Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउडाउन नमिल्ने हवाइजहाज नकिन

उडाउन नमिल्ने हवाइजहाज नकिन


काठमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि तीनवटा साना हवाइजहाज खरिद गर्ने प्रक्रिया अघि बढएको छ । पर्यटन मन्त्री सुदन किराँतीले निगमको प्रभाव बढाउन जहाज किन्न लागेको दाबी गरेका छन् । सुन्दा आवश्यक छ । निगमसँग साना जहाज नहुँदा आन्तरिक उडानमा निजी हवाई कम्पनीहरूले मनपरी गर्दै यात्रुलाई शोषण गरिरहेका छन् । त्यसलाई रोक्न राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमले बजारमा प्रभावकारी हस्तक्षेप गर्न जरुरी देखिएको छ । प्रभावकारी हस्तक्षेपका लागि हिमाल, पहाड र तराई सबैतिर सजिलै उड्ने जहाज आवश्यक छ । तर तीनवटा जहाजले मात्रै आन्तरिक उडानमा प्रभावकारी हस्तक्षेप गर्न सक्दैन, अरु आधा दर्जनजति साना विमान थपिनु आवश्यक हुन्छ ।

निगमसँग अहिले दुईवटा ट्वीनअटर चालू अवस्थामा रहेको छ । त्यसको उपस्थिति अविश्वसनीय अवस्थामा रहेको छ । जहाज नुहँदा निगमको उडान समयमा हुँदैन । निगमको जहाज समयमै गन्तव्यमा उड्छ भन्ने विश्वास यात्रुलाई छर्दै छैन् । निगमले यात्रुसँगको त्यो विश्वास गुमाइसकेको छ । त्यसलाई फर्काउनु निगमको अहिलेको आवश्यकता हो । हुन त निगमसँग एमए ६० र वाइ १२ नामका छ थान चिनियाँ जहाज पनि छन् । ती जहाज उड्दैनन् एयर पोर्टमा थन्काएर राख्दा पनि उल्टै भाडा तिर्नुपरेको छ ।

ती निर्माण अवधिकै परीक्षणकालमा रहेका चिनियाँ जहाजलाई आईकाओले उडान अनुमति दिएको छैन । ती जहाज खिलराज सरकारमा प्रचण्डको प्रतिनिधि बनेर पर्यटनमन्त्री बनेका रामकुमार श्रेष्ठले महंगो मूल्यमा किन्ने निर्णय गरेका थिए । ११ वर्ष बितिसक्दा पनि ती जहाज चलाउन सकिएको छैन । ती जहाज किन्दा भएको घोटाला अहिलेसम्म छानबिनको दायरामा समेत आउन सकेको छैन । उही राजनीतिक नेतृत्व मुलुकमा हाबी रहँदा र कमिसन भागबण्डा भएको हुँदा छानबिनको दायरामा आउन नसकेको हो । चर्को र क्रान्तिकारी नारा अघि सारेर जनतालाई त्यसै लठ्ठ पारेर आफ्नोे दुनो सोझ्याउने भ्रष्टाचारीहरूको चाल हुन्छ । जीवनभर विद्यार्थीलाई पढाएर बिताएका शिक्षक श्रेष्ठ मन्त्री बनेपछि कसरी भष्टाचारको आहालमा चर्लुम्म डुबेका थिए भन्ने कुरा त्यही एउटा घटनालाई विश्लेषण गर्दा पनि सजिलै निष्कर्ष निकाल्न सकिन्छ ।

अहिले किन्ने सुर गरिएको साना विमान किन्दा त्यस्तो घोटाला नदोहोरियोस् खुला प्रतिस्पर्धाबाट पारदर्शीरूपमा विमान खरिद गरियोस् । त्यसरी किनिने जहाज नेपालको सबै हावापानी भएको क्षेत्र तराई, पहाड र हिमाली क्षेत्रमा सहजै उडान भर्न सक्ने होस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया