Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकास्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित पार्दै भीमेश्वर नगरपालिका

स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित पार्दै भीमेश्वर नगरपालिका


दोलखा । दोलखाको भीमेश्वर नगरपालिका स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाएर अघि बढ्ने भएको छ । जिल्लाकै केन्द्रको रूपमा रहेको नगरपालिकाले स्वास्थ्य तथा पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्न लागेको जनाएको छ ।

संविधान प्रदत्त मौलिक अधिकारको रूपमा रहेको स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकामा स्वास्थ्य संस्थाहरू थप गर्न लागिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । उनका अनुसार जिल्लामा भएको प्रादेशिक अस्पताललाई थप व्यवस्थित गरिनेछ भने आयुर्वेद अस्पताल र आँखा अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नगरपालिकामा वागमती प्रदेश सरकारले ५० शय्याको पशुपति चौलागाईँ स्मृति अस्पताल सञ्चालन गरिरहेको छ । यसलाई सुविधा सम्पन्न बनाउन आवश्यक भवनहरू पनि निर्माण भइरहेको नगरप्रमुख मानन्धरले बताए । संरचना तयार भएपछि शय्या समेत वृद्धि हुँदै जानेछ । विशेषज्ञमार्फत विशेष सेवा प्रदान गर्दै यहीँबाटै जटिल खालका सेवा पनि प्रदान गरिने लक्ष्य राखिएको उनले बताए । उक्त अस्पतालबाट आगामी असोज महिनादेखि किड्नी डायलसिस, आईसीयूलगायतका सेवा प्रदान गरिनेछन् ।

यस्तै संघीय सरकारले संघले आयुर्वेद अस्पताल स्थापनामा सहयोग गर्न लागेको नगरप्रमुख मानन्धरले बताए । उनका अनुसार अस्पतललाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ । यसले यहाँ रहेका जडीबुटीको प्रयोग गर्नेछ । अस्पताल सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल बढ्ने अपेक्षा राखिएको नगरप्रमुख मानन्धरले जानकारी दिए । यस्तै जिल्लाबाटै सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यअनुरूप आँखा अस्पताल पनि सञ्चालनमा ल्याउन लागिएको छ । यसका लागि पनि जग्गा उपलब्ध भएको उनले बताए । तिलगङ्गा आँखा अस्पतालसँग जिल्लामा आँखा अस्पताल निर्माण तथा सञ्चालन गर्न सहमति पनि भएको उनले जानकारी दिए ।

सबैखाले विशेषज्ञ सेवा प्रदान हुँदा नगर चलायमान हुने उनको भनाइ छ । यस्तै शिक्षा, कृषिलगायतका क्षेत्रलाई पनि पर्यटनसँग जोडेर अघि बढाइने लक्ष्य राखिएको उनले बताए । स्वास्थ्यसँगै जोडिएको सरसफाइ क्षेत्रलाई पनि सँगै अघि बढाइएको छ । सरसफाइ संकलन केन्द्र सञ्चालनमा आइसकेको र यसमा प्रशोधन यन्त्र पनि जडान भइरहेको नगरप्रमुख मानन्धरले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया