बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी
रुपन्देही । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । यसपाली वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ ।
विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमिति गठन गरिएको छ ।
विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ ।
इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो । बुद्ध जयन्तीको अवसरमा गरिने कार्यक्रमका लागि लागि रु. एक करोड बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।
वैशाख शुक्ल पूर्णिमाकै तिथिमा बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरेका थिए । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो । बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् ।
विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।
बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ ।
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया