Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रकाशकीय: ‘आर्थिक दैनिक’ १४ वर्ष प्रवेश ‘वाद’बाट विचलित हुनेछैनौँ

प्रकाशकीय: ‘आर्थिक दैनिक’ १४ वर्ष प्रवेश ‘वाद’बाट विचलित हुनेछैनौँ


नेपाल विक्रम सम्वत् २०८० सालमा प्रवेश गरेसँगै आर्थिक दैनिक आज वैशाख १ गते १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । नेपालजस्तो सानो र सीमित दायराको अर्थतन्त्र भएको देशमा एउटा विधा (आर्थिक क्षेत्र) लाई मात्र विषयवस्तु बनाएर राष्ट्रियस्तरको दैनिक पत्रिका निरन्तर प्रकाशित गरिरहनु आफैँमा एउटा चुनौतीपूर्ण मात्र होइन गौरवपूर्ण अवसर पनि हो ।

हरेक पेशा÷व्यवसायमा निरन्तर अगाडि बढ्ने क्रममा चुनौतीहरु एकपछि अर्को गर्दै आउँछन् । आर्थिक दैनिकका प्रत्येक अंक प्रकाशित गर्दा पनि चुनौतीहरु एकपछि अर्को तँछाडमछाड गर्दै मडारिँदै आइरहेका छन् । चुनौती भयंकर बाधा र अवरोधको पहाड मात्र होइन, परिवर्तनको लागि एउटा प्रस्थानविन्दु अर्थात् अवसर पनि हो भन्ने हाम्रो मान्यता छ । त्यही मान्यताको कारण हामीले चुनौतीलाई गौरवपूर्ण अवसरमा परिणत गर्ने निरन्तर प्रयास गरेका हौँ ।

आर्थिक दैनिकको सुरुको अंकदेखि आजसम्म हामीले आर्थिक क्षेत्रका विकृति र विसंगतिलाई उजागर गरेर गल्ती गर्ने पक्षलाई देश र आवाजविहीन जनताको अगाडि जिम्मेवार भएर सुध्रिन दबाब मात्र दिएका छैनौँ, राम्रा कामलाई हरसम्भव सबैसामु प्रकाशित गरेर इज्जत र प्रतिष्ठाका लागि पनि सहयोगी बनेका छौँ । हामी समाजका विकृति र विसंगतिका विरुद्ध, देशको अर्थतन्त्रलाई आफ्नो र आफू सम्बद्ध दल वा संस्थाको निजी स्वार्थमा प्रयोग गर्नेविरुद्ध निरन्तर खबरदारी गर्दै आएका छौँ ।

यो क्रमले विगतको झैँ निडरताका साथ निरन्तरता पाउने विश्वास समेत दिलाउन चाहन्छौँ । विकृति र विसंगति गर्ने कुनै पक्ष, वर्ग वा समूहलाई हामीबाट साथ÷सहयोग हुने÷लिने छैनौँ । यही नै हाम्रो ‘वाद’ हो । यो ‘वाद’बाट कहिल्यै पनि विचलित हुनेछैनौँ ।

कोभिड–१९ को महामारीको सुस्ततासँगै रुस–युक्रेन युद्धले अहिले विश्वको अर्थतन्त्र चरम मन्दीबाट गुज्रिरहेको छ । कोभिड र युद्धको अन्त्य कहिले हुने निश्चित छैन । तर, त्यसले सिर्जना गरेको आर्थिक मन्दीको प्रत्यक्ष मार आम नेपालीमा समेत परेको छ र त्यसबाट हामी आफू पनि प्रताडित छौँ । यसले विश्वकै अर्थतन्त्रमा चुनौती बढाएको छ ।

अर्थतन्त्रमाथिको यो चुनौतीपूर्ण क्षणलाई राज्य सञ्चालनमा बसेकाहरुले परिवर्तनको एउटा महत्वपूर्ण विन्दु वा अवसरको रुपमा लिएर अगाडि बढून् भन्ने सुझाव दिन चाहन्छौँ । विश्वभर मन्दी छ भनेर गीत गाएर बस्ने छुट राज्यलाई छैन । मन्दी दैनिक जनजीवन चलाउन कठिन पार्ने अवस्था मात्र होइन अर्थतन्त्रको पुनर्सँरचना गर्ने महत्वपूर्ण मोड पनि हो ।

मोडलाई सही तरिकाले पार गरियो भने गन्तव्यमा पुग्न समय लाग्दैन । त्यही मोडमा भुल्यौँ भने हामी गम्भीर दुर्घटनामा पर्नेछौँ । त्यही भएर राज्यले मन्दीलाई एउटा अवसरका रुपमा बदल्ने ठोस प्रयास गरोस् यसमा हाम्रो पूर्ण साथ÷सहयोग रहनेछ ।

अन्त्यमा, आज १४ वर्षमा प्रवेश गर्दा हामीले आर्थिक दैनिकको ३ हजार ९ सय ७०औँ अङ्क तपाईंहरुको हातमा पार्न सफल भएका छौँ । यो सफलता हाम्रो संस्था आर्थिक दैनिक प्रा.लि.को एकल प्रयास मात्र होइन । यसमा सबै पाठक, शुभेच्छुक र सहयोगीहरुको उत्तिकै साथ÷सहयोग र आशीर्वादले सम्भव भएको हो । आर्थिक दैनिकको मात्र होइन नेपालीको नयाँ वर्ष २०८० देशको अर्थतन्त्र पुनर्सँरचनाको महत्वपूर्ण समय बनोस् ! नयाँ वर्ष तथा आर्थिक दैनिकको वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरुमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्दछौँ ।


क्याटेगोरी : बिबिध


तपाईको प्रतिक्रिया