Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने

अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने


काठमाण्डौं,चैत १७

नेपाल ग्यास कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्यास वितरण गरिने जनाएको छ । बिहान ९ः३० देखि अपराह्न १ः३० बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्यासको बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।ग्यासको माग पूरा गर्न क्षेत्रगत हिसाबमा दैनिकरुपमा ग्यास पठाउने काम गरिरहेको जनाउँदै कम्पनीले अति समस्या भएका ग्राहकको समस्या सम्बोधन गर्न उद्योग बाहिरबाट ग्यास दिन लागिएको बताएको छ । संक्रमणकालीन अवस्थामा ग्यासको माग अधिक भएकाले पूरा गर्न समस्या देखिएको उद्योगले जनाएको छ ।कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशंकामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चित गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासकोआयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन ।

नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ । त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्यासको खपत हुँदै आएको थियो । ग्यासको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्यास उद्योगीले ७.१ किलोग्राम ग्यास तौल भएको सिलिण्डर आइतबारदेखि बजारमा ल्याइसकेका छन् । तर पनि ग्यासको अभाव हट्न सकेको छैन । यसैबीच नेपाल आयल निगमले आइतबारदेखि ७.१ किलोग्राम ग्यास भरिएको सिलिण्डरमात्र बिक्री वितरण गर्न सम्पूर्ण ग्यास बिक्रेतालाई निर्देशन दिएको छ । निगमले उद्योगीसँगको छलफलपछि आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको थियो । अब उप्रान्त १४.२ किलो ग्यास भएको सिलिण्डर बिक्री वितरण गरेको पाइएमा सिलिण्डर बिक्रेता तथा डिस्टिब्युटरमाथि कारबाही हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पूरा तौल भएको केही सिलिण्डर बिक्रेताले लुकाएको आशंका गरिएको छ ।निगमले पूरा तौल भएको सिलिण्डरको मौज्दात रहेमा सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी सम्पूर्ण ग्यास बिक्रेता, डिस्टिब्युटरले दैनिक सुरुवाती मौज्दात र निजको प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा टाँस्न पनि निगमले निर्देशन दिएको छ । ग्यास वितरणलाई पारदर्शी बनाउन सम्पूर्ण उद्योगीलाई दैनिक ग्यास बिक्री वितरणको योजना      निगममा पेश गर्न पनि यसअघि नै निर्देशन दिइसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x