Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिमाथांका नाका सञ्चालन गर्न आग्रह

किमाथांका नाका सञ्चालन गर्न आग्रह


काठमाडौं । चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका चाँडो सञ्चालन गर्न परराष्ट्र मन्त्री नारायणप्रकाश साउदसँग आग्रह गरिएको छ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्का नेतृत्वको टोलीले आइतबार परराष्ट्र मन्त्री साउदलाई भेटेर किमाथांका नाका चाँडो सञ्चालनका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको हो ।

भेटमा सांसद खड्काले कोरोना महामारीबाट रोकिएको किमाथांका नाकालाई दोहोरो रूपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेका थिए । ‘संखुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्न झण्डै सात दिन लाग्छ, बर्खाको समयमा खाद्यान्न लैजानसमेत समस्या हुन्छ, चीनबाट खाद्यान्न ल्याएर जीवन निर्वाह गर्नुपर्ने भएकाले त्यहाँका जनतालाई भोकमरी लाग्ने अवस्था सिर्जना नहोस् भन्नका लागि तत्काल नाका सञ्चालनका लागि आग्रह गर्दछु’, सांसद खड्काले भने ।

किमाथांका नाका सञ्चालनमा आएमा कोशी प्रदेशले नै लाभ लिनसक्ने भएकाले यसलाई विशेष चासो दिनुपर्नेमा उनले जोड दिए । यस्तै संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले किमाथांका नाका सञ्चालन नहुँदा छ हजार जनसंख्या रहेको भोटखोला गाउँपालिकाका जनताले सास्ती खेप्नुपरेको बताए । उनले देशको पूर्वी क्षेत्रको व्यापारका लागि महत्वपूर्ण नाकालाई यथाशीघ्र सञ्चालन गर्न मन्त्रीसमक्ष आग्रह गरे । भेटमा परराष्ट्र मन्त्री साउदले सरकारले संखुवासभाको किमाथांका नाका सञ्चालन गर्न उच्च प्राथमिकता दिएको बताए । उनले दुईपक्षीय व्यापार सम्बन्धमा समेत यो नाकाले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उक्त नाका चाँडो सञ्चालन गर्न आवश्यक पहल भइरहेको जानकारी दिए ।

भेटमा मन्त्रालयका सहसचिव लोकबहादुर थापाले नेपाल–चीन परराष्ट्रस्तरीय बैठकबाट चीनसँग जोडिएका हुम्ला, रसुवा र तातोपानी नाका सञ्चालन भइसकेको जनाउँदै किमाथांका, ओलाङचुङगोला र मुस्ताङ नाकासमेत चाँडो सञ्चालनमा आउने बताए । प्रतिनिधिमण्डलमा संखुवासभाका जनप्रतिनिधि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया