मीले दिएका छन् ।


क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया